समाज

त्रिपालमुनिको बसाइँले सरुवा रोगको सिकार बन्दै भूकम्प पीडित

इकागज |
मंसिर २, २०८० शनिबार १७:४९ बजे

सुर्खेत- चिसो बढेसँगै भूकम्प पीडितहरू बिरामी पर्न थालेका छन् । त्रिपालमुनि कष्टकर जीवन बिताइरहेका जाजरकोट र पश्चिम रुकुमका पीडितहरू बिरामी पर्न थालेका हुन् । अहिले उनीहरू विभिन्न सरुवा रोगको सिकार हुन पुगेका छन् । 

भूकम्पले घर तहसनहस भएपछि त्रिपालमा बस्दै आएकी देउमा रानाले चिसो बढ्न लागेसँगै बालबालिकाहरू बिरामी पर्न थालेको बताइन् । बालबालिकाहरूमा रुघाखोकी तथा ज्वरोको समस्या देखिन थालेको उनले बताइन् । अहिले बालबालिकामा आँखा पाक्ने रोगसमेत देखा पर्न थालेको स्थानीय कलिमान रानाले बताए ।


‘त्रिपालमुनिको बसाइँका कारण बच्चाहरूलाई चिसो लागेको छ,’ उनले भने, ‘धेरैजसो बालबालिकाहरूलाई रुघाखोकी लागेको छ । कतिलाई त निमोनियाँ पनि देखिएको छ ।’

बालबालिकासँगै गर्भवती र सुत्केरी आमाहरू पनि अहिले विभिन्न रोगको सिकार बन्दै आएका छन् । त्रिपालमुनि  बस्दै आएकी १८ दिनकी सुत्केरी विमला तिरुवा पनि कष्टकर दिन गुजार्दै आएकी छिन् । चिसो र आवश्यक स्याहारसुसार नहुँदा आमाका साथै बच्चा पनि बिरामी छन् । त्रिपालको चिसोले आमा र नवजात शिशु दुवैका मुख, आँखा, हात खुट्टा सुनिएको छ ।

भेरी नगरपालिका-१ पुष्पा सिंहको एक महिनाअघि बनाएको घर भूकम्पले भत्किएपछि त्रिपालमा बस्दै आएकी छन् । दुई महिनाको छोरासहित बस्दै आएकी उनको दैनिकी पनि समस्याले गाँजेको छ । छोरीलाई आँखा पाक्ने रोगले हैरान बनाएको उनले बताइन् । ‘हामीसँग न त खाने अन्न छ न जिउ ढाक्ने कपडा नै । के खाएर बाँच्ने,’ उनले भनिन्, ‘चिसो र भोकले मर्ने बेला भयो, बालबालिकाहरू पनि बिरामी पर्न थालेका छन् ।’

त्रिपालमा बसेका धेरै सुत्केरी र बालबालिकामा रुघाखोकी ज्वरो, निमोनियाँलगायत समस्या देखिन थालेको नलगाड नगरपालिका-१ पालीकी कल्पना विक बताउँछिन् । उनले सुत्केरी, गर्भवती र बालबालिकालाई पोषिलो खानेकुराको अभाव भएका कारण पनि थप समस्यामा रहेको बताइन् ।

जाजरकोटका अधिकांश नागरिकहरू त्रिपालभित्र छन् । शौचालय नहुँदा बस्ती नजिक खुला ठाउँलाई नै शौचको रूपमा  प्रयोग गर्न गर्न थालिएको छ ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. प्रतीक्षा भारतीले चिसोले धेरै बालबालिका बिरामी पर्न थालेको बताउँछिन् । उपचारका लागि अस्पताल आउने धेरैजसो बालबालिका तथा वृद्धवृद्धाहरूमा रुघाखोकी तथा ज्वरो देखिएको बताइन् । उनले अस्पतालमा बिरामीको चाप बढेका कारण उपचारको व्यवस्था मिलाउन सम्बन्धित पालिका र स्वास्थ्य संस्थालाई आग्रह गरिएको बताइन् । 


 


Author

थप समाचार
x