समाज

आफन्त र साथीभाइको चित्कारले जन्मियो अस्पताल

बिक्रम खड्का |
जेठ २०, २०७८ बिहीबार १७:५२ बजे

बुटवल  : देशमा कोभिड १९ को प्रभाव निकै बढिरहेकै थियो, सरकारी अस्पतालहरू चाहिँ भराऊ । निजी अस्पतालको अवस्था पनि उस्तै थियो । विरामी र तिनका आफन्तहरू अस्पताल र उपचार खोजीमा भौंतारिरहेका थिए । 

उनीहरूको चित्कार र पीडा नजिकबाट सुनेका बुटवलका एक जना युवाले अस्पताल सञ्चालन गर्ने निधो गरे । उपचारको अभावमा धेरै आफन्त र साथी-भाइ गुमाएका रानाले दुई चार जनाको ज्यान बचाउन सकेपनि ठूलो उपलब्धि हुन्छ भन्‍ने ठान्दै हिम्मत बढाए । 


कोभिड-१९ संक्रमणको उच्च तहमा थियो । सरकारले निषेधाज्ञा लगाएका कारण सबै घरभित्र थिए । यस्तो अवस्थामा अस्पतालको संरचना निर्माण, उपकरण खरिद, जनशक्ति व्यवस्थापन जस्ता कुराको संयोजन गर्नु फलामको चिउरा चपाउनु सरह थियो । तर पनि उनले हिम्मत हारेनन् । केहीअघि मात्र आफ्ना पिता गुमाएपछि काजक्रिया सकी फर्किएका रानाको निरन्तरको लगावले बुटवलमा ५० शैयाको अस्पताल तयार भयो । उनले सुरु गरेको १५ दिनमै बुटवलमा कोभिड अस्पताल मंगलबारबाट सञ्चालनमै आएको छ ।

कोभिडको भयावहको अवस्थामा निजी लगानीमा अस्पताल खोलेका रानाको उद्देश्य उपचार अभावले विरामीको मृत्यु नहोस् भन्‍ने हो । उनले भने, ‘धेरैतिरबाट हार-गुहार गर्दै साथी-भाइ र आफन्तले फोन गरिरहेका हुन्छन् । तर केही गर्न नसक्ने लाचार भएर बस्नुप¥यो । मनमनै सोचे कि एकजनाको पनि ज्यान बचाउन सके त्यो भन्दा ठूलो उद्दार अरु के होला र ? भनी अस्पताल संचालन गर्ने निर्णयमा पुगे ।’

उनी भन्छन्, ‘अस्पताल खोल्छु त भने तर जब मैदानमा उत्रिए चुनौतीको चाङ भेटिए । खासगरी लकडाउनका कारण पूर्वाधार निर्माणमै धेरै समस्या आए । 

कसरी स्थापना भयो, अस्पताल 

एडमण्ड सिटी अस्पताल २०६७ सालमा नेपाल सरकारको नीति र नियम वमोजिम ५० शैयाको सम्बन्धन स्वीकृति प्राप्त थियो । उक्त अस्पताल केही समय सञ्चालनमा पनि आएको थियो । तर पछि सञ्चालन हुन नसकेपछि वन्द थियो । त्यो जानकारी रानालाई थियो । उनले त्यही अस्पताल फेरि जगाउने सोचमा पुगे । कागजमा मात्र रहेको अस्पताललाई एउटा स्वरुप दिन उनले सहयोगी हातहरू पनि खोजे । उनलाई सकारात्मक जवाफ आयो ।

बुटवल उपमहानगरपालिका-१३ मा करिव १ विघा क्षेत्रफल भित्र उनीसँगै आफ्नै भवन थियो । जहाँ देउराली प्राविधिक शिक्षालय सञ्चालन हुने गर्दथ्यो । उक्त भवनलाई उनले अस्पतालका रुपान्तरण गरे । झण्डै ३ करोडको बजेटमा अस्पताल संचालनमा आएको छ । जसमा ८ शैया को आई.सि.यू, ७ शैयाको एच.डि.यु तथा ३५ शैया कोभिड आइसोलेसनसहितको ५० शैयाको अस्पताल तयार भएको छ । जसलाई प्रदेश र स्थानीय तहमा पनि सूचीकृत गरी संचालन स्वीकृति मिलेको छ । 

अस्पतालसँग ४ जना कन्सल्टेन्ट डाक्टर, १० जना मेडिकल अफिसर, ३२ जना नर्स र २२ जना प्यारामेडिक्ससहित १४० जना जनशक्ति छ । कोभिड महामारी नियन्त्रणपछि ट्रमा, न्यूरो वा क्यान्सर विशेष सेवासहितको सेवा उपलब्ध गराउने परिकल्पना भएको अध्यक्ष रानाको छ । 

अर्घाखाँचीमा जन्मिएका प्रकाश राना बुटवलमा विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका हुन् । उनी पढ्दै गर्दा आईटी व्यापारमा लागिसकेका थिए । उनले कम्प्युटर पसलदेखि तालिमका कक्षाहरू संचालन गरेका थिए । राजनीतिसँगै व्यवसाय पनि सँगै अघि बढाएका रानाले सिटीईभिटीअन्तर्गतका धेरै तालिमहरू संचालन गरे । बिस्तारै परिवारको समेत व्यवस्थापन गरे । नेपाली विद्यार्थी संघ रुपन्देही जिल्लाको सभापतिदेखि उक्त संगठनको केन्द्रीय उपसभापति पनि भइसकेका छन् ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x