समाज

विद्यालयलाई दश रोपनी जग्गा दान

इकागज |
मंसिर २६, २०८० मंगलबार १९:४१ बजे

फाइल तस्बिर

म्याग्दी- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाइले मङ्गलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गरेका छन् । 

शेरचनका दश जना दाजुभाइले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका-४ मा रहेको ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गरेका हुन् । 


नेपाल सरकारको मापदण्डअनुसार रु ४४ लाख ७७ हजार मूल्य कायम भएको जग्गा निःशुल्क उपलब्ध गराएका शेरचन परिवारले थप रु तीन लाख ३५ हजार सात सय ७७ राजस्व र रु पाँच हजार लेखापढी व्यवसायीको शुल्क पनि आफैँले बेहोरेको ओखरबोट माविका प्रअ नवीन कार्कीले जानकारी दिए । 

'मालपोत कार्यालय म्याग्दीबाट औपचारिक रूपमा विद्यालयको नाममा जग्गा प्राप्त भएको छ,' उनले भने, 'बुधबार विद्यालयमा शेरचन परिवारलाई गाउँलेको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम छ ।' 

हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारले जग्गा दान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताए । विद्यालयका संस्थापक स्व उमादेवी शेरचनका श्रीमान् बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरूले सो जग्गा दान गरेका हुन् । 

जग्गा दान गर्नेमा धनबहादुर/उषा शेरचन, स्व ताराकुमार शेरचनकी श्रीमती जयाकुमारी शेरचन, अमिक शेरचन/शान्ति शेरचन, चित्रलाल शेरचन/तेजकुमारी शेरचन, खगेन्द्र शेरचन/मीना शेरचन, प्रान्ति शेरचन/विश्वप्रभा शेरचन, काजु शेरचन/धनकुमारी शेरचन, दीपेन्द्र शेरचन/फूलमाया (घर्ती) शेरचन, नवरत्न शेरचन/मीना शेरचन, गुप्तमा (दशरथ) शेरचन/नन्दकुमारी शेरचन र छोरी दर्पण (शेरचन) गौचन रहेका छन् । 

विसं २००८ मा स्थापना भएको यस विद्यालयमा दुई सय ११ विद्यार्थी छन् । विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । जग्गा दाता शेरचन परिवारको पुर्ख्यौली थलो ओखरबोट हो । उनीहरू हाल देशका विभिन्न ठाउँमा पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील छन् । रासस 


Author

थप समाचार
x