समाज

तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्तीमा जमिन्दारको 'गिद्धे नजर'

बस्ती उठाउने षड्यन्त्रले स्थानीय त्रसित

मुकेशकुमार यादव |
पुस ९, २०८० सोमबार १६:१ बजे

सिरहा- सिरहाको मिर्चैया नगरपालिका-११ सोनीस्थित सदाय (मुसहर) बस्ती उठाउने षडयन्त्र भइरहेको स्थानीयले बताएका छन् । आफ्नै गाउँ ब्लकको जग्गा साटफेर गरेर तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्ती अहिले हटाउने षडयन्त्र भएको गुनासो आएको छ । 

मुसहर बस्ती गाउँको बीचमा परेपछि तत्कालीन जमिन्दारसमेत रहेका सुवेलाल अरगरियाले गाउँदेखि उत्तरको आफ्नो जमिनमा मुसहर बस्ती सारेको वडा सदस्यसमेत रहेका स्थानीय ७५ वर्षीय झगडु माझीले जानकारी दिए । 


साटफेर गरेको भए पनि जमिन्दारको अगाडि कोही बोल्न नसक्दा उनीहरूको नाममा जमिन आउन नसकेको वडा सदस्य माझीले बताए । उनले भने, 'त्यस बेला जमिन्दारसँग कुरा गर्ने आँट कसैको हुँदैन थियो, त्यसैले पनि यो जमिन अहिलेसम्म साहुकै नाममा रह्यो । आज बाटो, बिजुली, बस्ती नजिकै विद्यालय भएसँगै जमिनको मूल्य बढेपछि उनीहरू नदिने पक्षमा पुगेका छन् ।'

यहाँ बस्न दिएको सट्टामा जमिन्दारले मुसहरहरू बस्दै आएको गाउँ ब्लकको जमिन लिएका थिए । त्यो जमिन अहिले उनीहरूले विभिन्न व्यक्तिलाई बेचिसकेका छन् । उनले भने, ‘त्यसबेला जमिन्दारको जमाना थियो । जमिनको मूल्य पनि थिएन । बुबाले जमिन पास गराउन भनेर भैँसी, बाख्रा बेचेर पैसा दिएको पनि हो । तर, जमिन पास हुन सकेन उनीहरूकै नाममा रह्यो ।’

जमिनको मूल्य बढेपछि अहिले आएर सुवेलालका नाति हेमशंकर अरगरियाले बस्तीका ११ घर परिवारविरुद्ध मुद्दा दायर गरेका छन् । उनले आफ्नो जमिनमा रातारात घर बनाएर कब्जा गरेकाले खाली गराउन मागसहित जिल्ला अदालत सिरहामा मुद्दा हालेका छन् । 

स्थानीय ६४ वर्षीय मंगनिया मुखियाले स्थानीय जग्गा दलालहरूको उस्काहटमा जमिन्दारले दलितहरूलाई दुःख दिने नियतले मुद्दा हालेको बताए । उनले भने, ‘हामी स-सानै छँदा यहाँ सदायहरूको बस्ती थियो । यहाँका सबै सदाय जमिन्दारकैमा काम गर्थे । सदायहरूको बस्दै आएको गाउँ ब्लकको जग्गा पनि जमिन्दारले नै बेचेर खाए । अहिले गरिब दलितहरूलाई दुःख दिइरहेका छन् । अरगरिया परिवार अहिले जनकपुरमा बसोवास गरिरहेको छ ।’

७० वर्षीय कुवली सदायको जन्म यहीँ भएको हो । उनले आफ्नो बुबाले जङ्गल फडानी गरेर बसेका बताए । उनले भने, ‘हामी यहाँ आज आएर बसेको होइन । मेरो जन्म यहीँ भएको हो । बुबाहरूले यहाँको खोरिया फाँडेको सुनाउनुहुन्थ्यो । आज विभिन्न प्रपञ्च रचेर हामीलाई बेघर गर्ने प्रयास भइरहेको छ । हामीलाई सबैको सहयोग चाहिएको छ ।’

करिब ३० घर परिवार रहेको मुसहर बस्तीका रामदयाल सदा, कवली सदा, कुशवा सदा, पति रदा, भिडिया सदा, इन्दल सदा, शिवु सदासहित ११ जनाविरुद्ध मुद्दा परेको छ । उनीहरू ५/१० धुर गरी ३ कट्ठा १५ धुर जमिनमा घर बनाएर बसेका छन् । 

बाँकी सदाय बस्ती अरगरीया परिवारकै मोहीवापत पाएको जमिनमा रहेको छ । रामदयाल सदायको नाममा रहेको १९ कट्ठा मोही जमिनमध्ये ९ कट्ठा १० धुर पाएका थिए । त्यस बेला पनि अरगरिया परिवारले बस्तीको जमिन राम दयाललाई दिएका थिए । उनै रामदयालले थोरै पैसा लिएर अर्कैको नाममा जमिन पास गराएको बताए ।

पूरै बस्ती अरगरिया परिवारसँगै आफ्नो जमिन साटेर बसेको भए पनि सदायहरूले पुनः रकम तिरेर बस्नु परेको उनीहरूले बताए । अब उनीहरूकै नाममा रहेको जमिनमा भने मुद्दा हालिएको छ । मुद्दा परेपछि गाउँलेहरू अहिले चिन्तित भएका छन् । सदायहरू उठिबासको चिन्ताले पिरोलिएका छन् । 

जिल्ला हरुवा-चरुवा अधिकार मञ्चले सदाय बस्तीमै पुगेर आफ्नो संगठनको साथ रहेको भन्दै नडराउन आश्वासन दिएको छ । मञ्चका अध्यक्ष श्यामसुन्दर सदायले बस्तीमा पुगेर भने, ‘तपाईँहरू आफ्नो जमिनको लागि आवाज उठाउनुहोस्, हामी तपाईँहरूको साथमा छौं । तपाईँहरू खुट्टा कमाउनु पर्दैन, हामी तपाईँहरूको साथमा छौं ।’

उठिबासविरुद्धको संघर्ष समितिले मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवलाई ज्ञापनपत्र बुझाइसकेको छ । ज्ञापनपत्र बुझ्दै मेयर यादवले आफू पीडितहरूको साथमा रहने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘पीडितको तर्फबाट न्याय समितिमा उजुरी दिनुहोस्, हामी तत्काल उनलाई पत्र लेखेर बोलाउँछौं, यहीँ बसेर टुङ्गो लगाउने प्रयास गर्छु ।’ न्युजकारखाना
 


Author

थप समाचार
x