समाज

मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, नगर प्रहरी र सरकारी कर्मचारी नै आरोपित

गर्भवती भएपछि घटना सार्वजनिक

इकागज |
पुस २९, २०८० आइतबार १८:१० बजे

सांकेतिक तस्बिर

मुगु- मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) विरेन्द्रबहादुर थापाले बताए । 

गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भ्रूण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको हो । 


बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका-५ कार्कीवाडाका वर्ष ३० वर्षीय छायाँनाथ रारा नगरपालिकाका नगर प्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका-८ आँसिधारा गाउँका वर्ष २२ का बसन्त रोकायालगायत अन्य केही १४ वर्षका बालकविरुद्ध जाहेरी परेको छ । 

१४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ । 

पीडित बालिकाको भनाइ उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक थापाले भने, '१४ वर्षका किशोरहरूले गएको भदौ १६ गते बेलुका आफ्नो कोठामा भेट्न बोलाएपछि म सोही दिन बेलुका अन्दाजी ९ बजेको समयमा निजहरूको गमगढीस्थित कोठामा निजलाई भेट्न भनी गएको अवस्थामा ६ जनाले आफूलाई जबरजस्ती करणी गरी सामूहिक रूपमा बलात्कार गरेका हुन् ।

बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरू भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् । 

नगर प्रहरीसहितले गरेको सामूहिक बलात्कारबारे पीडित युवतीले प्रहरीले बयान दिएकी छन्, ‘असोज १० गते राति अन्दाजी ९ बजेको समयमा नगर प्रहरी बसन्त बहादुर कार्कीले आफू बस्ने डेरा बाहिर आई मलाई एकछिन काम छ बाहिर आऊ त नानी भन्दै मेरो हात समाई आफूसँगै हिँड भनी कृषि विकास कार्यालयको भवनको एक कोठामा मलाई लिई उक्त कोठामा पुग्नासाथ निज नगर प्रहरी बसन्त कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई विभिन्न खालका प्रलोभन, डर त्रास देखाई आफूलाई पालैपालो बलात्कार गरेका हुन् ।’

सो घटनामा संलग्न रहेको आरोप लागेका तीन बालक तथा नगर प्रहरी बसन्त कार्की र बसन्त रोकाया पक्राउ परेका छन् भने बाँकी आरोपीहरू फरार रहेका प्रहरीले जनाएको छ । फरार रहेकाहरू खोजी भइरहेको र उनीहरूविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । खड्क सुनार​/न्युजकारखाना


Author

थप समाचार
x