समाज

काठमाडौँ महानगरभित्रका पेट्रोल पम्प पहेँलो रंगको हुनुपर्ने

इकागज |
माघ १९, २०८० शुक्रबार २१:४३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पमा पहिचान तथा एकरूपताका लागि पहेँलो रङ लगाइने भएको छ । काठमाडौँ महानगरपालिकाको समन्वयमा पेट्रोल पम्प सञ्चालक, सरोकारवाला सङ्घसंस्था तथा निकायका प्रतिनिधिको बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौँ महानगर क्षेत्रमा ४९ वटा पम्प रहेका छन् । पहिलो चरणमा फागुन पहिलो सातासम्म नमुनाका रूपमा चारवटा पम्पमा पहेँलो रङ लगाइने छ । त्यसपछि अन्य पम्पमा रङ लगाइँदै जाने महानगरको तयारी छ ।


बैठकले पेट्रोल पम्पमा सेवाग्राहीलाई निःशुल्क शौचालय उपलब्ध भएको जानकारीमूलक बोर्ड झुन्ड्याउने, पम्पमा इन्धन भर्ने व्यक्तिले खैरो रङको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाउने र पम्प परिसरलाई हरियाली बनाउने निर्णय गरेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए । पम्पमा कार्यरत कर्मचारीलाई काठमाडौँ महानगरले आधारभूत अग्नि नियन्त्रण तालिम दिने निर्णय भएको छ ।


Author

थप समाचार
x