समाज

जब प्राध्यापकले 'मिसबिहेभ' गरेपछि सोभिताले हत्याको योजना बुनिन्...

इकागज |
चैत ६, २०८० मंगलबार १६:४३ बजे

काठमाडौँ- सोमबार १६ वर्षअघि मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्नको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गर्‍यो ।

धादिङ गंगाजमुना गाउँपालिका–७ घर भई ललितपुर ढोलाहिटी बस्ने ४१ वर्षकी सबिता थापा अधिकारी भनिने सोभिता थापालाई प्रहरीले उक्त घटनाको मुख्य योजनाकार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताएको छ ।


थापालाई ढोलाहिटीस्थित उनकै घरबाट पक्राउ गरिएको कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए । थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

१६ वर्षसम्म सोभिता ललितपुरस्थित आफ्नै घरमा बस्दै आएकी थिइन् । उनका श्रीमान भने भारतीय सेनामा कार्यरत छन् । २०६४ असार २६ गते ललितपुर महानगरपालिका-२२ शंखमुलमा एक पुरुष बेहोस अवस्थामा प्राध्यापक थापा भेटिएका थिए ।

शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा भेटिएका उनको उपचारका क्रममा उनको मृत्यु भयो । मृतक ललितपुर इमाडोल घर भएका र नेपाल कमर्स क्याम्पसमा पढाउने ३३ वर्षीय धर्मराज विष्ट भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पक्राउ परेकी सोभिता थापा नेपाल कमर्स क्याम्पसमा स्नातक तहको विद्यार्थी थिइन् । त्यसै क्रममा उनको अध्यापक विष्टसँग चिनजान भएको थियो ।

क्याम्पसमा थापालाई विष्टले जिस्क्याएपछि विवाद सिर्जना भएको थियो । थापाले यो कुरा आफ्ना भाइ विनोदलाई भनेको र विनोदले मिल्ने साथीहरू रञ्जन खड्का र राजीव पाण्डेलाई उक्त कुरा बताएर विष्टको हत्या योजना बनाएको पाइएको अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी बताउँछिन् ।

‘थेसिस बुझाउने क्रममा प्राध्यापक विष्टले जिस्क्याएका थिए,’ उनको भनाइ उद्धृत गर्दै केसीले भनिन्,’ हत्याको मुख्य कारण प्राध्यापकले 'मिस बिहेभ' गर्नु नै रहेको छ ।‘

हत्या योजना अनुसार प्राध्यापक विष्टलाई शंखमुलमा बोलाएर रडले हानेर गम्भीर घाइते बनाएको खुलेको थियो ।

विनोद थापा पक्राउ परेपछि अध्यापक विष्ट हत्यामा समेत संलग्न रहेको खुलेपछि कर्तव्य ज्यानको कसुरमा जेल सजाय काटेर २०७९ असोज ३ गते रिहा भएको पाइएको छ । झापा जिल्ला अदालतमा आत्मसमर्पण गरेर २०७९ असोज ३ गते सजाय भुक्तान गरी भद्रपुर कारागारबाट निस्केका थिए ।

त्यस्तै अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे २०६९ वैशाख २१ गते पक्राउ परेर २०७६ जेठ १५ गते डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् ।

प्राध्यापक विष्ट हत्या प्रकरणमा १६ वर्षपछि योजनाकार सोभिता पक्राउ परे पनि अझै दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x