समाज

स्थानीयको तीव्र दबाबपछि कालोपत्रका लागि तयारी हुँदै पुरानो बानेश्वर सडक [भिडियो/तस्बिरसहित]

शुरज थपलिया |
चैत ६, २०८० मंगलबार १७:४२ बजे

काठमाडौँ- पुरानो बानेश्वर चोकदेखि फ्रन्टलाइन हस्पिटलसम्मको सडक खण्डमा कालोपत्रका लागि काम सुरु गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर ९ मा पर्ने उक्त सडक खण्ड स्थानीयवासीहरूको तीव्र दबाबपछि कालोपत्रको काम सुरु गरिएको हो ।


महानगरले ढल निकासको नाममा झण्डै ६ महिनादेखि निर्माणाधीन सडक अलपत्र छाड्दै आएको थियो । धेरै समयसम्म पनि सडकमा कालोपत्र नभएपछि स्थानीय तथा व्यवसायीहरूले गत आइतबार सडक अवरुद्ध गरेका थिए । छिटोभन्दा छिटो सडक कालोपत्र गर्नुपर्ने माग राख्दै उनीहरूले पुरानो बानेश्वर चोकदेखि मैतीदेवीसम्म जाने सडक खण्ड अवरुद्ध गरेका थिए ।

महानगरले उक्त क्षेत्रमा ढल निकासका लागि भन्दै सडक भत्काई लामो समयसम्म त्यस्तै छाडेको र स्थानीयको दबाबपश्चात् सडकको खाल्डो पुरेको थियो । महानगरले खाल्डो पुरे पनि कालोपत्र ​नगरेर यसै छाडेको छ । जसबाट उक्त क्षेत्रमा धुलो धुवाँले यस वरपरको वातावरण दूषित बनाएको थियो ।

धुवाँ धुलो धेरै उड्नाले यस क्षेत्रका स्थानीयवासीहरूको स्वास्थ्य दिनप्रति दिन बिग्रँदै गएको थियो । साथै स्थानीयहरूले सडक कालोपत्र गरिदिन ऐक्यबद्धतासहित वडा सदस्य श्रीराम राईलाई ध्यानाकर्षण पत्रमा बुझाएका थिए ।

हाल स्थानीयले तीव्र दबाब दिएपछि वडा सदस्य राई आफैँ बसेर उक्त क्षेत्रको स्तरोन्नतिको काम गराइरहेका छन् ।

र, यो पनि

काठमाडौँ महानगरले ढल निकासको नाममा सडक अलपत्र छाडेको भन्दै स्थानीयद्वारा पुरानो बानेश्वर सडक अवरुद्ध

भिडियो:


Author

थप समाचार
x