समाज

महानगरको सार्वजनिक शौचालय छैन प्रयोग, स्मार्ट शौचालय बनाउने डिजाइन कुर्दै

'शौचालय सफाइ गर्न सबै सामग्री उपलब्ध गराउँछौ'

अतिन आचार्य |
चैत ९, २०८० शुक्रबार १६:३८ बजे

सांकेतिक तस्विर

काठमाडौँ- गत असारमा काठमाडौँ महानगरपालिकाले शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ संघसंस्थासँग काठमाडौं महानगरपालिकाले सम्झौता गर्‍यो । बैंक, रेस्टुरेन्ट, विद्यालय, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३२ संघसंस्थाका प्रतिनिधिसँग महानगरले सम्झौता गरेकाे थियाे  ।

महानगरभित्र आवतजावत गर्ने सर्वसाधारणका लागि महानगरका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ​​पौड्यालको रोहबरमा भएको महानगरले दोस्रो पक्षसँग सम्झौता गरेको थियो । यसलाई समर्थन गर्दै निजी क्षेत्रका बैंक, रेष्टुराँ तथा व्यवसायीहरूले आफ्ना शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोग गर्न दिने घोषणा गरे ।


महानगरका जनप्रतिनिधिले लोकप्रियताका लागि सार्वजनिक शौचालयको अवधारणा लागू गरे पनि व्यवहारमा खासै प्रभावकारी नभएको महानगरबासीले गुनासो गर्न थालेका छन् ।

महानगरपालिकाले सार्वजनिक शौचालयको अवधारणा ल्याएर राम्रो कदम चाले पनि महानगरले प्रभावकारी रुपमा अनुगमन नगर्दा यो कार्यक्रम राम्रो हुन नसकेको काठमाडौँ महानगरपालिका ३१ की सुनिता दुलाल बताउँछिन् ।

महानगरले सार्वजनिक शौचालय बनाउन विभिन्न ठाउँमा सुरुमा लोगो लगाउँदै हिँडेको कर्मचारीलाई देखेको उनले बताइन् । अहिले भने शौचालयको प्रयोग तथा अनुगमनका लागि कोही पनि नदेखेको उनको भनाइ छ ।

‘मैले सुरुमा राम्रो काम हो खुसी भएको थिए ,’ उनले भनिन, ‘ शौचालयको स्तरोन्नति गर्ने काम छैन । मानिसले शौचालय खोजे पनि भेटिने अवस्थामा छैन ।‘

केही ठाउँका व्यवसायीहरूले शौचालय प्रयोगका लागि बनाइएको लोगो हटाउन थालेका छन् । बानेश्वरका एक रेष्टुरेण्ट सञ्चालकले सुरुमा सार्वजनिक शौचालय बनाए पनि अहिले हटाएको उनले बताए । रेष्टुरेण्ट शौचालय प्रयोग गर्न बिहानदेखि आउनेले फोहोर गर्ने गरेकाले हटाउनु परेको उनको भनाइ छ ।

‘शौचालय प्रयोग गर्न सर्वसाधारणले फोहोर गरेका छन् । शौचालय सफा गरेर सर्वसाधारणलाई सेवा दिए पनि महानगरले व्यवसायीलाई चौतर्फी पेल्दै लगेका छन्,’ उनले भने, ‘महानगरले सरसफाइको सामग्री पनि दिएनन् । हामीले सधैँ आफ्नो सामान प्रयोग गरेर शौचालयको सधैँ सफा गरिरह्यौ ।‘

महानगरपालिकाले सार्वजनिक शौचालयको प्रयोगमा सर्वसाधारणलाई सहज बनाउने उद्देश्यले ल्याए पनि पछिल्लो समय यसको बेवास्ता हुँदै गएको छ । प्रयोगमा ल्याएका सञ्चालकले यो सेवाप्रति असन्तुष्टि बढ्दै गएको बताउन थालेका छन् । महानगरले सार्वजनिक शौचालयको स्तरोन्नति गर्नलाई स्मार्ट शौचालयको धारणा अगाडि सारिएको महानगरका निजी सरकारी साझेदारी विभाग प्रमुख नरेन्द्र विलास बज्राचार्य बताउँछन् ।

स्मार्ट शौचालय बनाउनका लागि महानगरको शहरी विभागमा पठाइएको उनले बताए । विभागबाट फाइनल भएर आएपछि शौचालयको काम अगाडि बढाइने उनको भनाइ छ ।

‘ डिजाइन फाइनल भएर आएपछि हामीले प्रत्येक वडामा एक शौचालय बनाउनेछौ,’ बज्राचार्यले इकागजसँग भने,’ शौचालय बनाउनका लागि टेण्डर आव्हान गर्नेछौ । साझेदारी मोडलमा बनाउनेछौ ।‘

सुरुवातमा सात देखि आठ वडामा स्मार्ट शौचालय बनाइने उनले सुनाए । पहिलो चरणमा केही वडामा बनाइ सकेपछि अन्य वडामा यो काम बिस्तार गरिने उनले उल्लेख गरे ।

काठमाडौँ महानगरका प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले सार्वजनिक शौचालयको प्रयोग सर्वसाधारणलाई सहज होस भनेर ल्याइएको अवधारणा रहेको बताए । सहरमा शौचालय खोज्ने दुःखबाट टाढा रहन सार्वजनिक शौचालयको व्यवस्था गरिएको उनको भनाइ छ ।

‘सार्वजनिक शौचालय भएका ठाउँमा महानगरले सरसफाइका आवश्यक सामग्री दिने तयारी गरिरहेको छ,’ जोशीले भने,’ सुरुवातीमा बैंक र पेट्रोल पम्पसँग सम्झौता गरिसकेको छ । सम्झौता भइसकेका ठाउँमा सबैलाई सफाइको आवश्यक सामग्री उपलब्ध गराइएको छ ।

उनका अनुसार पेट्रोल पम्पमा ४८ वटा सार्वजनिक शौचालय छ । बाँकी शौचालय बैंकमा रहेका छन् । होटल तथा रेष्टुरेण्टसँग सम्झौता गर्न लागिएको जोशीले बताए । ‘सम्झौता गरेपछि शौचालय सफाइका लागि आवश्यक सामग्री उपलब्ध गराइनेछ,’ उनले अगाडि थपे ।

महानगरले बनाउने स्मार्ट शौचालयको विशेषताहरु :

-  शौचालयमा तीन कोठा रहने छन् । त्यस मध्य एक कोठा अपांगमैत्री अर्थात रेलिङ, र्‍याम्प तथा ध्वनिको समेत सहायता हुने गरि बनाइने छ ।

- तीन वटै शौचालय कमोड जडित हुनेछन् भने प्रयोग अघि र प्रयोग पछि स्वचालित रुपमा कम पानी प्रयोग गरि सफा गर्ने प्रविधि युक्त रहने छन । प्रयोग कर्ताले आफै फ्लस गरेर सफा गर्न चाहेमा पनि गर्न सक्नेछन् तर उसले फ्लस गर्न भुलेमा यन्त्र आफैले सफा गरि दिने छ ।

- महिला र पुरुषको फरक फरक शौचालय हुनेछ ।
- निश्चित संख्याको प्रयोगकर्ताले प्रयोग गरि सके पछि शौचालयले सबै भित्ताहरु स्वचालित रुपमा सफा गर्ने छ ।
- शौचालय कोठा भित्र प्रशस्त हावा संचार हुनेछ । साथै संगीत ध्वनी तरंगित भइ रहनेछ ।
- शौचालय भित्र हात धुनको लागि धारा, साबुन तथा फोहर फ्याँक्ने कन्टेनर (महिलाहरूको लागि प्याड विसर्जन समेत गर्न सकिने गरि) को व्यवस्था हुनेछ । धारा तथा साबुन सेन्सरको सहयोगले आवश्यक पर्दा मात्र खुल्ने गरि बनाइएको हुनेछ ।
- शौचालयको बाहिरी गेटमा सम्पूर्ण सूचना (Open, Free, Occupied, under maintenance आदि) डिस्प्ले हुने सुविधा रहनेछ ।
- शौचालयमा पानी सकिएको, साबुन सकिएको, डिटर्जेन्ट सकिएको जस्ता सूचना शौचालय भन्दा टाढा रहेको सुपरभाइजर कहाँ राखिएको स्क्रिनमा तत्काल देखिने छ । साथै भोलिका दिनमा आवश्यक परेमा पानी आपूर्ति गर्ने टैंकर संचालकको मोबाइलमा सिधै जाने व्यवस्था पनि गर्न सकिने छ ।
- शौचालयमा पानी, साबुन, डिटर्जेन्ट आदि जुनसुकै सामग्री खालि भएको अवस्थामा शौचालयको ढोका खुल्ने छैन ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x