समाज

सुनकोशीमा बेपत्ता भएका ३ बालबालिकाको खोजीका लागि गोताखोर टोली परिचालन

इकागज |
चैत १२, २०८० सोमबार १६:४७ बजे

काठमाडौँ- उदयपुरको उत्तरी सीमास्थित सुनकोशी नदीमा बेपत्ता परेका तीन बालबालिकाको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका-१४ साउनेका १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगरको खोजी कार्यका लागि गोताखोरको टोली परिचालन गरिएको हो । बालबालिकाको खोजतलास गर्न सशस्त्र प्रहरी बल नम्बर १ बाराह बाहिनी मुख्यालय पकली सुनसरीबाट प्रहरी निरीक्षक उमेश काफ्लेको नेतृत्वमा ११ जना सशस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।


होली खेलेर नुहाउने क्रममा आइतबार तीन बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए । गोताखोरको टोलीले बेपत्ता भएको स्थानदेखि नदीको तल्लो क्षेत्रतर्फ पानीमुनि गएर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरीनन्दन चौधरीले जानकारी दिए ।

गोताखोरको टोलीले बेपत्ता बालबालिकाको खोजी गरिरहेको स्थानमा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार र त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई पुगेर बेपत्ता बालबालिकाहरूको खोजतालसको जानकारी लिएका छन् ।

र, यो पनि

होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता


Author

थप समाचार
x