समाज

'ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार'

इकागज |
चैत २९, २०८० बिहीबार ११:४८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका निम्ति प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवी र प्रहरी वृत्त महाराजगन्ज र मालिगाउँले बिहीबार आयोजना गरेको ‘लागुऔषध दुर्व्यसनी तथा साइबर अपराध न्यूनीकरणसम्बन्धी अन्तरक्रिया’मा उनले ठमेल र दरबारमार्गलाई चलायमान बनाउन विशेष सुरक्षा योजना बनाइएको बताएका हुन् ।


“ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुन सक्ने सम्भावित क्षेत्रको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ, नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्नेछ,” उनले भने ।

परिसर प्रमुख खत्रीले पछिल्लो समय राजधानी काठमाडौंसहित देशभर लागुऔषध दुर्व्यसनी र साइबर अपराधका घटना बढेको भन्दै यसलाई नियन्त्रणका निम्ति काठमाडौं प्रहरीले काम गरिरहेको उल्लेख गरे ।

चालु आर्थिक वर्षमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने तीन हजार ७०० मुद्दा काठमाडौं प्रहरीमा दर्ता भएको उनको भनाइ छ । यस्तै, लागुऔषध दुर्व्यसनीसम्बन्धी देशभर चार हजारभन्दा बढी मुद्दा दर्ता भएको एसएसपी खत्रीले बताए । 


Author

थप समाचार
x