समाज

अनिश्‍चित बन्दै कोरिया रोजगारी, शर्त पूरा गरेका कामदार पनि जान पाएनन्

अतिन आचार्य |
साउन ११, २०७८ सोमबार १७:२४ बजे

काठमाडौँ – नेपाली कामदारको कोरिया रोजगारी अनिश्‍चित बन्‍दै गएको छ । कोभिडविरुद्धको खोप लगाएका कामदारलाई समेत कोरिया प्रवेशमा प्राथमिकतामा नराख्दा नेपाली कामदारको कोरिया रोजगारी अनिश्‍चित बन्‍दै गएको हो । नेपालमा कोभिडको जोखिम नघटेकाले कोरियास्थित रोग नियन्त्रण महाशाखाले कामदार भित्र्‍याउन अनुमति दिएको छैन ।

केहीदिन अघि कोरियाले कामदार भित्र्याउन तीन शर्त राखेको थियो । कोभिड बिमा, सिधा उडान र होटल क्वारेन्टीनमा बस्नुपर्ने शर्त राखेको थियो । तीनै शर्त पूरा गर्न नेपाल तयार भए पनि कामदार लैजान मानेको छैन । 


खोप लगाएका मानिसबाट कोभिड सर्ने भएकाले बाहिरी मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको हुन सक्ने ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले तर्क गरे । कोरियाले नेपाललाई 'येल्लो' जोनमा राखेका कारण त्यहाँस्थि सरकारी स्वास्थ्य निकायले अनुमति नदिएको हुन सक्ने उनको भनाइ छ । कोरियाले नेपाललाई ग्रीन जोनमा राखेमा मात्र नेपालीले प्रवेश पाउने गौतमले बताए । कोरियाको शर्तअनुसार बिमा कम्‍पनीको सूचीकरण गरिरहेको उनको भनाइ छ । 

कोभिडको रिस्क कम भएका मुलुकबाट कामदार भित्र्याइरहेको उनले जानकारी दिए । 'नेपालमा कोभिडको जोखिम रहेकाले तत्कालै कामदार जान नपाएका हुन्,' उनले भने ।

कतार, साउदी अरब, दुबई र  कुवेतलगायतका खाडी मुलुकले खोप लगाएका विदेशी कामदारलाई प्रवेश दिने घोषणा गरिसकेका छन् । कतिपय मुलुकले खोप लगाएका नागरिकले क्‍वारेन्टीनसमेत बस्‍नु नपर्ने व्‍यवस्था गरेका छन् ।

'दोर्‍याएर जाने कामदार पहिलो प्राथमिकतामा'

कोभिडका कारण कोरिया जान नपाएका  कामदारको एकवर्ष समयावधि थपिने गौतमले जानकारी दिए । 'कमिटेड' (पाँच वर्ष कोरिया भिसा अवधि सकी कम्पनीबाट लेबर कन्ट्रयाक लिएर आएकाहरू ) कामदार तीन हजार छन् । रेगुलर जान तयारी अवस्थामा करिब पाँच हजार र रोष्ट्रममा चार हजार रहेको गौतमले बताए ।

कमिटेड कामदारले पहिलो चरणमा अवसर पाउने गौतमले बताए । विभिन्‍न समयमा छुट्टीमा आइ बसेका अधिकांश कामदार कोरिया फर्किसकेको उनले जानकारी दिए । रोष्टरमा रहेका चार हजार कामदारको कम्पनी पत्र (सम्झौता पत्र) आउन बाँकी रहेको उनको भनाइ छ । रोष्टरमा रहेका कामदारको संख्या थपघट भइरहने उनले बताए ।

भाषा परीक्षा पास भइ छनौट भएका कामदार पनि जान पाउने गौतमले जनाए । 'कमिटेड' कामदार जान पाउनसाथ रोष्टरमा नाम निस्केका कामदार स्वतः जान पाउने उनले दाबी गरे ।

भाषा तथा सीप परीक्षा पास गरेपछि कोरिया जान नपाएका धेरै उदाहरण छन् । परीक्षा उत्तीर्ण गरेकालाई रोष्टरमा राखिन्छ । कोभिडको समयमा रोष्टरमा रहेकाहरूको म्याद गुज्रिएका हकमा म्याद थप गर्न नेपालका तर्फबाट आग्रह गरिसकिएको गौतमले बताए । रोष्टरमा परेका कामदारको एक वर्षसम्म समयावधि थपिन्छ ।

रोष्टरमा रहँदा म्याद गुज्रिसक्दा पनि कोरियाली रोजगारदाताको छनोटमा परेका छैनन् । कोरिया प्रवेशका लागि भाषा तथा सीप परीक्षा पास गरेर रोस्टरको प्रक्रियासम्म पुग्नुपर्छ । कोरियामा हाल ३० हजार बढी नेपाली कामदार रहेको गौतमले जानकारी दिए । कृषि र उद्योगको क्षेत्रमा मात्र नेपाली कामदार लाने गरिएको छ ।

'भाषा परीक्षा अनिश्‍चित बन्दै'

दोस्रो लहरको कोभिड पुनः देखिएकाले भाषा परीक्षा रोकिएको गौतमले बताए । 'कोरियासँग परीक्षाको लागि वार्ता पनि भएको थियो,' उनले भने, 'पुनः कोभिड बढेकाले परीक्षा अनिश्चित जस्तै भएको छ । कोभिडको संक्रमण घटेपछि मात्र परीक्षा लिन सकिन्छ ।'

भाषा परीक्षा अनलाइन हुने गौतमले जानकारी दिए । अब भने परीक्षा गर्ने मोडल परिवर्तन गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि भाषा परीक्षाका लागि सीभीटी र पीबीटी परीक्षा हुन्थ्यो । कोरिया गएर आएकालाई लिने परीक्षालाई सीभीटी परीक्षा भनिन्थ्यो । रेगुलर परीक्षार्थीलाई लिने परीक्षालाई पीबीटी भनिन्छ । अब भने दुवै परीक्षार्थीलाई कम्प्युटर विधिबाट सीभीटी परीक्षा लिन सक्ने उनले बताए । कोभिड महामारी सुरु भएपछि २०७६ फागुन अन्तिमदेखि नेपाली कामदार कोरिया जान पाएका छैनन् ।

यो पनि

कोरियाले राख्‍यो तीन शर्त : कोभिड बीमा र क्‍वारेन्टिन खर्च कामदार आफैँले व्यहोर्नुपर्ने


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x