समाज

विशेष रिपोर्ट

उनीहरूलाई घरायसी कामधन्दाबाट एकछिन फुर्सद हुन्‍न तर जनगणना भन्छ— त्यो कामै हैन !

विभाग भन्‍छ— घरका सबै काम कहाँ समेट्न सकिन्छ ?

सृजना खड्का |
मंसिर २०, २०७८ ९:२५ बजे

काठमाडौँ -  ‘परिवारको रेखदेख गर्नु, भात पकाउनु, भाँडा माझ्नु, लुगा धुनु, बालबालिका र वृद्धवृद्धाको स्याहारसुसार गर्नु काम होइन’– राष्ट्रिय जनगणना २०७८ ।
हालै सम्पन्‍न भएको जनगणनाले आर्थिक क्रियाकलापलाई दुई भागमा विभाजन गरेको छ, आम्दानी हुने र नहुने । 

गणना पुस्तिकाको परिभाषाअनुसार– पुँजी वा श्रम लगानी गरी उत्पादित वस्तु वा सेवा बिक्री गरेबापत नगद वा जिन्सीका रूपमा लाभ हुनु आम्दानी हुने काम (आर्थिक) हो ।  पुँजी वा श्रम लगानी गरी उत्पादित वस्तु आफ्नै उपभोगका लागि प्रयोग गर्नु आम्दानी नहुने (गैर–आर्थिक) काम हो । 


जनगणनाको प्रश्‍नावलीले सोध्छ– तपाईंले काम नगर्नुको मुख्य कारण के हो ?

जवाफ प्रश्‍नावलीमै छ– घरधन्दा, पारिवारिक हेरचाह, वृद्ध अवस्था, अशक्त, बिरामी, पेन्सन आदि । 

यसले पनि देखाउँछ जनगणनाले घरेलु श्रमको पहिचान गरेको छैन । जनगणनामा त्यो अनुसारको अभिलेखीकरण भएको छैन । जनगणनाले त घरधन्दा र पारिवारिक हेरचाहलाई काम नै होइन भन्छ । किनभने, यसबाट गृहिणीलाई आम्दानी हुँदैन । हरेक घरका महिलाले यो काम सित्तैमा गरिरहेका हुन्छन् । वर्षौंदेखि सामाजिक संरचनाले यो काम उनीहरुकै पोल्टोमा पारिदिएको छ । आईएलओका अनुसार महिलाले पुरुषका तुलनामा चार गुणा बढी घरेलु काम गर्छन् ।

०००

राज्यले घरेलु श्रमलाई श्रम नगनेको देख्दा जनगायक तथा संगीतकार रामेशले आजभन्दा २८ वर्षअघि आफूले रचना गरेको गीत सम्झिन्छन् : 
झिसमिसेमै उठ्छु, घरकोठा बढार्छु
पिँडीदैलो पोत्छु, पानी लिन जान्छु
ढिकी जाँतो गर्छु, आगो जोर्न थाल्छु
चुलोचौका गर्छु, भान्सा तयार पार्छु
जहानलाई खुवाउँछु, जुठो भाँडा माझ्छु 
मैलो लुगा बटुलेर धारातिर लाग्छु
यति काम गर्दा पनि मानिसहरू भन्छन्
हाम्रो काम कामै होइन रे, हाम्रो कुनै कामै छैन रे ।

२०५० सालमा रामेशले रचेको यो गीतले बिहानको झिसमिसेदेखि मध्यरातसम्म घरको काममा पेलिने महिलाको कथा बोल्छ । उनीहरूभित्र पाकिरहेको मनोभावना व्यक्त गर्छ । जुन अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक छ । रामेशले यस्ता गीत रचना गर्न थालेको ४० वर्षभन्दा बढी भइसक्यो । तर, राज्यले भने घरायसी काम कुनै काम नै होइन, अहिले पनि जनगणना लिइरहेको छ । यसलाई रामेश दुष्ट र अज्ञानी विचारधाराको संज्ञा दिन्छन् । ‘घरको कामलाई कामको रूपमा लियो भने भात पकाएको, लुगा धोएको, सफा गरेको, बालबच्चा स्याहारेको सबैको पैसा तिर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यो सबैको पैसा तिर्नुपर्‍यो भने कति खर्च हुन्छ हिसाब गरौँ त ! तर, श्रीमतीको मानमा फोकटमा काम गराइरहेको व्यवस्थाले कहिल्यै त्यसको मुल्य देख्दैन । हिसाबकिताब गर्दैन ।’

महिलालाई शोषण गर्ने, मान्छे नगन्ने मानसिकता अहिले पनि उत्तिकै बलियो भएको उनी बताउँछन् । ‘यस्तो मानसिकताले घरलेु श्रमले पेलिएर अन्याय र उत्पीडनमा परेका महिलाहरूको जनगणना कहिल्यै निकाल्दैन,’ उनी भन्छन् । ‘घरायसी श्रमलाई जनगणनाले नगन्नुको अर्थ यसलाई श्रम नमान्‍नु नै हो ।’

०००

जनगणक लीला भण्डारीले रामेछाप गोकुलगंगा गाउँपालिकाका ९८ घरको जनगणना गरिन् । उनले गणना गरेकामध्ये औँलामा गन्न मिल्ने मात्र सरकारले तोकेको आर्थिक काम गर्ने मानिसहरू थिए । बाँकी अधिकांश घरायसी कामकाज गर्ने थिए । दिनभरि फुर्सदै नहुने गरी काम गर्नेहरूले ‘केही काम गरेको छैन’ भन्‍नेमा आफ्नो नाम दर्ता गराउन चाहेनन् । ‘कति घरमा त घरको कामले जनगणनाको फर्म भर्नेसमेत फुर्सद हुँदैनथ्यो,’ लीला भन्छिन्, ‘त्यसैले पनि उनीहरूले केही काम गरेको छैन भन्‍नेमा टिक लगाउन मानेनन् । ‘एकदुई फोगटा भए पनि खेतबारी छ, कृषिमा लगाइदिनुस्’ भनेपछि कृषिमै लगाइदिएँ ।’

‘राष्ट्रिय जनगणना २०७८’लाई अवलोकन गरेका अनुसन्धाता अंकलाल चलाउने आर्थिकसम्बन्धी प्रश्‍नहरूमा आर्थिक र गैरआर्थिक क्रियाकलाप छुट्याउन जनगणनाका गणकहरूलाई समस्या भएको बताउँछन् । ‘कसले गरेको काम कुन वर्गीकरणको कोडअन्तर्गत पर्छ भनेर गणकले नै बुझ्ने खालको थिएन,’ उनी भन्छन्, ‘त्यसमाथि सबैभन्दा महत्वपूर्ण घरायसी कामलाई गैरआर्थिक क्रियाकलाप भनेर पारिभाषित गरिएको छ । त्यस्ता गैरआर्थिक क्रियाकलापलाई अंग्रेजी शब्दका ‘थ्री सी’ अर्थात् क्लिनिङ, केयरिङ, कुकिङ भनेर बुझ्न सकिन्छ ।’

०००

नीलम शर्माको घरमा गणक आएपछि उनले गणकसँगै बसेर प्रश्‍नावली पल्टाइन् । कामलाई आर्थिक र गैरआर्थिक भनेर छुट्याएको देखिन् । केही समययता उनी सरकारले तोकेको आर्थिक काम गरिरहेकी छैनन् । नीलमले गणकलाई सोधिन्– म अहिले केही काम गर्दिनँ केमा टिक लगाऊँ ?

घरधन्दा– गणकले सहजै जवाफ फर्काए ।

नीलम झसंग भइन् । बिहानदेखि बेलुकासम्म खटिने गृहिणीहरूले गर्ने काम कामै होइन त ? यो कुराले उनलाई निकै दिनसम्म पिरोल्यो बनायो । त्यसको केही दिनपछि उनले कान्तिपुर दैनिकमा ‘जनगणना र घरेलु श्रममाथिको राजनीति’ शीर्षकको लेखमार्फत आफ्नो उकुसमुकुस पोखिन् । 

नीलमका अनुसार जे कुरामा समय र श्रम खर्च हुन्छ त्यो श्रम हो । जनगणनाले घरधन्दालाई श्रमका रूपमा नलिँदा उनलाई आश्चर्य छ । ‘घरेलु श्रमलाई देशको जीडीपीमा पनि समावेश गरिएको छैन,’ उनी भन्छिन्, ‘जीडीपीमा पनि महिलाको श्रम देखियो भने महिलाको महत्व बढ्छ भनेर त्यसो गरिएको हो । जनगणनामा पनि उनीहरूको श्रम नदेखाउने राजनीति भएको छ । घरायसी कामको पहिचान भयो भने महिलाहरू पुरुषसरह दाबी गर्छन् भनेर यसलाई नगनिएको हो ।’ 

यसलाई नीलम महिलाको श्रम, अस्तित्व, पहिचानमाथिको राजनीति मान्छिन् । यदि त्यही घरायसी काम अरुलाई लगायो भने त्यसको पैसा तिर्नुपर्छ,’ उनी भन्छिन्, ‘तर, त्यही काम घरका मान्छेले गर्नेबित्तिकै त्यो गैरआर्थिक अर्थात् मूल्यहीन भनेर राज्यले ठहर गर्छ ।’

केन्द्रीय तथ्यांक विभागका प्रवक्ता तीर्थराज चौलागाईं भने जनगणनाको प्रश्‍नमा कुनै खराबी नभएको दाबी गर्छन् । ‘प्रश्‍नमा घरायसी काम मज्जाले समेटिएको छ,’ उनी भन्छन्, ‘यो सबै हल्ला हो । मान्छेहरू यत्तिकै हल्लाको पछाडि लागिरहेका छन् । कागले कान लग्यो भनेर कागको पछाडि कुद्नुभन्दा पहिला कान छाम्नुपर्छ ।’ घरेलु श्रमलाई अर्थसँग नजोडिएको विषयलाई लिएर उनी भन्छन्, ‘जहाँसम्म अर्थसँग जोडिएन भन्‍ने कुरा आएको छ । भर्खर डाटा टिपिएको छ । एनालाइसिस हुनै बाँकी छ । घरका सबै काम एक–एक गरेर कहाँ समेट्न सकिन्छ ?’ 

जीफन्टकी सचिव स्मृति लामा उमेर पुगेकाहरूले गरेको श्रम घरभित्र वा बाहिर जहाँको भए पनि पहिचान हुनुपर्ने बताउँछिन् । ‘श्रमको गणना गर्दा घरेलु श्रमलाई पनि गणना गर्नुपर्छ भनेर हामीले भन्दै आएका छौँ,’ उनी भन्छिन्, ‘तर, अहिले पनि घरको कामलाई श्रमसँग जोड्ने अभ्यास भएको पाइँदैन । घरधन्दालाई श्रममा नगन्नु भनेको घरेलु श्रमलाई नगन्नु हो ।’

धेरैजसो गृहिणीको समय परिवारको हेरचाह र घरधन्दामा जाने भएकाले यसको लेखाजोखा नगर्नु घरेलु श्रमको अपमान गर्नु भएको नीलम बताउँछिन् । ‘जसले गर्दा राज्यले गनेको आर्थिक क्रियाकलापमा उनीहरूको सहभागिता न्यून देखिन्छ,’ उनी भन्छिन्, ‘यही आधारमा महिलालाई पुरुषप्रति आश्रित भनेर देखाइन्छ ।’

त्यस्तै, पछिल्लो समय सहरी क्षेत्रमा केही पुरुषको घरेलु काममा सहभागिता बढेको उनी बताउँछिन् । ‘त्यसरी घरेलु श्रमलाई नगन्दा यो तथ्य पनि छुटेको छ,’ उनी भन्छिन्, ‘त्यसलाई जनगणनाले समेट्न सकेको भए अरुलाई त्यसले हौसला दिन्थ्यो । सकारात्मक प्रभाव पार्थ्यो ।’

सामाजिक संरचनाले पुरुषहरूलाई घरको काम नगर्ने छुट दिएको छ भन्दै घरको कामलाई मूल्यांकन गरेर आर्थिक पक्षसँग नजोडेसम्म पुरुषले घरको कामलाई नगन्ने नीलम बताउँछिन् । ‘राज्यले नै यसलाई मूल्यहीन ठानेपछि अरुले ठान्ने भइहाले,’ उनी भन्छिन्, ‘आर्थिक मूल्य नदिएको काममा समय खर्चिनुपर्दा उनीहरू आफ्नो पुरुषत्वमाथि प्रश्‍न उठेको ठान्छन् ।’ 

अहिले विभिन्न पार्टीको महाधिवेशन चलिरहेको छ । यस्तो बेलामा महिला सहभागिताको सवाल उठिरहेका छन् । नीलम राजनीतिमा महिलाको सहभागिताको जड परिवारको हेरचाह र घरधन्दासँग जोडिएको बताउँछिन् । ‘श्रीमान्ले जति फुर्सद पाउँछ, त्यो समय महिलाले पाउँदैन,’ उनी भन्छिन्, ‘घरदेखि नै उनीहरू पछाडि परेका हुन्छन् । तर, विडम्बना उनीहरूको श्रमलाई श्रमको रूपमै गनिँदैन ।’ 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
ad
x