समाज

कर्णालीको पर्यटन

मनै लोभ्याउने महाबु धामलाई चलचित्र हब बनाइँदै

स्वर्ग जस्तै देखिने दैलेख दृश्य

जितेन्द्र थापा |
पुस ३, २०७८ शनिबार १४:१ बजे

सुर्खेत - वरिपरि हरियाली देखिने दैलेख जिल्लाको सबैभन्दा अग्लो स्थान हो, महाबु धाम । पाटन वरपर फुलेका हरिया रंगीन घाँस र थरिथरिका फूलहरू सिरसिर चल्ने हावासँगै नाच्न थाल्छन् । पाटनभरि चराचुरुङ्गी चिरबिराउँछन । हरेक दिन घामको पहिलो स्पर्शले ब्यूँझन्छ, महाबु धाम । 

यत्तिमात्र होइन, महाबु धामको विशेषता । पुसदेखि माघ फागुन र चैत्र वैशाखमा हिउँ परेर यहाँका प्रत्येक गाउँबस्ती उज्याला हुन्छन् । अँधेरी रातहरु पनि उज्याला जुनेली रातजस्तै हुन्छन् । त्यो समय जुन लाग्नै पर्दै औँसीको रात भएता पनि हिमाल मुस्कुराइदिँदा यहाँका गाउँबस्ती र पाखा पखेराहरू पनि खुशीले गद्गद् भए झैँ लाग्छन् ।


समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाईंमा रहेको महाबु धाम दैलेखको महाबु र कालीकोटको महावै गाउँपालिकाको बीचमा पर्छ । महाबुकै नामबाट यी दुई स्थानीय तहको नाम महाबु र महाबै रहन गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ६७ किलोमिटरमा दैलेख सदरमुकाम पुगिन्छ ।

त्यहाँबाट ४५ किलोमिटर सवारी–साधनको यात्रा र करीब १ किलोमिटर पैदल यात्रापछि यो धाम पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त धाम पर्यटनको आकर्षण केन्द्र बन्दै गएको छ ।

पाटनका बीच बीचमा स–साना ताल, नजिकै केही गाईगोठ र वरपर चौरमा भेडाबाख्रा चरनले महाबुको महिमा अति मनमोहक बनाएको छ । यहाँको ठाउँलाई कसैले शान्तिभूमिको संज्ञा दिन्छन । त कोही स्वर्ग हो भन्छन् । हावाको सिरेटोसँग फूल हल्लिरहेको हेर्न उत्तिकै आनन्द आउँछ ।

झन् त्यसैमाथि विभिन्न रङ्गिबिरङ्गी फूलले विवाह मण्डलझैँ देख्दा जति हेरे पनि धित मर्दैन । जसरी पहिलो पहिलो प्रेममा पर्ने बेलाका प्रेमिल जोडीहरू एक अर्काको आखाँमा हेरेर थाक्दैनन्, त्यस्तै छ महाबु लेख । तर उचित पूर्वाधार र प्रचार–प्रसार भने हुन सकेको छैन । 

जति हेर्‍यो, उति हेरौँ लाग्ने कहिलेही नथाक्ने । चारैतिर समतल भू–भाग । समुन्द्रसहतबाट करिब ४ हजार एक ६८ मिटर अग्लो स्थानमा रहेको महाबु धाम थुपै्र पर्यटकीय सम्भावना बोकेको स्थान हो । हरियो घाँसपात र भेडाबाख्रा, गाईगोरु चर्दै गरेको दृश्यले मनै लोभ्याउँछ । चारैतिर समतल फाँट बीच–बीचमा स–साना ताल, वरिपरि हरियो घना जंगलले गर्दा झनै आर्कषक र मनमोहक देखिन्छ, यहाँ वरपर । 

भौगोलिकरूपमा विकट पूर्वाधार नभएता पनि यो स्थान धार्मिक तथा पर्यटकीय र धार्मिकरूपमा दैलेखकै महत्वपूर्ण स्थानकारूपमा चिनिन्छ । महाबु धामलाई जिल्लाको प्रचूर सम्भावना बोकेको क्षेत्रको धनी स्थान मानिएको छ ।

महाबु धाम, जगन्नाथ र महाबईका पवित्र मन्दिरहरू यस स्थानमा पर्ने हुनाले यो एक पवित्र धार्मिक स्थल समेत हो । महाबुको चुचुरोबाट दैलेख, कालीकोट, जुम्ला र जाजरकोट जिल्लाका अधिकांश भू–भागसहित सुर्खेत, बाजुरा, अछाम, हुम्ला, मुगु जिल्लाका शिखरहरूको रमणीय दृश्य नजिकबाट निहाल्न पुग्ने गरेको स्थानीय महाबु –५ का झलक गिरी बताउँछन्  ।

पर्यटकीय हिसाबले थुप्रै सम्भावना बोकेको महाबुलाई पर्यटन प्रर्बद्धनमा टेवा पुर्‍याउन पालिका निरन्तर लागि परेको गाउँपालिका अध्यक्ष जंगबहादुर शाही बताउँछन् । उनी भन्छन्, ‘डेढ सय जना बस्न मिल्ने भवन, पार्किङ्गस्थल, खानेपानीको व्यवस्था, पदमार्गलगायतका पूर्वाधारको व्यवस्था छ ।’

ढुङ्गाबाटै फुटेर शिवलिङ्ग

रमणीय मात्र नभएर धार्मिक रुपमा पनि उत्तिकै महत्वपूर्ण मानिएको महाबुमा अबस्थित यस स्थानमा ढुंगाबाट उत्पत्ति भएको शिवलिङ्ग छ । परम्परागत रुपमा महादेव शिवको उत्पत्ति भएको कैलाश स्थानका रुपमा महाबुधाम प्रख्यात छ ।

दैलेखका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुङ्गामा दिनहुँ दूध चढाउनुपर्ने र कसैलाई यो कुरा नभन्ने शर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्नसमेत आएको नरेन्द्र उपाध्यायले बताउँछन् ।

उनकाअनुसार, दिनहुँ दूध चढाइने उक्त ढुङ्गाबाटै फुटेर शिवलिङ्ग बनेको देख्न सकिन्छ । दैलेख, भुर्तीका आचार्य ब्राह्मणले ल्याएको दूध चढाउने र कालीकोटका काफ्लेले नै शिव देवताको पहिलो पूजा गर्छन् ।

सधैँ झै यस वर्ष पनि महाबु (गाथ) जानेको घुइँचो उस्तै देखिएको थियो । ज्यानको बाजी थापेर मेलामा पुग्नुपर्ने बाध्यता छ । यस वर्ष पनि कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगञ्ज, लगाएतका ठाउँबाट तीर्थालु उत्तिकै गुग्ने गर्छन  ।

जनै पूर्णिमामा महाबु मेला 

जनै पूर्णिमामा महाबु (गाथ) मेला दुई दिन लाग्ने गर्छ । जनैपूर्णिमका दिन भक्तजनको भीड लाग्ने गर्छ । वर्षात्को समय भएकाले पनि यहाँ बिहानीपख सूर्याेदयसँगै घामका किरणले शरीर तातिए पनि छिनछिनको हुस्सु र कुहिरोले शरीरमा काँडा निकाल्छ । छिनछिनमै घाम र कुहिरोको लुकामारीले महाबु मेलामा मनोकांक्षा लिएर गएका हजारौं भक्तजन आनन्द लिने गर्छन् ।

महावुको प्राकृतिक, भौगोलिक तथा पर्यटकीय महत्व त छ नै, धार्मिक गरिमा पनि उत्तिकै छ । जनैपूर्णिमा मेलामा यहाँ विभिन्न जिल्लाबाट तीर्थालुहरू आउँछन्, शिवलिङ्गको पूजा गर्छन् । पाटनको बीचमा ढुंगामाथि रहेको देवतालाई महावु जगन्नाथ भनिन्छ । महावु जगन्नाथलाई महादेवको रूपमा लिइन्छ । जगन्नाथको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने जन विश्वास छ । सन्तान नहुने परिवारले पूरा हुने बुढापाका बताउँछन् ।

चलचित्र हब बनाइने 

पर्यटकीय रुपमा थुप्रै सम्भावना बोकेको महाबु धामलाई चलचित्र हब बनाइने महाबु गाउँपालिका अध्यक्ष जंङ्गबहादुर शाहीले बताए ।  चलचित्र निर्माण निर्माण निम्ति अत्यन्त सुन्दर र रमणीय ठाउँ भएकाले चलचित्र विकास बोर्ड आएर अनुगमन गरिसकेको छ’ उनले भने, ‘नेपाल सरकारले पनि चलचित्र हबका लागि स्वीकृति दिइसकेको छ । स्ट्रक्चर तयार भएर (डीपीआर) तयार हुँदै छ । डीपिआर तयार भएपश्चात् लगत्रै काम अघि बढ्ने छ ।’

महाबुलाई चलचित्र हब बनाउन प्रदेश सरकारबाट दुइ करोड ५० लाख र केन्द्र सरकारको ५० लाख रहेको शाहीले बताए ।
 


Author

थप समाचार
x