समाज

जातीय विभेद

प्रिय प्रेमको अप्रिय कथा बन्यो चन्द्र र सुन्तलीको व्यथा

जो अन्तरजातीय विवाह गर्दा मध्यरातमा अपहरित भए, सकुशल भेटिए

जितेन्द्र थापा |
पुस ७, २०७८ बुधबार २१:४७ बजे

फाइल फोटो

सुर्खेत - विगत तीन वर्षदेखि प्रेममा रहेका हुम्लाको सर्केगार्ड गाउँपालिका–१ का चन्द्र विक फेला परेका छन् । सम्पर्कविहीन भएको एक सातापछि सकुशल उनी फेला परेका हुन् । गत मंसिर ५ गते छिमेकी जिल्ला मगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्ल र चन्द्रले भागेर विवाह गरेका थिए । प्रेममा परेदेखि नै उनले विभिन्न धम्कीको सामना गर्नु परिरहेको थियो । 

अन्तरजातीय विवाह गरेकै कारण युवतीपक्षले गत मंसिर २९ गते राती १२ बजे चन्द्र र सुन्तलीलाई घरबाट लगेपछि चन्द्रे हालसम्म सम्पर्कविहीन अवस्थामा थिए । चन्द्रेको परिवारले माथिल्लो थरकी युवतीसँग विवाह गरेपछि युवतीलाई माइतीघरमा लगेर चन्द्रलाई युवती पक्षले बेपत्ता पारेको आरोप लगाएका थिए । तर, चन्द्रलाई बुधबार (आज) बिहान करिब ८:१५ बजेको समयमा हुम्लाकै खार्पुनाथ गाउँपलिका–५ मा रहेको बजारमा प्रहरीले फेला पारेको हो । 

४० जना प्रहरीको टोली गाउँ पुगेको थियो 


जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार मुगु र हुम्ला जिल्लाका विभिन्न प्रहरी चौकीबाट खटिएको करिब ४० जनाको प्रहरी टोलीले पुस ३ गते रातीबाट खोजी गर्न चन्द्रकै गाउँमा पुगेको थियो । चार दिन लगातर खोज्दै जाँदा चन्द्रलाई बुधबार बिहान प्रहरीले फेला पारेको हो । चन्द्रको गाउँ सर्केगार्ड गाउँपालिका–१ बाट खार्पुनाथ गाउँपलिका–५ पुग्न पैदल करिब दुई दिन लाग्छ । 
        
प्रहरीले फेला पारे लगतै यसअघि प्रहरी नियन्त्रणमा रहेका सुन्तली र उनका बुबा वीरबहादुर मल्ललाई जिल्ला प्रहरी कार्यलय हुम्लाको सदरमुकाम सिमकोट पुर्‍याएको छ । यसबीचमा सुन्तली पक्षको परिवारले आफ्नी चेलीलाई मात्रै लिएर आएको र चन्द्रलाई घरमै छोडेको दाबी गर्दै आएका थियो । 
      
यस्तै प्रहरीले चन्द्रलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय हुम्लामा बुधबार दिउँसो साढे २ बजेतिर पुर्‍याएको हो । चन्द्र भेटिएको स्थान खार्पुनाथ गाउँपलिका–५ बाट हुम्ला सदरमुकाम पुग्न करिब ६/७ घण्टा पैदल हिड्नुपर्ने हुन्छ । 

चन्द्रले सुन्तलीको पक्षले रातभरी हिँडाएको प्रहरी समक्ष बयान दिएका छन् । उनले प्रहरीलाई बयानमा भने, ‘घर भन्दा अलि पर लगेपछि मलाई बाटोमै छोडेर गए, फेरि पनि आएर कुटपिट गर्छन् कि भन्ने लागेको थियो । मार्छन् कि भन्ने डरले भागेँ ।’

त्यसपछि बालविवाहको बारेमा सुन्तलीको माइतीपक्षले मुद्दा हाल्ने जस्ता कुरा सुनाएपछि आफू घरतिर नआएर गाउँनजिकको जंगलतिर गएको प्रहरी समक्ष बयान दिए ।  चन्द्रले बयानमा भने, ‘तीन दिनसम्म गाउँकै जंगलमा बसेर दिन बिताए,पाँच दिन पछिमात्रै स्याउ खाना पाएको थिएँ ।’

विगत तीन वर्षदेखि प्रेममा थिए 

विगत तीन वर्षदेखि चन्द्र र मुगुको सोरु गाउँपालिका–४ को लिप्रुगाउँकी १७ वर्षीया सुन्तली मल्लले गत मंसिर ५ गते भागेर अन्तरजातीय विवाह गरे । चन्द्रका दाई नातापर्ने तुलसिंह सुनारका अनुसार करिब दुई/तीन वर्षदेखि मायाँ प्रेममा बाँधिएका उनीहरू विवाहका लागि मंसिर ५ गते भागे । तर, घरपरिवारको डर/त्रासले मंसिर ५ गते भागेका चन्द्र र सुन्तली करिब आँधा महिना घरमा समेत गएनन् । 
     
चन्द्रेको घरबाट सुन्तलीको घर पुग्न चार घण्टा पैदल यात्रा गर्नुपर्ने हुन्छ । मंसिर ५ गते भागेका चन्द्रे र सुन्तली मंसिर २६ गतेसम्म गाउँकै आफन्तको घरमा लुकेर बसे । त्यसपछि सुन्तलीले माइती घरमा फोन गरेर म राजी खुसीसँग चन्द्रसँग भागेको हो भनेर माइतीपक्षसँग खबरगर्दा राम्रै कुरा गरेपछि उनीहरू मंसिर २६ गते मात्रै घरमा गएका थिए । 
       
चन्द्रले सुन्तलीलाई भगाएर आफ्नो घरमा ल्याएको मंसिर २९ गते (बुधबार) तीन दिन पुगेको थियो । आफ्नो छोरीले सानो जातको केटासँग विवाह गरेको भन्दै उक्त दिनको राती चन्द्र र सुन्तली सुतेको घरको कोठामै पुगेर युवती पक्षका करिब १५–२० जनाको समूहले युवकलाई निर्घात कुटपिट गरी घरबाट दुवै जनालाई लगेका थिए।      
गाउँलेहरुले माइती समूहले चन्द्रे र सुन्तलीलाई सुतेको स्थानबाट उठाएर  हातलाई पिठ्युमा बाँधेर लगेको बताए । माइती पक्षको समूहले गाउँका सबैका घर र चन्द्रको घरका अरु परिवार सुतेको कोठाको बाहिरबाट ढोका लगाए उनीहरुलाई लगेका थिए ।
        
त्यसपछि वडा अध्यक्ष गोकुल बुढाले प्रहरीलाई खबर पु-याएका थिए । प्रहरीलाई जानकारी हुनसाथ दुई जिल्लाबाट करिब ४० जनाभन्दा धेरै प्रहरी परिचालित गरी उनीहरुको खोजी कार्य सुरु गरिएको थियो । जसमा चन्द्रलाई खोज्नको लागि हुम्लाका विभिन्न तुम्च, गल्फागाड, श्रीनगर, ताजाकोट, खार्पुनाथ, कवाडी प्रहरीचौकीबाट प्रहरी टोली परिचालन गरिएको थियो । 


Author

थप समाचार
x