खेलकुद

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड : वर्ष खेलाडीको मनोनयन सार्वजनिक

इकागज |
असार ८, २०८० शुक्रबार १७:५० बजे

कैलाली- ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ को वर्ष खेलाडी विधाको मनोनयन सार्वजनिक गरिएको छ । असार १५ गते धनगढीको ओम प्यालेसमा हुने अवार्डको वर्ष खेलाडीतर्फको पुरुष र महिला विधा सार्वजनिक गरिएको हो । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै संजीवनी अस्पताल वर्ष खेलाडी पुरुष र हिमालयन गौरीशंकर डेन्टल क्लिनिक वर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो । 


संजीवनी अस्पताल वर्षको उत्कृष्ट खेलाडी पुरुष तर्फ एथ्लेटिक्सका शिवराज पार्की, क्रिकेटका दिपेन्द्र सिंह ऐरी र कबड्डीका प्रकाश गिरी मनोनयनमा परेका छन् । पार्कीले ९ औं राष्ट्रिय खेलकुदमा एक सय मिटरमा २३ वर्ष पुरानो कीर्तिमान भंग गर्दै तीन स्वर्ण र एक रजत पदक जितेका थिए । ९ औं राष्ट्रिय खेलकुदको एथ्लेटिक्स तर्फका उत्कृष्ट खेलाडी बनेका उनले एक सय मिटर दुई सय मिटर र चार गुणा रिलेमा स्वर्ण पदक जितेका थिए । 

त्यस्तै, दिपेन्द्रले नेपाली क्रिकेट टोलीलाई विश्वकप क्वालिफारमा पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । वर्ष २०७९ मा टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बनेका उनले एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गर्दा एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका थिए । गिरीले जुनियर कबड्डी च्याम्पियनसीपमा नेपालले ऐतिहासिक कास्य पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । सुदूरपश्चिमका तीन जना खेलाडीमध्ये नेपाललाई सेमिफाइनलसम्म पुर्याउन उनले सानदार प्रदर्शन गरेका थिए । 

हिमालयन गौरीशंकर डेन्टल क्लिनिक वर्ष खेलाडी महिला विधामा क्रिकेटकी विन्दु रावल, एथ्लेटिक्सकी राजपुरा पछाई र फुटबलकी वर्षा ओली मनोनयनमा परेकी छिन् । रावलको कप्तानीले सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । नेपालमा भएको क्रसकन्टी म्याराथुनमा राजपुराले रजत पदक जितेकी थिइन् । वर्षाले नेपाललाई पहिलो पटक साफ यु १५ महिला च्याम्पियनसीपको विजेता बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।  

यसअघि चार विधाको मनोनयन सार्वजनिक गरिसकिएको छ । वर्ष प्रशिक्षकमा क्रिकेटका जगत टमाटा, कुस्तीका राजेन्द्र चन्द र भारात्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । वर्ष युवा खेलाडीमा भारात्तोलनका हेमन्त पाल, क्रिकेटकी अनु कडायत र क्रिकेटकै हेमन्त धामी मनोनयनमा परेका छन् । 

सुदूरपश्चिम आईकन पुरुष विधामा फेस्निंगका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा पर्दा सुदूरपश्चिम आईकन महिला विधामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविता कुँवर मनोनयनमा परेकी छिन् । ६ विधाको मनोनयन सार्वजनिक गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले बाँकी दुई विधाका विजेतालाई अवार्ड कार्यक्रममै सम्मान गर्ने जनाएको छ । लाईफटाईम अचिभमेन्ट अवार्ड र स्पेशल अवार्डमा मनोनयन नहुने भएकोले कार्यक्रमकै दिन विजेताको घोषणा गरिने भएको हो । 

 चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आईकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । 
‘चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । मुख्य सह प्रायोजकमा धनगढीको स्वस्तिक अस्पताल रहेको छ । सह प्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड रहेको छ । अवार्डको वर्ष खेलाडी पुरुष विधालाई संजीवनी अस्पताल, वर्ष खेलाडी महिला विधालाई हिमालयन गौरीशंकर डेन्टल क्लिनिक, युवा वर्ष खेलाडी विधालाई निसर्ग हस्पिटल, स्पेशल अवार्डलाई शौभाग्य हस्पिटल, लाईफटाईम एचिभमेन्ट अवार्डलाई गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेन्टल, वर्ष प्रशिक्षक विधालाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल र सुदूरपश्चिम आईकन महिला विधालाई सिटी पोलिक्लिनिकले प्रायोजन गरेको छ ।

अवार्डको ट्रफी सुदूरपश्चिम ११ स्पोर्टस क्लबले प्रायोजन गरेको छ भने भेन्यु पार्टनरका रूपमा ओम प्यालेस पार्टी प्यालेस रहेको छ । कार्यक्रम टिभी टुडे टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुनेछ ।


Author

थप समाचार
x