खेलकुद

ओलम्पिक फुटबलको विशालता कति ?

इकागज |
साउन ११, २०७८ सोमबार ६:३३ बजे

काठमाडौँ- डानी आल्भेसले आफ्नो करियरमा के मात्रै जितेका छैनन् ? युरोपियन क्लब फुटबलमा महत्वपूर्ण मानिएका लिगदेखि महादेशिय प्रतियोगितासम्म । त्यही भएर त हो उनले जितेका कुल उपाधिको संख्या ४१ पुगेको । यही संख्याले उनलाई बनाएको छ, विश्व फुटबलमा सर्वाधिक उपाधि जित्ने खेलाडी । 

आल्भेसले युरोपका तीन फरक लिग जिते । अनि च्याम्पियन्स लिग पनि । ब्राजिलको जर्सीमा जितेको कोपा अमेरिकालाई बिर्सन कहाँ मिल्यो र ? त्यही पनि उनी थाकेका छैनन् । उमेरका हिसाबले भन्‍न खोजिएको होइन । बरु थप उपाधि जित्ने कसरतमा लागेको भएर । आल्भेस हाल जापानमा छन्, टोकियो ओलम्पिकमा ब्राजिलियन फुटबल टिमको कप्तान बनेर । सायद यो उनको अन्तिम मिसन बन्‍नसक्छ, उपाधि थप्‍ने । आन्द्रे जारडिनेको प्रशिक्षणमा खेलिरहेको ब्राजिलको ओलम्पिक टिमका सबैभन्दा पाका खेलाडी आल्भेस नै हुन् । उनै जारडिनेले आल्भासलाई हौसाए, ओलम्पिकमा सहभागी हुन । आल्भेसकै लागि पनि यो फरक अनुभव हो । किनभने उनले पहिलो पटक ओलम्पिकमा भाग लिँदै छन् । 


४१ उपाधि जितेको खेलाडी ३८ वर्षको उमेरमा पहिलो पटक ओलम्पिकमा खेल्दैछ । सुन्दा पनि अचम्म लाग्ने । सायद यही कारणले आल्भेसलाई जारडिनेले हौसाए । ‘तिम्रो करियर पूर्ण बनाउन ओलम्पिकमा खेल्न जरुरी छ,’ जारडिनेले आल्भेसलाई भने । करियरको उत्तर्राद्धमा रहेका आल्भेसले प्रशिक्षकको प्रस्ताव किन इन्कार गर्थे र । 

ओलम्पिकको नियम अनुसार कुनै पनि टिमले तीन ‘ओभर एज’ खेलाडीलाई टिममा राख्‍न पाउँछ । ब्राजिलले यो सुविधाको उपभोग गर्दा, आल्भेस टिममा परे । गोलरक्षक सान्तोष र रक्षक डिएगो कार्लोस पनि ब्रजिलको ओलम्पिक टिममा छन् । बाँकी खलाडी भने जनवरी १, १९९७ मा जन्मेका वा त्यसपछि जन्मेका हुन् । 

आल्भेसले गत महिना सकिएको कोपा अमेरिका खेल्न पाएनन् । कारण थियो, चोट । तर उनी ओलम्पिक भन्दा अगाडि चोटमुक्त हुने सम्भावना रह्यो । उनी मैदान फर्कन सक्ने भएपछि जारडिनेले ओलम्पिक टिममा बोलाउने निर्णय गरे । जसको मुख्य उदेश्य थियो, आल्भेसको नेतृत्वदायी क्षमताको उपयोग गर्ने । हुन पनि ब्राजिलका युवा खेलाडीका लागि आल्भेस ‘आइडल’ नै हुन् । 

‘आल्भेस अनुभवी खेलाडी हुन् । प्रतिभावान त छँदैछन् । उनको उपस्थितीले टिममा रहेका युवा खेलाडीलाई उर्जा प्रेरणा दिन्छन्,’ आफ्ना पाका खेलाडी आल्भेसका बारेमा प्रशिक्षक जारडिनेको भनाई छ । ओलम्पिकमा लागि आल्भेस पनि कम उत्साहितदेखिएनन् । ‘ओलम्पिक गरिमामय उत्सव हो । यहाँ आफ्नो देशलाई प्रतिनिधित्व गर्न पाउँदा म गौरव महसुस गरिरहेको छु,’ आल्भेसले भने । 

टोकियो पुग्दा आल्भेसको लक्ष्य कायम छ, अर्को उपाधि जित्ने । हाल ओलम्पिक उनका लागि सर्वाधिक महत्वपूर्णदेखिए पनि अन्तिम उदेश्य भनेको कतारमा हुने विश्वकप खेल्नु नै हो । तर ओलम्पिक र विश्वकपबीच साइनो के ? कमसेकम आल्भेसका लागि यी दुवै आपसमा जोडिएका छन् । किनभने ओलम्पिकमा गतिलो खेल देखाए मात्रै आल्भेसलाई टिटेले टिममा फिर्ता बोलाउनेछन्, कतारमा हुने विश्वकप २०२२ का लागि । 

अन्तर्राष्ट्रिय फुटबलमा ओलम्पिकको प्रतिस्पर्धाको महत्व कति ? यसमा धेरै बहस हुने गरेका छन् । सायद त्यहाँ प्राप्त हुने सफलताको प्रष्ट व्याख्या छैन । उदाहरणका लागि, लियोनल मेस्सीले जितेको ओलम्पिक स्वर्ण र कोपा उपाधिबीचको तुलना । गत महिना मेस्सीले कोपा जित्दा भनेको सुनियो, बल्ल आएर मेस्सीले महत्वपूर्ण ट्रफी उचाले । त्यसोभए ओलम्पिकको स्वर्ण के त ? फेरि ओलम्पिकको स्वर्णको महत्व नभए आल्भेस किन मरिहत्ते गरिरहेका छन् त ? त्यो पनि सर्वाधिक संख्यामा उपाधि जितेको खेलाडी भएर । यस प्रश्नको उत्तर एउटै प्रकृतिको किन आउँला र । 

कतिपय टिम र खेलाडीका लागि ओलम्पिक फुटबलमा पदक जित्नु सपना हो । त्यही भएर त इंग्लिस क्लब बर्नलीका क्रिस उड न्यूजिल्यान्डको टिमसँग टोकियो पुगेका छन् । अनि फ्रान्सले पनि त आफ्ना अनुभवी एवम् पाका स्ट्राइकर आन्द्रे पिएर जिग्नयाकलाई ओलम्पिक टोलीमा समावेश गरेको छ । मोन्टेलियरका मिडफिल्डर तेजी साभानियर र सानै उमेरमा नाम कमाएका फ्लोरियन थौभिन पनि फ्रेन्च टिममा छ । हुन त यी तीन मध्ये कुनै पनि खेलाडी फ्रान्सको सिनियर टिममा पर्ने खेलाडी होइनन् । 

अन्तर्राष्ट्रिय फुटबलमा ओलम्पिकको प्रतिस्पर्धाको महत्व कति ? यसमा धेरै बहस हुने गरेका छन् । सायद यहाँ प्राप्त हुने सफलताको प्रष्ट व्याख्या छैन । उदाहरणका लागि, लियोनल मेस्सीले जितेको ओलम्पिक स्वर्ण र कोपा उपाधिबीचको तुलना । गत महिना मेस्सीले कोपा जित्दा भनेको सुनियो, बल्ल आएर मेस्सीले महत्वपूर्ण ट्रफी उचाले । त्यसोभए ओलम्पिकको स्वर्ण के त ? फेरि ओलम्पिकको स्वर्णको महत्व नभए आल्भेस किन मरिहत्ते गरिरहेका छन् त ? त्यो पनि सर्वाधिक संख्यामा उपाधि जितेको खेलाडी भएर । यस प्रश्नको उत्तर एउटै प्रकृतिको किन आउँला र ।

उता अर्जेन्टिना र रोमानियाका टिममा एक-एक खेलाडी मात्रै छन्, जो ‘ओभर एज’ मा पर्छन् । ती दुवै खेलाडी आ-आफ्ना टिमका स्टार होइनन् । अर्जेन्टिना र रोमानियाले आफ्ना स्टार खेलाडीलाई ओलम्पिकमा पठाउन चाहेनन् । वा चाहेर पनि सकेनन् । किनभने क्लबहरू ओलम्पिकका लागि खेलाडी ‘रिलिज’ गर्न बाध्य हुँदैनन् । 

तर यसो भन्दैमा अरु टिमले ओलम्पिकको फुटबललाई महत्व दिएका छैनन् भन्‍ने होइन । स्पेनले नै ओलम्पिकका लागि बलियो टिम छानेको छ । यस टिममा युरो २०२० खेलेका तीन खेलाडी छन्, पाउ टोरेस, डानी ओल्मो र पेड्री । जर्मन टिम पनि कमजोर छैन । भलै युरोमा सहभागी भएका खेलाडी यो टिममा परेका छैनन् ।

आयोजक जापान त ओलम्पिक फुटबलका लागि सधैँ गम्भिरदेखिँदै आएका छ । जापानका खेलाडीहरूका लागि ओलम्पिक ठूलो मौका हो, आफ्नो क्षमता पदर्शन गर्ने । त्यही भएर अहिलेको जापानी टिममा पनि युरोपका क्लबहरूमा खेलिरहेका अनुभवी खेलाडी पनि समावेश गरिएका छन् ।

अब फेरि अर्जेन्टिनातर्फ फर्किउ । अर्जेन्टिना कोपा च्याम्पियन बन्यो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरे, अर्जेन्टिनाले २८ वर्षपछि उपाधिको खडेरी तोड्यो । तर उनीहरुले अर्जेन्टिनाले सन् २००४ र २००८ को ओलम्पिकमा स्वर्ण जितेका बिर्सिए । हुनसक्छ, उनीहरूले ओलम्पिक फुटबललाई युवाहरुको प्रतिस्पर्धामा सीमित गर्न चाहे । 

तर महिला फुटबलको हकमा भने ओलम्पिक फुटबलको महत्व अथाह छ । यो त अन्तर्राष्ट्रिय महिला फुटबलका लागि पर्व नै हो । सन् २०१९ मा अमेरिकी स्ट्राइकर एब्बी वामबाचले पुस्तक निकालिन् । जसको कभरमा वामभाचकै तस्बिर थियो । अनि लेखिएको थियो, ओलम्पिकमा दुई पटक स्वर्ण जितेकी वामबाच । जबकि उनी विश्वकप विजेता हुन् । यहाँ ठूलो पुरस्कारको बन्‍ने दौडमा ओलम्पिकले विश्वकपलाई उछिन्यो ।

यसपटकको ओलम्पिकमा पनि अमेरिकी महिला टिम निकै बलियो छ । दुई वर्ष अगाडि महिला विश्वकप फाइनलका लागि छानिएको टिम र गत बुधबार स्विडेनसँग हारेको टिम लगभग उही छ । जम्मा दुई खेलाडी मात्रै परिवर्तन गरिएको छ । यो एउटा प्रमाण हो, टोकियोमा महिला फुटबलका स्टारहरु भेला भएका छन् भन्‍ने दाबीलाई बलियो बनाउन । हुन त भविष्यमा विश्वकपले ओलम्पिक फुटबलाई पछि पार्ला । किनभने महिला फुटबलमा एकै पटक दुई फरक प्रतियोगिता शिखरमा रहने सम्भावना रहँदैन । तर यसो भन्दैमा ओलम्पिकमा महिला फुटबलको प्रतिस्पर्धाले कम महत्व पाउनेछ । टनिसमै हेरौँ न, यस खेलमा पनि ओलम्पिकको महत्व असाध्यै ठूलो छ । 

तर हुनसक्छ पुरुष फुटबलको हकमा स्थिती फरक छ । वा टिम र खेलाडीमा पनि भरपर्छ । हुनसक्छ, मेस्सीका लागि ओलम्पिकको स्वर्ण भन्दा कोपाकै वजन छ । अनि आल्भेसका लागि आफ्नो करियर पूर्ण बनाउन ओलम्पिक फुटबलको साथ चाहिएको छ । उता मेगान रापिनोका लागि ओलम्पिक स्वर्ण नै अन्तिम गन्त्ब्य हुनसक्छ । तर यी सबै कुरा समय अनुुसार परिवर्तन हुनसक्छन् । आखिरमा स्वर्णकै भाउ पनि त घटबढ हुनसक्छ नी । (न्यूयोर्क टाइम्सबाट)   


Author

थप समाचार
x