खेलकुद

‘टोटनहम जान मानेनन् मार्टिनेज

इकागज |
भदौ ६, २०७८ आइतबार १७:१२ बजे

काठमाडौँ-गत सिजन इन्टर मिलानले सिरी ए उपाधि जित्दा रोमेलु लुकाकु बाहेक अन्य केही खेलाडीको पनि उल्लेख्य भूमिका थियो । ती खेलाडीको सूचीमा लाउटारो मार्टिनेज पनि पर्छन् । अर्जेन्टिनाका स्ट्राइकर मार्टिनेजले ३८ लिग खेलमा १७ गोल गरेका थिए । 

लुकाकु चेल्सी लागेपछि मार्टिनेज इन्टरका मुख्य स्ट्राइकर बनेका छन् । हुन त इन्टरले एडेन जेको पनि अनुबन्ध गरेको छ । जसले शनिबार जेनोआविरुद्ध एक–एक गोल तथा असिस्ट गरे । इन्टरले ४–० को जित दर्ता गर्दा मार्टिनेज भने अनुपस्थित थिए । आउँदा साता भने मार्टिनेज नै इन्टरका लागि मुख्य अस्त्र बन्ने निश्चित छ । 


तर यीनै मार्टिनेजलाई पनि इन्टरले बेच्न नखोजेको भने होइन । इंग्ल्यान्डको टोटनहमले २४ स्ट्राइकरलाई खरिद गर्ने इच्छा व्यक्त गरेको थियो । इन्टर र टोटनहमबीच स्थान्तरण रकममा पनि सहमति जुटिसकेको थियो । मार्टिनेजलाई इंंग्लिस प्रिमियर लिग लगेबापत टोटनहमले इन्टरलाई ६ करोड पाउन्ड दिने प्रस्ताव गरेको थियो ।   

तर मार्टिनेजले टोटनहमको स्थान्तरण प्रस्ताव स्विकार गरेनन् । इन्टरका प्रमुख कार्यकारी अधिकृत गुइसेप्पे मारोट्टाले मार्टिनेजले सान सिरोमै बस्ने इच्छा व्यक्त गरेकाले टोटनहमतर्फको स्थान्तरण सफल नभएको बताएका हुन् । मारोट्टाले मार्टिनेजका लागि टोटनहम बाहेक अन्य क्लबबाट पनि प्रस्ताव आएको बताए । 

‘लाउटारो आफैँले इन्टरमा रहने इच्छा व्यक्त गरेका हुन् । उनका लागि कयौँ क्लबले प्रस्ताव राखेका हुन् । तर लाउटारोले कुनै पनि प्रस्ताव स्विकार गरेनन् । उनी इन्टरलई थप उपाधि जिताउन मद्दत गर्न चाहन्छन् । उनले हाम्रो क्लबप्रति देखाएको सद्भावका कारण हामी प्रशन्न छौँ,’ मारोट्टाले भनेका छन् । 

सम्झौता अनुुसार मार्टिनेज अझैँ दुई वर्ष इन्टरमै रहनेछन् । इटालेली सञ्चार माध्यमहरुका अनुसार मार्टिनेज र इन्टरबीच सम्झौता नवीकरणका लागि छलफल भइरहेको छ । मार्टिनेजले पनि आफू इन्टरमा अझैँ केही वर्ष रहन चाहेको बताएका छन् । 


Author

थप समाचार
x