खेलकुद

अफगानी महिला खेलकुदमा लाग्‍न आवश्यक छैनः तालिबान

इकागज |
भदौ २३, २०७८ बुधबार १९:२८ बजे

काठमाडौँ- तालिबानले अफगानिस्तानमा महिलालाई खेलकुदमा लाग्‍न नदिने भएको छ । तालिबानको सास्कृतिक विभागका उप-प्रमुख अहमदुल्लाह वासिकले यसको पुष्टि गरेका हुन् । अस्ट्रेलियाको टेलिभिजन च्यानल एसबीएससँग कुरा गर्दै वासिकले अफगानी महिला क्रिकेट वा अन्य खेलमा सक्रिय हुन आवश्यक र उचित नभएको दाबी गरे । 

‘महिलाले क्रिकेट वा अन्य खेल खेल्न आवश्यक छैन । क्रिकेट जस्तो खेल खेल्दा महिलाले आफ्नो पूरा शरीर ढाक्न सक्दैनन् । इस्लामको नियम अनुसार महिलाको सम्पूर्ण शरीर ढाकिएको हुनुपर्छ । यो मिडियाको युग हो । अफगानी महिलाहरू खेलेको तस्बिर खिचिन सक्छ । ती तस्बिर विभिन्न प्रकारका सामाजिक सञ्जालमा छरपस्ट हुनेछन् । यो परिस्थिती तालिबान र अफगानिस्तानलाई मान्य छैन,’ वासिकले भनेका छन् । 


तालिबान महिलाप्रति सधैँ कठोर रूपमा प्रस्तुत हुँदै आएको छ । सन् १९९० को दशकमा अफगानी सत्तामा रहँदा पनि ताबिानले अफगानी महिलाहरूलाई खेलकुद, मनोरञ्‍जन तथा अन्य सामाजिक गतिविधिमा लाग्‍न बर्जित गरेको थियो । हालै घोषणा गरिएको तालिबानी सरकारमा पनि महिला प्रतिनिधित्व शून्य छ । 

अफगानिस्तानको क्रिकेट संघले आफूलाई महिला क्रिकेट र महिला क्रिकेट टिमबारे कुनै निर्देशन वा जानकारी नआएको बताएको छ । महिला क्रिकेटसम्बन्धी सबै कार्यक्रम भने तालिबान काबुल फर्किनासाथ स्थगित भइसकेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानी महिला खेलाडीहरू आ-आफ्नो परिचय लुकाएर बसेका छन् । त्यस्तै कतिपय महिला खेलााडीहरुमाथि भने तालिबानी लडाकुहरूले आक्रमण गरेको बताइएको छ ।
 


Author

थप समाचार
x