खेलकुद

जोकोभिच बने कोभिडविरुद्धको औषधि बनाउने कम्पनीको मालिक

इकागज |
माघ ६, २०७८ बिहीबार १३:१३ बजे

काठमाडौँ- केही दिनअघि नोभाक जोकोभिचलाई अस्ट्रेलियाबाट डिपोर्ट गरियो । अस्ट्रेलियन ओपन खेल्न मेलबर्न पुगेका जोकोभिचलाई त्यहीबाट फर्काइएको हो । फर्काइनुको कारण, कोभिड–१९ सम्बन्धी नियम हो । अस्ट्रेलियन ओपनमा भाग लिन मेलबर्न ओर्लने सबैका लागि कोभिडविरुद्धको खोप अनिवार्य गरिएको थियो । 

तर सर्बियाका जोकोभिचले भने खोप लगाएको वा नलगाएकाबारे जानकारी दिन मानेन् । यसो भएपछि अस्ट्रेलिया सरकारले उनलाई विकल्प दियो, आफू कोभिडबाट सुरक्षित रहेको प्रमाण पेस गर्ने । जोकोभिचले पेस गरेको प्रमाणप्रति अस्ट्रेलिया सीमा बलका अधिकारीले चित्त बुझाउन सकेनन् । त्यसपछि उनको भिसा रद्द गरियो । 


भिसा रद्द गरिएपछि जोकोभिच अदालत गए । जहाँ उनको पक्षमा फैसला आयो । त्यसपछि फेरि अस्ट्रेलियाले आफ्नो आप्रवाशन सम्बन्धि कानूनको प्रयोग गर्दै जोकोभिचको भिसा दोस्रो पटक रद्द गरियो । यसपालि पनि जोकोभिचले अदालतको ढोका ढकढकाए । तर यसपटक अदालतले जोकोभिचको विपक्षमा फैसला सुनायो । 

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वभर आफ्नो दबदबा कायम राखिरहँदा अस्ट्रेलिया सरकार र जोकोभिचबीच कोभिड सम्बन्धी नियमकै कारण जुहारी चल्यो । अन्ततः जोकोभिचको केही सीप चलेन । र उनी घर फर्कनु पर्‍यो ।

कोभिड महामारी नियन्त्रणका लागि खोप नै निर्णायक भएको भनिरहँदा जोकोभिच भने यसप्रति सशंकित देखिए । यसैकारण हुनसक्छ उनले खोप लगाएनन् । नभए त उनले खोप लगाएको प्रमाण पेस गर्थे होलान् । उनको यस्तो शैलीका कारण विश्वभर नै उनको आलोचना भयो । यद्यपि उनका समर्थकले अस्ट्रेलिया र सर्बियामा अस्ट्रेलियन प्रशासनविरुद्ध नारा जुलुस भने गर्न भ्याए । 

अब भने जोकोभिच कोभिडविरुद्धको औषधि बनाउने कम्पनीसँग आबद्ध भएको खबर आएको छ । उनले डेनमार्कको क्वान्टबायोरेस नाम गरेको कम्पनीमा लगानी गरेको खबर बेलायती अखबार दी गार्डियनले लेखेको छ । गार्डियनका अनुसार जोकोभिचले क्वान्टबायोरेसको ८० प्रतिशत शेयर खरिद गरेका छन् ।  क्वान्टबायोरेसले डेनमार्क, अस्ट्रेलिया र स्लोभेनियामा रिसर्च गरिरहेको बताइएको छ । रिसर्चको मुख्य उदेश्य कोभिडविरुद्धको औषधि विकास गर्ने हाे । 

 
 


Author

थप समाचार
x