विचार

बाघ बाघजस्तो हुनुपर्छ भन्‍ने मान्छे मान्छेजस्तो छ त ?

दिपेन्द्रकुमार बीसी ‘दिपु’ |
पुस २६, २०७९ मंगलबार ७:५० बजे

पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वार्ड न. ४ भैरव सामुदायिक वन क्षेत्रमा रहेको सहिद पार्कमा रहेको स्वरूप बिग्रेको बाघको सालिकको तस्बिर जब सामाजिक सञ्जालमा निकै भाइरल भयो । तब देशभर रहेका विभिन्न आकृति र ढाँचामा सजावट बाघका सालिकहरूले सामाजिक सञ्जालभरि व्यापक स्थान पाए र पाइरहेका छन् । त्यति मात्र होइन साँढे, भेडा, भैँसी, कुकुर, दुम्सीदेखि भगवान् हनुमान र शिवसम्म पनि फरक स्वरूपमा देखिँदा कतिपय ट्रोल बनिरहेका छन् । मज्जाका विषय बन्न पुगेका छन् । 

सुर्खेत, कैलाली, बर्दिया, काठमाडौ हुँदै पूर्वमा झापासम्म विभिन्न जिल्लामा बाघको सालिकहरू सामाजिक सञ्जालमा निकै देखिए । जसले संकेत गर्छ, आज देशमा जति बाघका सालिक छन् त्यति बाघ जीवित जंगलमा छैनन् । बाघ जति सालिक बनाएर सीमित सकिए उर्फ जीवित बाघको संरक्षण, जीवित बाघको अध्ययन र संख्या बढाउनलाई प्रयोग गर्नुपर्ने ठाउँमा आकृति नमिलेका बाघको सालिक बनाउन बजेट खर्च गरेर बाघलाई मारमा पारिएको रहेछ । बाघका सालिकहरूको धुन्धकारी निर्माण भएको रहेछ । जुन स्वरूप नमिलेका विभिन्न ठाउँका बाघका सालिकहरूको तस्बिरहरूले सामाजिक सञ्जालमा आंतक नै मच्चायो । 


संघीयता कार्यान्वयनको पहिलो ५ वर्षको समयलाई हेर्दा स्थानीय सरकारहरू पनि सबैभन्दा बढी भ्यु टावर बनाउन, जनावरहरूको सालिक बनाउन र डोजर हिँडाउन निकै तल्लीन रहेको देखिन्छ ।

कृत्रिमता र भौतिक संरचना निर्माणलाई बालुवा, इँट्टा, ढुङ्गा, सिमेन्ट, सरिया, कालिगढको ज्याला, मजदुरी ज्याल, ढुवानी शुल्क आदि भनी विविध सामग्रीको प्रयोगको आधारमा खर्च विवरण पेस गरी बजेटमार्फत पैसा कमाउन सहज हुने हुँदा यस्ता सालिक र भ्युटावर बनाउने कार्यहरूले प्रथामिकता पाउन पुगेका छन् । अनैतिक तथा आचरण विहीन राजनीतिक शैली र राज्य तथा नागरिकप्रतिको गैरजिम्मेवारपूर्ण शासन प्रणालीले यस्ता कार्य विकासका रूपमा भन्दा पनि जड समस्याका रूपमा निम्तिएका छन् ।

नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, ६ वटा संरक्षण क्षेत्र, ३ वटा आरक्ष र एउटा सिकार आरक्ष छन् । जसमा हेर्ने हो भने सन् २०२२ को तथ्यांकअनुसार नेपालमा जम्मा बाघ संख्या ३५५ रहेको छ । जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा ३६, बाँके राष्ट्रिय निकुञ्जमा २५ बाघ संख्या रहेको पाइन्छ तर आज जति सामाजिक सञ्जालका भितामा पोस्टिएका विभिन्न ठाउँका सालिकहरुलाई हेर्दा बाघको सालिक संख्याले जीवित बाघको संख्यालाई चुनौती दिएको नै छ ।

सरोकारवालालाई जति मोह बाघको सालिक बनाउनमा छ त्यति मोह वास्तविक बाघ बचाउनमा छैन । राज्यले खासै चासो पनि राखेको छैन बाघको संख्या बढाउने विषयमा, बाघको संरक्षण गर्ने सम्बन्धमा, बाघको तस्करी रोक्ने सम्बन्धमा, बाघको आतंकलाई कम गर्ने सम्बन्धमा तर राज्यका अधिकांश निकाय तल्लीन भएछन् सालिक र तस्बिर बनाउनमा । तर राज्यले कहिल्यै सोच्दैन, बाघको बानी व्यवहार, आहरा, जीवनस्थितिको अध्ययन गर्नलाई देशका दिग्ज जीवविज्ञान शास्त्रीहरूलाई त्यसतर्फ लगाउने र प्रोत्साहन दिने सन्दर्भमा ।

जसले गर्दा बेरोजगारी मात्र कम हुने होइन कि अध्ययन अनुसन्धानले पनि प्राथमिकता पाउन जान्थ्यो । त्यति मात्र नभएर जिव विज्ञान विषयमा स्नातक र स्नातकोत्तर तथा सोभन्दा माथिल्लो तहको अध्ययनलाई लागेका विद्यार्थीहरूमा भविष्यप्रतिको नकारात्मक विचलन हटाएर अनुसन्धानमा लगाउन सक्ने प्रचुर सम्भावना बढ्न जान्थ्यो । तर त्यो हुन सकिरहेको छैन ।

देशमा दुई तवरका मान्छे बढी भेटिए एक बाघ लगायतका जन्तुहरूको सालिक बनाउनेहरू भने अर्को बाघको सालिक र तस्बिर फोटो खिच्दै, पोस्ट्याउँदै, रमाउँदै बस्नेहरू । सालिक बनाउन बजेट बाँड्नेहरू बजेट आफ्नो हातमा पार्ने कसरतमा लागे भने, सालिक बनाउने कालिगडहरू आफ्नो दैनिक ज्याला कमाउन उद्दत रहे तर कसैलाई मतलब भइदिएन कि बाघको सालिक बाघ जस्तो हुनुपर्छ भन्ने । अनि अर्को थरी फोटो खिच्दै पोस्ट्याउँदै रमाइलो गर्दै गर्ने जमात पनि कम छैन ।

सवाल नीति बनाउनेहरूसँग कहिल्यै गरेनन् कि वन जंगल प्रशस्त भएको देशमा जनावरको सालिक बनाउन बजेट खर्चनु भनेको फजुल खर्च हो भनेर । जब सुर्खेत सहिद पार्कको बाघको सालिकको टिप्पणी र आलोचना बाघको आकृति बाघको जस्तो भएन भन्ने विषयमा बढ्यो तब उक्त बाघको सालिक हटाएर अर्को सालिक बनाउने निर्णय पनि गरिए । तर यस्तो भावनामा बहकिएको निर्णयलाई हेर्दा गरिएको आलोचना गम्भीरता विहीन भएछ अथवा सरकारवालाले गम्भीरता लिन अझै सकेनछन् भन्ने देखिन्छ ।

बाघ, भेडा, घोडा, हात्ती, दुम्सी, भैँसी, कुकुरको सालिक बनाउनु र बजेट खर्चनुको उपयुक्तता हाम्रो जस्तो मुलुकमा छैन । बरु देशमा चिडियाखानाहरू थप्न सकिन्छ । निकुञ्ज, आरक्षण क्षेत्रहरूमा अवलोकन गर्न सकिन्छ जसले गर्दा पर्यटन व्यवसाय पनि फस्टाउँछ । चिडियाखानाहरू थपिए भने त्यहाँ बाहिरी तथा आन्तरिक पर्यटकहरूको संख्या वृद्धि पनि हुन्छ । रोजगारको दर पनि स्वाभाविक हिसाबले बढछ । त्यति मात्र होइन सालिक र भ्यु–टावरमा गरिने करोडौं लगानी हामीले दाँत कोट्याउने सिन्को बनाउने उद्योग बनाउन मात्र लगानी गर्यौँ भने पनि वर्षमा आयात हुने ३ करोड पैसा नेपालमै बच्छ ।

त्यसैगरी अन्य उद्योग र उत्पादनमा जोड दिएमा रोजगारका अवसर स्वतः बढ्छन् भन्ने विषयमा सरोकारवालाको ध्यान नै छैन । साँच्चिकै पनि जुन राज्यका लगानी शिक्षा, स्वास्थ्य र उद्योग तथा उत्पादनको क्षेत्रमा छैन त्यो देशको हालत बाघको सालिकको तस्बिर खिचेर रमाउने जमातमै सीमित रहन्छ । प्राकृतिक सौन्दर्यले भरपुर हुँदा पनि प्राकृतिक सुन्दरतालाई नाश गरेर, जंगल फोडेर भ्यु टावर बनाउने, सालिक बनाउने कुरालाई बढी केन्द्रविन्दुमा राख्नु मूर्खता नै हो ।

राज्यको शिक्षा क्षेत्रमा हुने न्यून लगानीको उपज हो आकृति नमिल्ने, गुणस्तरविहीन भौतिक संरचनाको निर्माण हुन पुग्नु । एक त हामीमा सकारात्मक विश्लेषण गर्ने क्षमता छैन अर्को सकारात्मक तवरले विश्लेषण गर्दा सकारात्मक बुझ्ने दिमागी सामार्थ्य छैन । हामीले हाम्रो सीप र कलाको विकास र अध्ययनलाई चासो दिएका पनि छैनौं । अनि कुनै पनि कालिगडलाई अध्ययन र सिकाइ तथा निर्माणको मौका दिएका नै छैनौँ भने अनि कसरी बाघको सालिक बाघ जस्तो पाउँछौँ त ?

अर्को कुरा सालिक बनाउँदा दुरुस्तै बनाउने प्रयास हुन्छ तर बाघ दुरुस्तै हेर्नु त मान्छेहरू कि त चिडियाखाना कि त निकुञ्ज जानुपर्छ । मूर्ति कोर्दा उस्तै दुरुस्तै नहुन सक्ला तर पनि बाघ हो भन्ने विश्वास गर्न नसकिने भ्यागुतो स्वरूप पनि बनाउनु भएन । कतिपय समुदायमा श्रीमान्ले श्रीमतीलाई रक्सी खाएर छोरा वा छोरी आफ्नो अनुहार जस्तो भएन भनेर किचकिच गरेझैं बाघको सालिक बाघ जस्तो भएन भनेर गम्भीर नबनी किचकिचावट गर्नु त्यति जायज पनि छैन । कलाकौशलमा हाम्रो पुर्खा जति सिपालु थिए त्यति हाम्रो समयका मान्छे छैनौं ।

आज जसरी हामीले कालिगडको नाममा सालिक वा मूर्ति बनाउन जिम्मेवारी दिएका छौँ उनीहरूबाट यतिसम्मको सीप आउनु ठीक मात्रामा लिन सकिन्छ । किनकि मोजाको बल खेल्न जानेको छ भन्दैमा एक्कासी भलिबल खेलाडी बनाएर मैदानमा राखेमा खेल जित्छु भन्ने सपना व्यर्थ हुन्छ । त्यसका लागि खेल्दै, सिक्दै, खेलमा भाग लिँदै जानुपर्छ । हो, त्यसरी नै कालिगडका लागि पनि उत्तिकै अभ्यास जरुरी छ । कोर्दै, अभ्यास गर्दै सही आकृति आउने हो ।

राज्यले यस्तो शिक्षण र कलाको अध्ययन र विकासमा चासो दिएमा बाघको सालिक होस् या मान्छेको सालिक उस्तै दुरुस्तै नआउला भन्न सकिन्न । बाघ बनाउन कालिगडलाई दिएको रकम, कालिगडको सीपको देनलाई निहाल्दा जस्तो आकृति आयो र त्यसको जुन तवरले आलोचना चलिरहेको छ । त्यति गम्भीरता पनि झल्किएको छैन तर त्यसमा गम्भीर सवाल र समीक्षा गरिनुपर्छ ।

सालिक र भ्युटावरमा यसरी राज्यको करोडौं बजेट खर्चनु के राम्रो हो ? बाघको सालिक बाघ जस्तो हुनुपर्छ भन्ने मान्छेहरूको जमातले हामी मान्छे पनि मान्छे जस्तो हुनुपर्छ भनेर के सोच्न सक्छन् ? जनावरहरूको सालिक बनाउनुभन्दा चिडियाखाना थपौँ । बाघको सालिक हेर्नुभन्दा चिडियाखाना पुगेर बरु साक्षात्कार बाघ हेरौँ भन्ने मनोभावना के हरेकमा जाग्न सक्छ ? बाघको सालिक बाघ जस्तो हुनुपर्छ भन्ने हुलले हरेक पाँच वर्षको अन्तरमा देशमा निर्वाचन हुँदा सोही दिन एकपटक नेता आखिर नेता जस्तो हुनुपर्छ भन्नेर के भोट दिन सक्छन् ?

यदि यस्ता सवालको गम्भीरतामा प्रवेश गरेर जवाफ खोजेमा स्वरूप बिगारेर जनावरका सालिक बनाउने र जहाँ पायो त्यहीँ भ्यु–टावर बनाउने आंतक स्वतः न्यून हुन जान्छ । राज्य र नागरिकप्रति उत्तरदायी, सुशासन र पारदर्शिता अँगाल्ने, कानुन र संविधानलाई मान्ने प्रकृतिप्रेमी जनप्रतिनिधिहरूको उदय हरेक निर्वाचनबाट हुनसक्छ । अनि त्यसपछि मात्र राज्यले उत्पादन, उद्यम, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनमा लगानी गरेर राम्रो प्रतिफल पाउन सक्छ ।

(अध्ययन, मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ ल ।) 

बीसीको यसअघिको लेख


Author

दिपेन्द्रकुमार बीसी ‘दिपु’

दिपेन्द्र मध्यपश्चिम विश्वविद्यालय स्कुल अफ ल बीएएलएल्बी तेस्रो सेमेस्टरका विद्यार्थी हुन् ।


थप समाचार
x