विचार

संसदीय संवाददाता डायरी १६

मोहम्मद मोहसिन र रमेशनाथ पाण्डेहरूले सम्झाएको ‘राष्ट्रिय कथा’

हरिबहादुर थापा |
माघ १९, २०७९ बिहिवार १९:५० बजे

२७ साउन, २०५६ । राष्ट्रिय सभा अध्यक्षका निम्ति चुनाव हुँदै थियो । त्यो चुनावले निकै कौतूहल जगाएको थियो । किनभने २८ दिनअघिको चुनावमा कोही विजयी बन्न नसकेपछि दोस्रो पटक चुनावमा पनि त्यस्तै दृश्य मञ्चन हुने छनक यथावत् थियो । पाँच प्रतिस्पर्धी थिए, कुनै दल पनि बहुमतमा थिएनन् । आकांक्षी संख्या र घोषित गठबन्धन नहुँदा तेस्रो चुनावको शृंखलामा प्रवेश अधिक सम्भावना थियो ।

राष्ट्रिय सभा अध्यक्षका आकांक्षीमा कांग्रेसका पुुराना नेता वासुदेव रिसाल, एमालेका वाचस्पति देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहम्मद मोहसिन, राजाका मनोनीत सांसद जनार्दन आचार्य र मालेका डा. राममान श्रेष्ठ । ठूलो दल कांग्रेससँग जम्मा २४ मत थियो । त्यसमा उपाध्यक्ष चिरञ्जीवी रिजाल पनि पर्थे । उनलाई बराबरी मत हुँदा मात्रै मतदान गर्ने अवसर मिल्थ्यो । एमालेसँग १७, मनोनीत १०, माले ३, राप्रपा ३, राप्रपा (चन्द) २, नेपाल सद्भावना पार्टीको १ मत थियो । अध्यक्ष जित्न ३० मत चाहिन्थ्यो ।


घोषित रूपमा कसले, कसलाई मत दिने औपचारिक ‘ह्वीप’ लगाएको अवस्था थिएन । अनि राप्रपा (चन्द)बाहेक हरेकका आ–आफ्नै उम्मेदवार थिए । कांग्रेसले सोचेको थियो कि फेरि पनि कसैको बहुमत पुग्ने छैन । फेरि तेस्रो चोटि चुनाव हुनेछ या आफ्नै उम्मेदवार विजयी हुनेछन् भन्ने आशामा थियो ।
चुनावमा सदनभित्रै ‘हुन्छ’ र ‘हुन्न’को ध्वनि मतको विधि प्रयोग भएको थियो । त्यसरी चुनाव हुँदा पहिलो परीक्षणमा राप्रपाका मोहम्मद मोहसिन परे । कांग्रेसले आफू नै उम्मेदवार खडा गरे पनि मोहसिनको पक्षमा मत दिँदै थियो । उसलाई लागेको थियो कि आफ्नो मतबाट मात्र मोहसिन चुनाव जित्नेवाला छैनन् । 

अनि मतदान हुँदै गर्दा एमालेका सांसदहरू ‘हुन्न’ भन्दै विपक्षमा मतदान गर्दै गए । त्यसरी सांसदहरूको नाम बोलाउँदा वर्णानुक्रम विधि प्रयोग भएको थियो । एमालेले ‘हुन्न’ भनेपछि कांग्रेस र राप्रपाको मतमा मात्र चुनाव जित्ने कुनै छाँटकाँट थिएन । किनभने मनोनीत सांसदका पनि आफ्नै उम्मेदवार थिए र मालेको पनि ।
एमालेका १३ जना सांसदले ‘हुन्न’ भनिसकेका थिए । चुनावी स्थिति हेर्दा मोहसिन २६ मतमै अड्किने आँकलन थियो । तर, एमाले यसरी चामत्कारिक ढंगले मत फेर्‍यो कि अन्तिम चार सांसदको मुखबाट ‘हुन्छ’ शब्द फुत्कियो । 

वणानुक्रमअनुसार सांसद सुरेन्द्र पाण्डेको नाम आयो । उनको मुखबाट फुत्कियो, ‘हुन्छ ।’ अरुलाई लाग्यो कि उनी झुक्किए । त्यसमाथि उनी राष्ट्रिय सभामा एमालेको सचेतक नै थिए । पाण्डेपछि शान्ता मानवी, विश्वेश्वरा दाहाल र वीरबहादुर सिंहले ‘हुन्छ’ भनेसँगै मोहसिनको पक्षमा ३० मत पुग्यो । अर्थात् उनले बहुमत पाए, अध्यक्षमा विजयी भएको घोषित भए ।

उनी अध्यक्ष घोषित भएपछि बाँकी रहेका रिसाल, देवकोटा, आचार्य र श्रेष्ठको उम्मदेवारी परीक्षण गर्नुपरेन ।

अनि कसैले पनि सोचेका थिएनन्, त्यसरी सदनभित्रै पुगेपछि एमालेले अन्तिम नामावलीमा रहेका सांसदहरूलाई मोहसिनका पक्षमा मतदान गराउँछ भन्नेमा । अर्थात् एमालेले आफूले नजित्ने भएपछि रकमी रणनीतिसहित कांग्रेसलाई चक्मा खुवायो । 

त्यसो त, एमालेले कांग्रेसलाई नसघाउने घोषित नीति बनाएकै थियो । तर, उसले औपचारिक रूपमा चाहिँ मोहसिनको पक्षमा मतदान गर्ने घोषणा पनि गरेको थिएन । एमालेले सुरुमै मोहसिनको पक्षमा मतदान गर्ने घोषणा गरेको भए, सम्भवतः कांग्रेसले उनलाई मत दिने थिएन होला । एमालेको ‘भूमिगत चुनावी नीति’बाट कांग्रेस जिल्लिन पर्‍यो ।

एमालेले राष्ट्रिय सभालाई अनिर्णयको बन्दी बनाइनु हुन्न भन्ने रणनीतिअनुरूप मोहसिनलाई सघाएको जिकिर लियो । ६० सदस्यीय राष्ट्रिय सभामा तीन सिट मात्र भएको राप्रपाका उम्मेदवार मोहम्मद मोहसिनलाई अध्यक्षको कुर्सीमा बस्ने अवसर मिल्यो । 
००००
त्यो थियो, दोस्रो चुनावी राजनीति । अझ पहिलो चुनाव झन् ‘अद्भुत’ हुन पुग्यो । राष्ट्रिय सभा सदस्यहरूले नै ‘अद्भुत’ ठानेका थिए । त्यो दिन रमेशनाथ पाण्डेले पराजित हुने सोचेका पनि थिएनन् । मतीय हिसाबले उनी राष्ट्रिय सभा अध्यक्ष बन्ने लगभग निश्चित थियो । २०५६ असार ३० मा मतीय हिसाबले उनको पक्षमा ३० मत ठ्याक्कै पुग्ने आँकलन थियो । हिसाब–किताबकै आधारमा हुनुपर्छ, पाण्डेका परिवारका सदस्य गाडीमा मालासहित संसद् परिसर पुगेका थिए । उनको परिवारका सदस्यका हाउभाउ हेर्दा लाग्थ्यो, पाण्डेले विजयको माला पहिरिने छन् । अनि अध्यक्षको कुर्सीमा गमक्क शैलीमा बस्नेछन् । त्यो माला पाण्डेको गलामा नपरीकन फिर्ता भयो, चुनावले ‘नाटक’को रूप लिएपछि ।

पहिलो चुनावमा अध्यक्षका तीन जना प्रत्यासी थिए– कांग्रेस महामन्त्री वासुदेव रिसाल, राजाबाट मनोनीत रमेशनाथ पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. मोहम्मद मोहसिन । एमाले र मालेबाट कुनै उम्मेदवारी परेको थिएन । 

पहिलो ध्वनि मत परीक्षणमा रिसाल परे । उनको पक्षमा आफ्नै पार्टी कांग्रेसको २३ मत र नेपाल सद्भावना पार्टीका गजेन्द्रनारायण सिंहको मत पर्‍यो । उनी २४ मतमै सीमित भए । उनलाई मनोनीत कुनै सांसदको मत परेन । उनको विपक्षमा ३५ मत परेको थियो ।

त्यसपछि पालो आयो, रमेशनाथ पाण्डेको । उनका पक्षमा एमालेका १७ सांसदले ‘हुन्छ’ भन्दै गए । एमाले–माले एक अर्काबीच काटाकाटको अवस्थामा थिए । तर, पाण्डेका हकमा विभाजित माले–एमाले एक भए । मालेको ३ मत पनि पाण्डेकै पोल्टामा पुग्यो । अनि मनोनीत सांसद् १० जना थिए । तिनीहरूको मत एकै ठाउँमा पर्छ भन्ने स्वाभाविक अनुमान थियो ।

वर्णानुक्रममा अन्तिम मतदाता सांसद थिइन्, शारदा पोखरेल । अनौठो तरिकाले उनले भनिन्, ‘हुन्न ।’ एकाएक सदनभित्र सन्नाटा छायो । मनोनीत र एमाले–माले सांसदहरू हेराहेरमा पुगे । उनले त्यसरी ‘हुन्न’ भन्छिन् र अध्यक्ष बन्ने पाण्डेको ‘भाग्य’मा चम्किन दिन्न भन्ने कसैले सोचेका थिएनन् । पोखरेल पनि राजाबाट मनोनीत सांसद थिइन्, पाण्डे पनि मनोनीत । अनि पाण्डे राजाका पनि उम्मेदवारका प्रचारित थिए । त्यो पृष्ठभूमिमा पोखरेलले ‘हुन्न’ भन्छिन् भन्ने कल्पना कसैको थिएन । 
पोखरेलले ध्वनि मतमा ‘हुन्न’ मात्र भनिनन् कि पाण्डेको झाँको झार्न पुगिन् । राजाबाट मनोनीत सांसद दल जसरी नै प्रतिस्पर्धामा उत्रिनुलाई उनले ‘अनुचित’ ठानिन् । मतदान गर्दाकै बखत उनले भनिन्, ‘राजाबाट मनोनीत सांसद नै यसरी चुनावी प्रतिस्पर्धामा उत्रिनु राम्रो होइन । राजसंस्थालाई विवाद भूँमरीमा पार्ने काम गर्नु राम्रो होइन ।’

उनले ‘हुन्न’ भनेपछि २९ मतमै अड्कियो । उता विपक्षतिर कांग्रेसको २३, मनोनीत १, राप्रपा ३, राप्रपा (चन्द) २ मत पर्‍यो । अर्थात् पक्ष–विपक्ष दुवैतिर २९ मत । सद्भावना पार्टीका सिंहको मुखबाट न ‘हुन्छ’ भन्ने बोली फुट्यो न ‘हुन्न ।’ प्रतिनिधि सभा चुनावमा पराजित सिंहलाई कांग्रेसले आफ्नै मतमा राष्ट्रिय सभा सांसद बनाएको थियो ।

त्यसपछि बराबरी मत परिणाम आएपछि सदनको अध्यक्षता गरिरहेका उपाध्यक्षले निर्णायक मत दिनुपर्ने अवस्था सिर्जना भयो । उनी कांग्रेसबाट उपाध्यक्ष बनेका कारण पाण्डको पक्षमा मतदान गर्ने कुनै सम्भावना थिएन । उनले पाण्डेको विपक्षमा मतदान गरेपछि एकातिर ३० पुग्यो भने पाण्डे चाहिँ २९ मै अड्किँदै पराजित घोषित भए । संसदीय कालखण्डमा त्यसरी बराबरी मत भएपछि अध्यक्षता गर्ने व्यक्तिले मतदान गर्नुपरेको पहिलो घटना थियो ।

विजयको माला पहिरिने सपना चकनाचूर भएपछि पाण्डे निकै आक्रोशित मात्र होइन कि आरोप–प्रत्यारोपमै उत्रेका थिए । अर्थात् उनले त्यो हारलाई स्वाभाविक रूपमा लिएनन् । उनले प्रतिनिधि सभामा जसरी नै राष्ट्रिय सभामा पनि ‘फोहोरी खेल’ भएको आरोप लगाए । उनको टिप्पणी थियो, ‘यो दुर्भाग्य हो कि दोस्रो प्रतिनिधि सभाकालमा देखिएका फोहोरी खेल समाप्त भयो भन्ने ठानेको थिएँ । तर त्यसलाई राष्ट्रिय सभामै प्रवेश गराइयो ।’

अनि २०४८ देखि २०५६ असार पूर्वसम्म राष्ट्रिय सभामा कांग्रेसको बहुमत थियो । २०५६ असार १३ मा स्थानीय तहबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने चुनावमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धन बनेपछि कांग्रेसले बहुमत गुमाउन पुगेको हो । राष्ट्रिय सभा पनि त्रिशंकू बनेपछि अप्ठ्यारो परिस्थिति देखापरेको हो ।
२०५४ फागुनपछि अलग–अलग ध्रुवमा उभिएका एमाले–माले पाण्डेलाई मतदान गरिरहँदा एक हुनु आफैँमा विचित्रकै राजनीतिक दृश्य थियो । माले–एमाले, दुवैले तीस वर्ष प्रजातन्त्रका लागि लडेका वासुदेव रिसालको विकल्प राजाबाट मनोनीत सांसद पाण्डेलाई रोजेपछि एमाले–मालेको ‘क्रान्तिकारी छवि’ अलिकति दाग लागेको टीकाटिप्पणी सुन्नु परेको थियो ।

राजनीतिबाट आस्था, निष्ठा, सिद्धान्त, दर्शन हराउँदै गएको आलोकमा अझ पनि ठूला दल होइन कि सानैले भाग्य अजमाउन सक्छन्, डा. मोहम्मद मोहसिनले जसरी नै ।

त्यसो त, पाण्डेले एमाले मात्र होइन कांग्रेसलाई पनि खेलाएकै हुन् । २०५५ मा गिरिजाप्रसाद कोइरालाले आफ्नो मन्त्रिमण्डलमा उनलाई सामेल गराएका थिए । उनी पञ्चायतकालमा दुई पटक र बहुदलकालमा दुई पटक राजाबाट मनोनीत हुने एकाध ‘भाग्यमानी’मध्ये हुन् । दरबार शक्तिशाली हुँदा उनी मन्त्रीको कुर्सीमा पुगेकै हुन् ।
पहिलो चुनावमा मोहसिनले जम्माजम्मी पाँच मत पाएका थिए । उनले आफ्नै पार्टी राप्रपाको ३ र विभाजित राप्रपा (चन्द)को २ मत पाएका थिए भने उनको विपक्षमा ५१ मत परेको थियो । उनलाई मालेका तीन जना सांसदले पनि मत दिएका थिएनन् । दोस्रो चुनावमा उनको भाग्य बदलिएको थियो, वास्तवमा त्यो अद्भुत राजनीतिक घटनाक्रम थियो ।

चुनाव हो, कसले कतिखेर मत बदल्छन् या ‘नाटक’ गर्छन् भन्ने भेउ पाउन सकिँदैन । मतदान नसकिँदासम्म कस्तो परिणाम आउँछ भन्न सकिँदैन । किनभने कुनै बेला आफ्नै भनिएकाले पनि मत दिँदैनन् । सरकार जोगिने स्पष्ट बहुमत हुँदाहुँदै २०५३ फागुन २३ मा शेरबहादुर देउवा आफ्नै दुई सांसद गायब भएपछि प्रधानमन्त्रीको कुर्सीबाट बाहिरिन पुगे । एकाएक कांग्रेसका सांसदद्वय चक्रबहादुर शाही र दीपकजंग शाह अनुपस्थित भएपछि देउवाको अंक १०१ मा सीमित रह्यो । सरकार जोगाउन अंक १०३ आवश्यक थियो ।

भर्खरै मात्र प्रमुख विपक्षी कित्तामा पुगेको कांग्रेसले पुष्पकमल दाहाललाई मत दियो । अब राष्ट्रपति र उपराष्ट्रपतिको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने कसरत चर्कैसँग चलेको छ । चुनावी परिणाम आउँदासम्म मुलुकको राजनीति र गठबन्धनले कुन रूप लिन्छ भन्ने आँकलन गर्न सकिने परिस्थिति छैन ।

ठूला दललाई राष्ट्रपति चाहिएकै छ । त्यही चाहना पूरा गर्न कांग्रेसले दाहाललाई समर्थन गर्न पुग्यो । अनि त्यसभन्दा अघि नै उत्तर–दक्षिण फर्किएका एमाले–माओवादी गठबन्धन सरकारकै निम्ति नयाँ गठबन्धन गर्न पुगे । आलंकारिक राष्ट्रपतिले शक्ति प्रयोग गरी राजनीतिक उतार–चढाव निम्त्याएपछि त्यो पदको अत्यधिक आकर्षण बढेको छ । गैरसंवैधानिक तरिकाबाट शक्ति खेलाउने योजनानुरूप त्यो पदका निम्ति मरिहत्ते गरिँदै छ ।

पञ्चायतकालीन संविधानमा ‘श्री ५ बाट चाहिबक्सेमा’ जे पनि हुन सक्थ्यो । यतिखेर संविधानमा त लेखिएको छैन, तर राष्ट्रपतिले ‘चाहेमा’ के गर्न सकिँदैन र ? रातारात संविधान उल्लंघन गरी प्रतिनिधि सभा नै विघटन गर्न सकिन्छ, त्यो पनि एक पटक होइन, दुई पटक । राष्ट्रपतिले ‘चाहेमा’ सरकारी निर्णय अनुमोदनका लागि रात–मध्यरात ढोका खुला हुन्छ । तर, राष्ट्रपतिले ‘नचाहेमा’ सरकारद्वारा पारित निर्णय उल्टाउन सकिन्छ । सरकारका निर्णयलाई शीतल निवासमै चिस्याउन सकिन्छ । तिनै दृश्यात्मक आलोकमा जसरी पनि राष्ट्रपति पद आफ्नो पोल्टामा पार्ने रणनीतिक दाउपेच भित्रिएको हो ।

२३ वर्षअघिको राष्ट्रिय सभा चुनाव जस्तै कसको र कसरी पदीय भाग्य अन्मिन्छ ? ठम्याउन कठिन छ । राष्ट्रिय सभा अध्यक्षका निम्ति भएको त्यो बेलाको रणनीतिक दाउपेच हेर्दा ठूलाले होइन, साना वा च्याँखे दाउ थाप्नेहरूको पोल्टामा राष्ट्रपति पद पुग्ने सम्भावना पनि उत्तिकै छ । त्यहीकारण हुनुपर्छ, राजनीतिलाई सम्भावनाकै खेल भनिएको होला । राजनीतिबाट आस्था, निष्ठा, सिद्धान्त, दर्शन हराउँदै गएको आलोकमा अझ पनि ठूला दल होइन कि सानैले भाग्य अजमाउन सक्छन्, डा. मोहम्मद मोहसिनले जसरी नै ।
 

र, पढनुहोस् डायरीका यसअघिका यी पाना :

डायरी- १५ : लोकतन्त्रपछि दलहरू यसरी पसे पैसातन्त्रमा

डायरी- १४ : नेपाललाई ‘स्वीजरल्यान्ड’ बनाउने त्यो कानुनको कथा

डायरी- १३ : भ्रष्टाचारको जालो तोड्न खोज्‍ने मन्त्री जो आफैं पदमुक्त हुनुपर्‍यो

डायरी- १२ : ती होमनाथ दाहाल र यो संसदीय बेहाल

डायरी- ११ : २१ वर्षपछि पनि उस्तै नारा, उस्तै पारा

डायरी- १० : २४ वर्षअघि आजैका दिन प्रधानमन्त्री चन्दको मुखबाट ‘मुसा’ निस्केपछि...

डायरी- ९ : इतिहास दोहोरियो भने, कांग्रेस-एमालेबीच ‘मेल’

डायरी- ८ : माधव नेपाल- देउवा सरकार ढाल्नदेखि बचाउनसम्म

डायरी- ७ : विरोधको रिपोर्ट, रिपोर्टको विरोध : पुरुष सांसद सुत्केरी भएकै थिए त ?

डायरी- ६ : हृदयेशको हिन्दीले जब संसद्‌मा हंगामा भो

डायरी- ५ : सदनभित्र अमिलो-पीरो अनुहारमा भीष्म पितामह

डायरी- ४ : प्रधानमन्त्री देउवालाई विश्‍वासको दुई मत नपुगेपछि जे भयो

डायरी- ३ : यता सिंहदरबारबाहिर छत्तीसे कुरेको कुर्‍यै, उता प्रतिनिधि सभा विघटन

डायरी- २ : सकुशल उपसभामुख महन्थ ठाकुरलाई ‘स्‍लाइन पानी’ दिएपछि...

डायरी- १ : प्रधानमन्त्री कोइरालालाई ‘पानीमा विष’ पिलाएको शंकापछि...

 


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x