विचार

संसदीय संवाददाता डायरी- १८

प्रधानमन्त्री किसुनजीले राजीनामा गर्दा संसद्‌मा जे देखियो

हरिबहादुर थापा |
चैत ३, २०७९ शुक्रबार ७:५० बजे

‘यो सतीले सरापेको मुलुक हो, जहाँ योग्य, असल, इमानदार र क्षमतावान् मानिसको कहिल्यै भलो हुँुदैन ।’ २०५६ चैत ३ अर्थात् आजभन्दा ठीक २३ वर्षअघि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राजीनामा गर्दै गर्दा यही वाक्य लागू भए झैँ प्रतीत हुन्थ्यो । हिजोआज राजीखुसीले राजीनामा खासै देखिँदैन, भलै ‘नैतिकताका आधारमा’ भनेर अनैतिकता ढाकछोप गर्ने चेष्टा किन नगरिएको होस् ।

भीम मल्ल र भीमसेन थापाले भोगेको अभिशप्त कथा सुनाउँदै भट्टराईले प्रतिनिधिसभाको रोस्ट्रमबाट राजीनामा घोषणा गरे । त्यो चैत ३ पछि इमानको इतिहासमा र अपमानको अध्यायमा किसुनजीको यो सन्दर्भ पनि थपियो ।


उनले त्यसरी राजीनामा घोषणा गरिरहँदा सत्तारुढ दलतिरभन्दा विपक्षतिरका नेता÷सांसद भावुक बनेका थिए । इतिहास र परम्परा त प्रधानमन्त्रीले राजीनामा दिँदा प्रतिपक्षी दल बेजोड खुसी हुने हो । त्यो दिनको दृश्य निकै फरक देखियो, उनीहरू भावुक बन्न पुगे । त्यो दिन मन्त्री र भट्टराई निकट सांसदका आँखामा आँसु छचल्किएको संसदीय पत्रकार दीर्घाबाटै देख्न सकिन्थ्यो ।
 
उता सत्तारुढ कांग्रेसका बहुमत सांसद चाहिँ भित्र–भित्रै खुसी देखिन्थे । कांग्रेसका बहुमत सांसदले भट्टराई हटाउनकै खातिर संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए, जसमा मतदानबेगरै निर्णय आएपछि खुसी देखिन पुगेका हुन् ।

संसदीय रेकर्डमै भट्टराईका मार्मिक वाक्यांश दर्ज छ, ‘देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिशप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाइँको तात्पर्य कुटिल राजनीतिका खेलहरूको विर्सजन र पारदर्शिताको प्रदर्शन हैन ?’

हो, हाम्रो मुलुक अभिशप्त इतिहासकै शृंखलामा निरन्तर छ । यो मुलुकमा भ्रष्ट, बदमास, दुराचारी, पापाचारीहरूकै रजगज चल्छ । भट्टराई जस्ता त्यागी र बागी नेताहरू त्यही अभिशप्त इतिहासकै शिकार बन्छन् । ‘२०५६ चैत ३’ पनि इतिहासमा दर्ज अभिशप्त घटनामध्ये एक हो । भीम मल्ल दण्डित भएझैँ भट्टराई पनि दण्डित हुन पुगे, त्यो पनि विपक्षीको अविश्वास प्रस्तावका कारण होइन । आफैँले कठिन घडीमा जेलनेल बस्दै हुर्काएको र बढाएको कांग्रेसका महत्वकांक्षी नेता तथा सांसदहरूका कारण ।

त्यो दिन, बिहान ११ बजे प्रतिनिधिसभाको बैठक डाकिएको थियो । तर, ४ बजेसम्म पनि बैठक बस्ने गरी घन्टी नबजेपछि के हुन्छ ? भन्ने अन्यौल थियो । अन्यौलबीच सदनमै उनको राजीनामा आयो ।

भट्टराईलाई टिक्ने नदिने खेल
२०५६ को संसदीय निर्वाचनमा उनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै कांग्रेसले सुविधाजनक बहुमत प्राप्त गरेको थियो । पार्टीको गिर्दै गएको साखमा भावी प्रधानमन्त्रीमा भट्टराई बहुप्रचारित भएपछि कांग्रेसले बहुमत हासिल गरेको थियो । तर, धेरैलाई पहिल्यै लागिसकेको थियो कि मत पाइसकेपछि उनलाई गिरिजाप्रसाद कोइरालाले छाड्ने छैनन् । किनभने आफूभन्दा ‘जुनियर नेता’ शेरबहादुर देउवालाई २०५३ फागुनमा संकटमा पार्दै किनारा लगाएको अभिशप्त इतिहास देखापरिसकेको थियो ।

तैपनि भट्टराईकै नाममा मत मागिएको हुँदा लाजगालले पनि उनको खिलापमा कोही उत्रिएनन्, संसदीय दलको नेता चुनिँदै २०५६ जेठ १३ मा प्रधानमन्त्री नियुक्त भए । जब प्रधानमन्त्री भए, त्यसपछि उनलाई असफल तुल्याउने र त्यही बाहनामा हटाउने खेल सुरु भइहाल्यो । यहाँसम्म कि जंगबहादुृर राणापछि नेपालका प्रधानमन्त्रीलाई फ्रान्स भ्रमणको निम्तो आएको थियो । त्यो निम्तो मान्न फ्रान्स जानसमेत दिइएन । भट्टराई थप केही दिन प्रधानमन्त्री रहँदा ‘देशै डुब्छ’ भन्ने माहौल कोइराला र उनका सांसदहरूले देखाए । जुन अतिवादी राजनीतिक सोचको उपज थियो ।

अनि त्यो दिन त्यसरी प्रधानमन्त्री भट्टराईको राजीनामा आउँछ र त्यो पनि सदनमै राजीनामा घोषित हुनेछ भनी सोचिएको थिएन । जब प्रधानमन्त्रीले सदनमा बोल्ने कार्यसूची बाहिर आयो, तब भट्टराई फरक राजनीतिक मोडमा प्रवेश गर्छन् कि भन्ने शंका छायो ।

प्रमुख विपक्षी एमालेले भट्टराईलाई सत्ता नछाड्नू, बरु आफूहरू विश्वासको मत दिन तयार रहेको जनाउ दिइसकेका थिए । सदनमा बोलिरहँदा प्रारम्भमा भट्टराईले राजीनामाको संकेत दिइरहेका थिएनन्, कतै विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने हो कि भन्ने आभास दिँदै थिए । पार्टी सभापति कोइराला स्वयंले आमनिर्वाचन २०५६ पूर्व नै भावी प्रधानमन्त्रीका रूपमा आफ्नो नाम प्रस्ताव गरेको हुँदा आफूमाथि जनताको प्रत्यक्ष अभिमत भएको उल्लेख गरे । भट्टराईका शब्द थिए, ‘यसर्थ मेरो प्रधानमन्त्रित्वमा संसदीय दलको गणित मात्र होइन, जनमत पनि अभिव्यक्त भएको हुँदा, म नेपाली जनताप्रति पनि सोझै उत्तरदायी छु ।’

यो वाक्यसँगै कतै भट्टराईले फेरि जनमत परीक्षण निम्ति प्रतिनिधि सभा विघटन गर्ने हो कि भन्ने आभास हुँदै थियो । किनभने विगतमा पार्टी वा संसद्‌मा कुनै व्यवधान देखापर्‍यो भने प्रतिनिधि सभा विघटन गर्ने शृंखलाबद्ध नियति मुलुकले भागेकै थियो । सँगै भट्टराईका शब्द थिए, ‘चुनावमा भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेर मत मागिएको हुँदा म आज ठूलो नैतिक बन्धनमा परेको छु । कांग्रेस संसदीय दलको गणित आफ्नो ठाउँमा महत्वपूर्ण छ तर कांग्रेसलाई मत दिने जनतालाई मैले के जवाफ दिने ? यो प्रश्न मेरा सामु उपस्थित भएकाले म आज निर्णायक उत्तर खोजिरहेको छु ।’

भट्टराईको त्यो दिनको भाषणमा राजनीतिका कुनै खोक्रा शब्दजाल थिएनन् । प्रत्येक वाक्यांश मार्मिक थियो । ‘वास्तविक प्रजातन्त्र’, भट्टराईका शब्दमा, ‘हाम्रा आचरण र चरित्रमा प्रजातन्त्रका उदात्त गुणहरू सञ्चारित नभएसम्म राष्ट्र उँभो लाग्न र काँचुली फेर्न सक्दै सक्दैन । यो मेरो अटल विश्वास हो । यही विश्वासका खातिर मैले लगभग ६० वर्षदेखि अविराम संघर्ष गरेको छु । एउटा विशुद्ध प्रजातन्त्रवादी र राष्ट्रवादी भएर उभिन खोज्दा मैले पटकपटक अनेक किसिमका घात–प्रतिघात र अन्तर्घात बेहोर्नु परेको छ । तर पनि म विचलित छैन ।’

भट्टराईले करिब २० मिनेट जति भाषण गरे । भट्टराईले भने, ‘मेरो ध्येय प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बस्नु होइन, परिकल्पना पद्धतिको दिशा बदल्नु हो । त्यसका लागि म जुन र जति मूल्य चुकाउन परे पनि चुकाउँछु । अझै त्यागको आवश्यकता छ, त्यो त्याग गर्न तयार म अझै सक्रिय रहनेछु । संयोग, परिस्थिति र नेपाली जनताको विश्वासका कारण म प्रधानमन्त्री भएको हुँ ।’

रोस्ट्रमबाट भट्टराईको भाषण आइरहँदा सदनमा एकतमासको सन्नाटा छाएको थियो । जब भट्टराईले सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले अन्तिम सम्बोधन हुनेछ भन्ने वाक्य बोले, तब राजीनामा नै घोषणा हुँदै छ कि भन्ने अनुमान हुन थाल्यो । भट्टराईले भाषणको अन्त्यमा भने, ‘म आफ्नो पदबाट राजीनामा दिन अहिले नै श्री ५ महाराजाधिराजसमक्ष प्रस्तुत हुन गइरहेको सदस्यहरूलाई यही रोस्ट्रमबाट जानकारी गराउँछु ।’

भट्टराईको भाषण सकिँदै गर्दा मन्त्रीहरू र भट्टराई निकट सांसदहरूले ताली बजाएका थिए, ‘आँसुसहित ।’ उता पार्टी सभापति कोइराला सदनमै उपस्थित रहेर आफूविरुद्ध आएका भट्टराईका मार्मिक प्रहार सुनिरहे । त्यो दिन शेरबहादुर देउवा सदनमा देखिएनन् । सदन प्रवेश गर्दा भट्टराईमा बेचैनीको सानो अंश पनि देखिएको थिएन । सदाबहारको उही हँसिलो मुद्रामै सदन प्रवेश गरेका थिए ।

भाषण सकेर फर्कंदा भने गम्भीर हाउभाउमा थिए । तत्कालै प्रमुख प्रतिपक्षी दलका नेता माधवकुमार नेपाल, उपनेता केपी शर्मा ओली भट्टराईसँग हात मिलाउन आइपुगेका थिए । प्रधानमन्त्रीले राजीनामा दिँदा विपक्षी दल खुसी हुने गर्थे, तर त्यो दिन विपक्षी नेताहरू गम्भीर मुद्रामा पो देखिए ।

विपक्षीसँग हात मिलाएपछि भट्टराई र कोइराला दुवै सदनसँगै जोडिएको प्रधानमन्त्रीको च्याम्बरतिर गए । प्रधानमन्त्रीको च्याम्बरबाहिर संसदीय संवाददाता झुम्मिएका थिए । ‘अब के हुन्छ ?’ कोइरालासँग जवाफ खोज्न आतुर पनि थिए । आधा घन्टापछि कोइराला बाहिरिए र संवाददाताहरूका जिज्ञासामा एक वाक्य मात्र फुत्कियो, ‘पख्नुस्, प्रक्रिया सुरु भएपछि सबै थाहा भइहाल्छ ।’

भट्टराईविरुद्ध मोर्चाबन्दी
भट्टराई प्रधानमन्त्री भएपछि सरकारी काम सकारात्मक ढंगले अघि बढ्दै थिए । सरकारी निर्णय विवादित बनेका पनि थिएनन् ।

उता सशस्त्र युद्धरत माओवादीसँग शान्ति–वार्ता चलेको थियो । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा माओवादीसँगै वार्ता निम्ति अध्ययन हुँदै थियो । त्यतिखेर माओवादी जम्माजम्मी २० जिल्लाभन्दा तलै सीमित थिए । भट्टराई त्यसरी बाहिरिनु नपरेको भए माओवादीसँग शान्ति वार्ता हुँदै सायद युद्ध रोकिन्थ्यो कि पनि ? युद्धसँगै हतियार कमिसन प्राप्तिको खेल पनि थियो । दरबार स्वयं पनि माओवादीसँग वार्ता गर्न इच्छुक थिएन । त्यही पृष्ठभूमिमा कोइराला, दरबार र बाह्य शक्तिसँगको मिलेमतोमा भट्टराईलाई हट्न बाध्य तुल्याइएको टीकाटिप्पणी बाक्लैसँगै आएको थियो । 

त्यो दिन कांग्रेसका तत्कालीन युवा नेता पूर्णबहादुर खड्काको आँखामा स्पष्टसँग देखिने गरी आँसु छचल्किएको थियो । खड्का गृह र सूचना तथा सञ्चार मन्त्री थिए । ‘गिरिजाप्रसादको सत्ता–लिप्सामा अरुले खेले’ त्यो दिन सम्झँदै खड्का भन्छन्, ‘त्यसरी भट्टराईले राजीनामा दिइरहँदा सिंगो संसद्‌ भावुक बनेको थियो । एमालेले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नुस्, सहयोग गर्छौं भनेका थिए, तर भट्टराईले स्वीकार गर्नुभएन ।’

भट्टराईले राजीनामा नदिई विश्वासको मतसम्बन्धी प्रस्ताव राखेको भए सम्भवतः प्रधानमन्त्रीको पद जाने थिएन । ‘त्यसरी प्रस्ताव राखेको भए बहुमत आउनेवाला थियो’ खड्का भन्छन्, ‘तर त्यससँगै कांग्रेसमा विग्रह आउन सक्थ्यो । सम्भावित विग्रहको ख्याल गर्दै उहाँले राजीनामा दिनुभएको हो ।’

हुन पनि पार्टी सभापति कोइराला निकटका सांसदहरू २०५६ फागुनको प्रारम्भबाटै भट्टराईविरुद्ध मोर्चाबन्दीमा ओर्लिइसकेका थिए । २०५६ फागुन ४ मा ५८ जना सांसदहरूले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तिनीहरूले अझ मंसिरमै पनि प्रस्ताव दर्ता गर्ने योजनानुरूप हस्ताक्षर संकलनमा थिए । त्यति मात्र होइन, भट्टराईलाई अप्ठ्यारो पार्न फागुन ६ मा ११ मन्त्रीको राजीनामा आयो ।

निर्माण तथा यातायात मन्त्री खुमबहादुर खड्काको नेतृत्वमा गोविन्दराज जोशी, महन्थ ठाकुर, डा. रामवरण यादव, तारिणीदत्त चटौत लायतका मन्त्रीहरूले राजीनामा दिएका थिए । उनीहरू उतिखेर ‘कोइरालाभक्त’का रूपमा चिनिएका थिए । सत्ता–उन्मादी कांग्रेस सांसदहरू कोइरालाको इसारामा चल्थे । तिनले संसदीय दलमा भट्टराईले बहुमत गुमाएको हुँदा राजीनामा एक मात्र विकल्प भएको जिकिर गरे । मन्त्रीहरुको राजीनामासँगै भट्टराई सरकार संकटमा पर्ने नै भयो ।
 
अविश्वास प्रस्ताव र मन्त्रीको राजीनामापछि कांग्रेसमा विग्रह देखापरेकै थियो । भट्टराईको जम्माजम्मी एउटा मात्र सर्त थियो, ‘फ्रान्स भ्रमणपछि राजीनामा दिनेछु ।’ त्यति भन्दा भन्दै पनि भट्टराई विरोधी सांसदको संख्या बढ्दै गयो । फेरि चैत लाग्नासाथ कांग्रेसका ६९ सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव राखे । उक्त प्रस्तावमा छलफल हुनु अघिल्लो दिन नै संसद्‌को रोस्ट्रमबाट राजीनामा घोषणा भएको हो ।

त्यो दिन, भट्टराईको राजीनामा मन्तव्यसँगै निष्कर्षमै पुर्‍याएको थियो, ‘सतीले सरापेको मुलुक...।’ यो मुलुकमा त्यागी र इमानदार व्यक्ति जति पीडित हुन्छन्, सत्ता–लिप्सावाला, बदमास्, भ्रष्ट, बेइमानहरूकै रजाइँ चल्छ । यो देशले त्यही नियति भोगिरहनुपरेको छ ।

यस्तै दृश्यबाट आजित हुँदा कवि कृष्णभूषण बललाई ‘बाध्यताको इतिहास’ कविता फुरेको हुनुपर्छ । २३ वर्षअघि चैत ३ दिनमा देखिएको संसदीय घटनाको डायरीलाई कवि बलकै कविताका हरफसँगै बिट मार्छु ।
‘अमरसिंह थापाले विष खाएर मर्नुपर्ने
वीर बलभद्रले अफगानमा युद्धमा मर्नुपर्ने
काजी भीम मल्लले काटिनुपर्ने
भीमसेन थापाले सेरिनुपर्ने, बाध्यताको इतिहास’​

कृष्णप्रसाद भट्टराईको त्यो राजीनामा मन्तव्य
सभामुख महोदय, 
यहाँ उत्पन्न भइरहेको वर्तमान राजनीतिक तन्त्रले समग्र नेपाललाई प्रभाव पारेको छ । मुलुक नसोचिएको संकटको अवस्थामा छ । यो संकटको अवस्थाको कारण कहीं बाहिर छैन– हामीभित्र नै छ । यसमा पद्धतिको कुनै दोष छैन । हाम्रो प्रवृत्ति दोषी छ । प्रजातन्त्रमा हुने राजनीति र गैरप्रजातान्त्रिक अवस्थामा हुने राजनीति एकै किसिमको हुँदैन । तर, हाम्रो राजनीतिका केही पात्रहरूले दुवैलाई एकै ठानेको प्रतीत हुन्छ ।

प्रजातन्त्रको राजनीतिमा मूल्य, पद्धति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासन पद्धति निर्धो हुन जान्छ र आजको हाम्रो संकट पनि त्यही नै हो । हाम्रो प्रजातन्त्रका संचालकहरू भनेका हामी नै हौं, त्यसैले यदि हामीभित्र अवाञ्छित र अनियन्त्रित राजनीतिक उच्चाकांक्षा छ भने यस संकटका कारक पनि हामी नै हुन्छौं । पद्धति राम्रो छ तर त्यस अनरूप हाम्रो व्यवहार राम्रो छ कि छैन ? यो प्रश्न आज हाम्रो सामुन्ने उपस्थित भएको छ तथा त्यसको उत्तर पनि हामीले नै दिनुपर्छ ।

अहिले प्रधानमन्त्रीको रूपमा मेरो नेतृत्वमाथि संकट आइपरेकाले त्यसबाट बच्न म यी कुराहरू गरिरहेको छैन । किनभने, मेरो राजनीतिको ध्येय प्रधानमन्त्रीको कुर्सीमा बस्नु थिएन । मेरो ध्येय प्रजातन्त्रको निम्ति र समृद्ध समुन्नत नेपालको निर्माण थियो । संयोग, परिस्थिति र नेपाली जनताको विश्वासका कारण म प्रधानमन्त्री भएको हुँ । त्यसमा अन्तरिमकालको प्रधानमन्त्री बन्नुमा सर्वोच्च नेता गणेशमानजीको सदिच्छा पनि समावेश थियो र त्यसपटक मैले आफूमाथि आएको जिम्मेवारी पूरा निष्ठाकासाथ सम्पन्न गरेको थिएँ । यसपटक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला स्वयंले आमनिर्वाचन २०५६ पूर्व नै भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेको कुरा सर्वविदित छ ।

सम्भवतः यही कारणले पनि हाम्रो पार्टी नेपाली कांग्रेसले सुविधाजनक बहुमत हासिल गर्न सम्भव भएको हो । यद्यपि, म यस कुरामा विशेष बल गर्न चाहन्न तापनि मेरो प्रधानमन्त्रीत्वमा जनताको प्रत्यक्ष अभिमतसमेत अभिव्यक्त भएको छ । यसर्थ मेरो प्रधानमन्त्रीत्वमा संसदीय दलको गणित मात्र होइन, जनमत पनि अभिव्यक्त भएको हुँदा, म नेपाली जनताप्रति पनि सोझै उत्तरदायी छु । चुनावमा भावी प्रधानमन्त्रीका रूपमा मेरो नामको प्रस्ताव गरेर मत मागिएको हुँदा म आज ठूलो नैतिक बन्धनमा परेको छु । कांग्रेस संसदीय दलको गणित आफ्नो ठाउँमा महत्वपूर्ण छ तर कांग्रेसलाई मत दिने जनतालाई मैले के जवाफ दिने ? यो प्रश्न मेरा सामु उपस्थित भएकोले म आज निर्णायक उत्तर खोजिरहेको छु ।

मेरो आ–नै पार्टीका सांसदहरूसित मेरो नाममा मागिएको मत पनि छ । उहाँहरूलाई चुन्ने जनताको मतमा मेरो पनि अंश छ । नेपाली कांग्रेसले, नेपाली कांग्रेसका सभापतिले, नेता र कांग्रेसका तमाम सदस्यहरूले जनतासमक्ष र देशका समक्ष गरेका वाचाहरूको स्मरण गर्ने आग्रह गरेको हुँ । किनभने, भोलि म हट्नासाथ त्यसको जवाफ नेपाली कांग्रेसले दिनैपर्ने हुन्छ । मेरो ठाउँमा प्रधानमन्त्री हुने व्यक्ति पनि यस प्रहारबाट बच्न सक्नेछैन र म स्वयं पनि त्यो प्रश्नको परिधिभित्रै हुनेछु ।

यसर्थ, म यी विचारहरू सम्मानित सदनसमक्ष राखिरहेको छु । नेपाली कांग्रेसको आन्तरिक राजनीतिलाई सदनको चर्चाको विषय बनाउने मेरो ध्येय किमार्थ होइन । तर, मेरो आग्रह के हो भने प्रधानमन्त्री बन्न म जस्तो पूर्वघोषित व्यक्तिले नेपाली जनताका प्रतिनिधिहरूबाट बनेको संसद्‌समक्ष आ–ना विचारहरू राख्न पाउनुपर्छ । अहिले यस विषयमा यहाँबाट निर्णय हुँदैन, त्यो मलाई थाहा छ– तर, मेरो जिज्ञासा राष्ट्रसमक्ष यथानरूप पुगोस् र यसले राष्ट्रको चेतनालाई सम्बोधन गरोस्, यस्तो मेरो इच्छा छ ।

यावत् प्रतिकूल परिस्थितिका बाबजुद हाम्रो सरकारले देशका प्रँथमिकताका रूपमा रहेका कार्यहरूलाई गति दिने प्रयत्न गरिरहेको छ । मुलुकमा सुशासन सुनिश्चित गर्नका लागि भ्रष्टाचार निवारण गर्ने दिशामा सरकार गम्भीर हुनाका साथै विधि व्यवस्था काम गर्ने उपायहरू अवलम्बन गरिंदैछन् । मैले भ्रष्टाचार निर्मूल गर्ने संकल्प गरेको हुँ । पार्टी संस्थापन पक्षले यसका पक्षमा जनमत बनाउने काम गर्नु स्वाभाविक हुन्थ्यो किनभने मैले त ढिलो–चाँडो अवकाश लिनै पर्दथ्यो । त्यसले मेरा उत्तराधिकारीलाई स्वच्छ शासन दिन सजिलो हुन्थ्यो ।

झण्डै १० महिना अगाडि म प्रधानमन्त्रीको पदमा नियुक्त हुँदा यो मुलुक अस्थिर शासन र सत्ताको फोहोरी खेलबाट उत्पन्न विकृति र विसंगतिहरूको पीडाले छटपटिइरहेको थियो । त्यसबखत नेपाली कांग्रेसलाई बहुमत दिलाएर नेपाली जनताले मुलुकलाई स्थिरता र सुशासन प्रदान गर्ने अभिमत प्रकट गरेको थियो । नेपाली कांग्रेसले मलाई प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा प्राप्त गरेको त्यो जनादेशको पालना हामीले कति उत्तरदायित्वपूर्र्ण ढंगले गर्दै आयौं आफूले आफैँसँग प्रश्न गर्नुपर्ने भएको छ । 

म प्रधानमन्त्री बनेको दुई तीन हप्ता नबित्दैदेखि मेरो खिलाफमा सुरु भएको कचमच आज साँच्ची नै यो मुलुकको राजनीतिक स्थिरता उपर प्रश्नचिन्हको रूपमा र सुशासनको दिशामा एउटा अड्चनको रूपमा तेर्सिएको मैले अनुभव गरेको छु । किनभने जब–जब सरकारले यो देशको प्रगतिको बाधक भ्रष्टाचार र कमिशनतन्त्रमाथि प्रहार गर्न शुरु गरेको हुन्छ, जब एयरपोर्टदेखिका तस्करहरू कमाउन नपाएर अत्तालिएका हुन्छन्, जब सरकार निमुखा जनतालाई न्याय दिने कार्यक्रमकासाथ सुशासनको दिशामा अगाडि बढेको हुन्छ, जब प्रतिपक्षका साथ सौहार्दपूर्ण छलफल गरेर ‘यो देश सबैको साझा हो, त्यसैले सबै मिलेर बेथिती हटाऊँ, पारदर्शिता ल्याऊ अनि हिंसा र आतंक रोकौं भनेर नयाँ–नयाँ पहलहरू शुरु भएका हुन्छन्, तब–तब यहाँ अस्थिरताका ज्वारभाटा किन उठ्ने गर्छन् ? मैले बुझ्न सकेको छैन ।

यो मुलुकमा २०५२ सालदेखि सबैको चिन्ताको विषय बनेको कथित माओवादी जनयुद्ध र हिंसाको खेल खेल्नेहरू वार्ताको टेबुलमा आएर समस्याको टुंगो लगाउन तयार भई जुन बेला प्रतिनिधि खटाइरहेका हुन्छन्, त्यही मौका पारेर अविश्वासको तानावाना किन बुनिइरहेको हुन्छ ? आर्थिक वृद्धिदर, निर्यात व्यापार, मूल्य स्थिति, विदेशी मुद्राको संचितिजस्ता आर्थिक परिसूचकहरूमा उत्साहजनक उपलब्धिहरू विगत १० महिनामा हासिल भएका छन् । 

मानवअधिकार आयोगको स्थापनाको तयारीमा छौं । यसबीच वर्षौंदेखि नेपालको लागि टाउको दुखाई बनिरहेको भूटानी शरणार्थी समस्या समाधानका लागि नेपाल भूटान वार्तामा धेरै प्रगति भएको छ । संयुक्त राष्ट्रसंघको मानव अधिकार आयोगको अध्यक्षमा नेपाल निर्वाचित हुन लागेको बेला, नर्वेजियन दूतावासको स्थापना तथा प्रजातान्त्रिक नेपालको प्रधानमन्त्रीको पहिलो औपचारिक फ्रान्स भ्रमणको आमन्त्रण, विगत दश महिनाकै अवधिमा नेपालको प्रधानमन्त्रीको उपलब्धिपूर्ण बेलायत भ्रमण, खासगरी गोर्खा सैनिकहरूको पेन्सनमा भएको वृद्धि तथा निकट भविष्यमा हुन गैरहेको बेलायतका विदेशमन्त्रीको नेपाल भ्रमण, काठमाडौंमा साफ गेमको अभूतपूर्व सफलता, वातावरण सुधारमा आएको सुधार, मूल्यवृद्धिमा भएको नियन्त्रण आदि प्रसंगहरूले नेपालको अन्तर्राष्ट्रिय छवि प्रबद्र्धनमा उपलब्धि भैरहेको बेला सत्ता परिवर्तनको हतार देख पर्नुले के कुरातर्फ संकेत गर्छ ?

देशभक्ति दण्डित हुने भीम मल्ल र भीमसेन थापाका कथा र व्यथाहरूको अभिसप्त इतिहासबाट हामी नेपालीले कहिले गएर छुटकारा पाउने हो ? के प्रजातन्त्रको लडाईंको तात्पर्य कुटिल राजनीतिका खेलहरूको बिर्सजन र पारदर्शिताको प्रदर्शन हैन ? हामी नेपालीहरूले पचासौं वर्षदेखि राजनीतिलाई एउटा मर्यादाको सीमामा उभ्याउन र मूल्य एवं मान्यतामा आधारित गराउन प्रजातन्त्रको आराधना गरेका हौं । वास्तबिक प्रजातन्त्र कायम नभएसम्म, हाम्रा आचरण र चरित्रमा प्रजातन्त्रका उदात्त गुणहरू संचारित नभएसम्म राष्ट्र उभो लाग्न र काँचुली फेर्न सक्दै सक्दैन । यो मेरो अटल विश्वास हो ।

यही विश्वासका खातिर मैले लगभग ६० वर्षदेखि अविराम संघर्ष गरेको छु । एउटा विशुद्ध प्रजातन्त्रवादी र राष्ट्रवादी भएर उभिन खोज्दा मैले पटक पटक अनेक किसिमका घात–प्रतिघात र अन्तर्घात बेहोर्नु परेको छ । तर पनि म विचलित छैन । भविष्यका सन्ततिहरूलाई सन्मार्गतर्फ उन्मुख गराउने आ–नो कर्तव्यको पालन म निरन्तर गरिरहन चाहन्छु । मेरो जीवन मूल्य भनेको नै आस्थाको राजनीति हो । यदि आस्था र निष्ठाको राजनीति, सिद्धान्त र आदर्शमा आधारित राजनीति साँच्चिकै बिसर्जित हुने हो भने भन्नुपर्छ यो राष्ट्रको भविष्य छैन र यहाँ प्रजातन्त्रको कल्पना गर्न सकिन्न । त्यसैले म मुलुकभरका समस्त प्रजातन्त्रवादी र विशेषगरी नेपाली कांग्रेस लगायत सबै राजनीतिक दलका साथीहरूलाई सचेत गराउन चाहन्छु कि यसतर्फ ध्यान दिऊ कि हाम्रो मिशन कतै हराउने त हैन ? हाम्रो पहिचान नै बिलुप्त हुने त हैन ?

मैले अब यो राष्ट्रको नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भनेर प्रस्तावित गरेको छु । त्यो यस निमित्त कि मुलुकले अब साँच्चिकै नयाँ मोड लिन सकोस् । यो राष्ट्रका दीन जनताले राहतको सास फेर्न पाऊन् । सौभाग्यले हामीसँग केही त्यस्ता मानिसहरूको एउटा पुस्ता खडा छ, जसले प्रजातन्त्रको मूल्यमा कहिल्यै कुनै सम्झौता गर्न जानेन, जसले कहिल्यै प्रजातन्त्रको विकल्प खोजेर भौतारिंदै हिंडेन । त्यो पुस्ताले आ–नो सारा जवानीलाई जेल, नेल र प्रवासका अँध्यारा कुनाहरूमा सहज समर्पण गरेको मात्र हैन, उत्तरदायित्व पाएका बखत जस्तै जटिल र कठिन खुड्किलाहरूलाई पनि कुशलतापूर्वक पार गरेर आ–नो इमान्दारी, निष्ठा र क्षमताको प्रदर्शन गरिसकेको छ ।

यदि यो प्रजातान्त्रिक आन्दोलनको कुनै भविष्य छ भने त्यही पुस्ताको हातमा त्यो भविष्य सुरक्षित छ । हामी यहाँ कैयौं व्यक्तिलाई किटेर देखाउन सक्छौं जसलाई कसैले पनि औंला ठड्याउन सकेका छैनन् । इतिहासको परीक्षाबाट खरो उत्रिसकेको त्यो पंक्तिलाई पनि हल्का ढंगले प्रस्तुत गर्ने र अवमूल्यन गर्ने जुन खेल र प्रचारबाजी यहाँ चलिरहेको छ, त्यो अरु केही नभएर नेपाली कांग्रेसलाई नेतृत्वको संकटमा पुझयाएर प्रजातन्त्रलाई नै कमजोर तुल्याउने एउटा षड्यन्त्र हो भनेर म स्पष्ट पार्न चाहन्छु ।

मेरो ध्येय प्रधानमन्त्रीको कुर्सीमा टाँसिएर बस्नु होइन, परिकल्पना पद्धतिको दिशा बदल्ने हो । त्यसका लागि म जुन र जति मूल्य चुकाउनु परे पनि चुकाउँछु । त्यस्तै नेपालको प्रजातान्त्रिक आन्दोलन र प्रजातान्त्रिक अभ्यासमा नेपाली कांग्रेसले निर्वाह गरेको भूमिकालाई निर्वाध र अविच्छिन्न राख्नका लागि म अझै पनि जति त्यागको आवश्यकता छ, त्यति त्याग गर्न तयार र सक्रिय रहनेछु । पार्टी एकताका लागि विगतमा मैले धेरैपटक प्रशस्तै अपमान र तिक्तता सहेको छु । तर, मेरो निवेदन छ– मेरो निष्ठाका विरुद्ध प्रयोग भइरहेको दुष्प्रचारसँग असहमति जनाउनु मेरो कर्तव्य हो भन्ने ठानेर आ–ना कुरा राख्न म आज सदनमा उभिएको छु । यसोभन्दा मेरो कसैकाप्रति दुर्भावना छैन । यसर्थ मेरो यस सम्बोधनलाई अन्यथा नलिई दिन म विनम्रतापूर्वक आग्रह गर्दछु ।

मेरो आन्तरिक र हार्दिक इच्छा के छ भने हामी हाम्रो राष्ट्रियता र प्रजातन्त्रप्रतिको प्रतिबद्धतासाथ कर्तव्यनिष्ठ भई काम गरौं । त्यसका लागि यदि सरकारको नेतृत्व परिवर्तनको आवश्यकता छ भने म हरहमेशा तयार छु । मैले जीवनभर मूल्यको राजनीति गरेको छु र प्रजातान्त्रिक मूल्य पद्धतिको रक्षाका लागि मेरो सेवा कति चाहिन्छ म त्यति गर्न अझै तयार छु । नेपालको गौरब र प्रजातन्त्रको सम्बद्र्धन मेरो ध्येय हो, उद्देश्य हो र एकनिष्ठ विचार हो । मलाई विश्वास छ– नयाँ समयको चुनौती थेग्न सक्ने पुस्ता तयार भइसकेको छ र त्यो पुस्ताको हातमा देशको नेतृत्व सुम्पने मेरो हार्दिक इच्छा पूरा हुनेछ । मेरा लागि मानिस कोही प्रिय वा अप्रिय छैनन् । मेरो लागि नेपाल प्रिय छ, धेरै प्रिय छ । यसका साथै प्रजातन्त्र प्रिय छ र मेरो आँखामा समुन्नत नेपालको सपना छ । त्यो सपना नयाँ पुस्ताले पूरा गर्न सक्छ भन्ने मलाई पूरा विश्वास छ ।

सम्भवतः यो सदनमा प्रधानमन्त्रीका हैसियतले मेरो यो अन्तिम सम्बोधन हुनेछ । यस अवधिमा संसद्‌का सभामुख–अध्यक्ष र विपक्षी दलका नेताहरू र मेरा आ–ना दलका सबै साथीहरू र समस्त नेपाली जनता लगायत सबै माननीय सदस्यहरूले मप्रति प्रकट गर्नुभएको सहृदय र सौहार्दपूर्ण सहयोगका लागि हार्दिक आभार प्रकट गर्दछु र म आ–नो पदबाट राजीनामा दिन अहिले नै श्री ५ महाराजाधिराजसमक्ष प्रस्तुत हुन गैरहेको कुरा माननीय सदस्यहरूलाई यही रोष्ट्रमबाट जानकारी गराउँछु ।
(प्र.म. भट्टराईले गत ३ गते प्रतिनिधि सभामा दिनु भएको लिखित वक्तव्य–सं.)

र, पढनुहोस् डायरीका यसअघिका यी पाना :


Author

हरिबहादुर थापा

संसद्, शासन र राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x