विचार

चुनावी माहोलमा देखिएका नयाँ दृष्टिकोण

विनोद भण्डारी |
बैशाख १०, २०८० आइतबार १३:३२ बजे

- पढेलेखेको र देश दुनियाँ बुझेको मान्छे
बुढानेताहरूलाई विस्थापित गर्नुपर्छ भन्ने बहसमा केही परिवर्तन आउँदै छ । आन्दोलन गर्न मात्र जानेका भन्दा पनि विज्ञता भएका, पढेलेखेका, देश दुनियाँ बुझेका युवाहरू नयाँ तन्नेरी मतदाताको रोजाइमा पर्नेछन् । यसका पछाडि केही कारणहरू छन् । 

पहिलो कारण हो, तन्नेरीहरूमा फेरिँदै गएको वस्तुनिष्ठ दृष्टिकोण । बिपीले जमानामा यसो भन्थे भनेर गौरवगान गर्ने नेतालाई अबका तन्नेरीले किन विश्वास गर्छन् ? दश वर्षको महान् जनयुद्ध गरेका थियौं भन्नेहरूप्रति अबका नवयुवालाई के चासो ? जब आम जनताका वास्तविक समस्याहरू ‘अब्जेक्टिभ्ली’ यसरी समाधान गर्छु भन्न सक्दैन भने । मदन भण्डारीको नाम लिदै वर्षौं जेलनेल काटेर आएका हौं भन्नेहरूप्रति अबका तन्नेरीहरू किन आकर्षित हुनु ? जब जनजीविकाका तत्कालीन समस्याहरूलाई नजरअन्दाज गरेर दशकौंपछिको योजना मात्रै फलाक्छन् भने । यस्ता योजना यसरी काम गर्छु भनेर तथ्यगत कुरा गर्न कम्तीमा अध्ययन, पढेलेखेको वा देश दुनियाँ बुझेको मान्छे हुनुपर्छ । ढुंगा हान्ने र जेल जाने कुरा अब राजनीतिकभन्दा पनि आपराधिक अनुभव हुन् ।


दोस्रो कारण हो, बेरोजगारी । धेरजसो बेरोजगार युवाहरू आफ्नो मुख्य समस्यालाई हल गराउन सक्ने नेतृत्व खोज्नेछन् । उनीहरू माक्र्स वा बीपीको नाम भजाएर राजनीति गर्नेहरूसँग आजित छन् । आन्दोलनबाट वा ढुंगा मुडा गरेर नेता भएकाहरूवाट आश गर्नु बेकार छ भनेर बुझेका छन् । सिस्टम, प्रविधि वा अर्थतन्त्र बुझेकोले मात्रै वेरोजगारी जस्ता समस्या समाधान गर्न सक्छन् भनेर वुझ्दैछन् । 

तेश्रो कारण हो, राजनीतिक दलबाट मौन विद्रोहको सुरुवात । अर्थात् कुनै दर्शन मन परेर पार्टीप्रति झुकाव भए पनि चुनावमा मत अन्य पार्टीको उम्मेदवारलाई दिने । केही दिन अघि मात्रै कांग्रेस नेता गगन थापा चुनावी भाषणमा भनेको कुरा प्रासंगिक होला । उनले भनेका थिए, कांंग्रेसको कार्यकर्ता हुने तर भोट दिनेवेला कस्ले थाहापाउछ र भन्दै अरुलाई दिँदा पाप लाग्छ । कांग्रेसका महामन्त्रीले यसो भन्नुको पछाडि महत्वपूर्ण कारण छ ।

भूमण्डलीकरण, प्रविधिको विस्तार, सीप ज्ञानको आदनप्रदान आदिले गर्दा तन्नेरीहरूले राजनीतिलाई फरक तरिकाले सोच्दैछन् भन्न सकिन्छ । यसै पनि १८ माथिका मतदाता र विदेशिएर फर्केकाहरूको संख्या ठूलो हुँदै छ । जसले समग्र राजनीतिमा प्रत्यक्ष असर पार्दैछन् । गएको निर्वाचनको नतिजा र अब हुँदै गरेको उपनिर्वाचनको चुनावी माहोललाई हेर्दा त्यसको छनक पाइन्छ । 

 

गएको निर्वाचनमा मान्छेहरूले पार्टीको आबद्धता बिर्सिएर उम्मेदवारको योग्यता वा क्षमता हेर्दै अरुलाई मतदान गरे । कांग्रेस, एमालेहरूको भोट घण्टीका उम्मेदवारले पाए भन्ने कुरा जगजाहेर छ । यो विषयमा तिमीहरूलाई पाप लाग्ला भनेर तर्साउन खोज्नु बेकारको कुरा हो । आफ्नै पार्टीका भनिएका कार्यकर्ता समेतले किन भोटबाट विद्रोह गरे ? यसभित्र पार्टी नेतृत्वसँग तमाम असन्तुष्टि मात्र कारण होइन । अबका तन्नेरीले पार्टीभित्रको मात्रै परिधिमा सीमित हुँदैनन् । हुन चाहँदैनन् । पार्टीका नेतालाई पार्टी सर्वोपरि हुन सक्ला तर कार्यकर्ता वा आम जनतालाई हुँदैन । किनकि अब उनीहरू पहिले जस्तै एउटै ‘डक्ट्रिनमा’ सीमित हुँदैनन् । स्वतन्त्र भएर निर्णय गर्न चाहन्छन् । त्यसैले पार्टीका कार्यकर्ता यति छन् र यति भोट पक्का भनेर सोझो हिसावले राजनीति अव चल्दैन ।

चौथो कारण, स्वर्णीम वाग्लेको उम्मेदवारी । व्यक्तिगतरूपमा वाग्लेको उम्मेदवारीले पार्टीमै लामो समय योगदान गरेकालाई छान्नेकि दक्षता भएकालाई भन्ने बहसलाई सतहमा ल्याएको छ। उनी कांग्रेसवाट विद्रोह गरेर स्वतन्त्र पार्टीमा गए र टिकट पाए । टिकट नपाएर पार्टी फेर्यो, भोलि कुरा नमिले अर्कोमा जादैन भनेर के ग्यारेन्टी ? भनेर गाली गर्नु चुनावी माहोलमा प्रतिस्पर्धीहरूको स्वभाविक काम नै भयो । यसलाई अन्यथा लिनु हुँदैन । यसै पनि वाग्लेलाई किन भोट दिनुहुँदैन भनेर जवाफ फेला पार्न मुस्किल छ उनीहरूलाई । 

तर अब केही नयाँ तरिकाले सोच्नुपर्ने हो कि ? भन्ने चाहिँ चासोको विषय बनेको छ । लामो राजनीतिक योगदान नभएका तर अवसर पाए गज्जवले डेलिभरि गर्ने क्षमता राख्नेहरूलाई लगभग बाटो बन्द छ अहिले । त्यस्ता व्यक्तिहरू पार्टीलाई करोडौं नवुझाउदा सम्म, नेताको पछि ढुकेर वर्षौ नबस्दासम्म चुनावी प्रतिस्पर्धामा टिकट पाउदैन । अनि त्यस्ता व्यक्तिलाई सांसद बन्नै दिनुहुँदैन भन्नु पनि हुदैन । किनभने दशकौं पार्टीभित्र काम गरेकाले के नै लछारपाटो लगाएकाछन् र ? प्रश्न त उठ्छ नै । कम्तिमा आफ्नो विषयमा कुरा राम्ररी वुझ्न त सक्छ उसले । यसरी पनि सोच्न सकिन्छ । त्यसैले एउटा पार्टी छोडेर अन्य पार्टीमा गएर कसैले टिकट पाएर जनतालाई केही नयाँ गर्न सक्यो भने घाटा कम्तिमा जनतालाई चाहि हुँदैन। छोडेर गएको राजनीतिक दललाई एउटा धक्का चाहि पक्कै होला । 

चुनावी नतिजा अहिले नै अनुमान गर्नु वाञ्छनीय हुदैन । तर पार्टीमा मेरो पालो कहिले आउँछ भन्दै नेताको मुख हेरेर बस्नु भन्दा यसरी विद्रोह गरेको कम्तिमा वाग्लेले आफ्नो क्षमताको लागि न्याय गरेका हुन् । पाचँ वर्ष कुरेर कांग्रेसवाटै जितेर भन्दा अहिलेनै यदि रास्वपवाट जिते भने देशले उनको क्षमताको लाभ अगाडिनै लिन पाइहाल्छ । पार्टीलाई गौण राखेर हेर्यौं भने, यसमानेमा अहिले उनले जे गरे ठीक गरे भन्न सकिन्छ । यति भनिरहदा उनका प्रतिस्पर्धीहरूको आफ्नै योगदान होला, उनीहरूले जित्न पनि सक्लान् । त्यो अर्को कुरा हो । 

- प्रविधि, अर्थतन्त्र र स्टार्टअपहरूलाई जोड
जसले प्रविधि, अर्थतन्त्र र प्रणाली राम्ररी बुझेको छ उसलाई अबका तन्नेरीहरूले विश्वास गर्नेछन् । केही उदाहरण हेरौं । 
प्रविधिमा खासै ज्ञान नभएको कुनै नेताले भाषण गर्दा अब डराउनुपर्छ । किनकि उसका गफ केवल हावादारी लाग्न सक्छ । जस्तो कि कृषि क्षेत्रमा अव हामी छलाङ मार्नेछौं भनेर एक घण्टा भाषण गर्ने एकातिर छ । भने, ड्रोनबाट बिउ छर्नेछौं त्यसको व्यवस्थाका लागि हामी यसरी काम गर्छौं भनेर ‘एक्सन प्लान’सहित कुरा गर्ने अर्कोतिर । स्वाभाविक हो, अबका मतदाताले पछिल्लोलाई विशेष ध्यान दिनेछन् । 

त्यस्तै समग्र बजार र अर्थतन्त्र कसरी चल्छ भन्ने कुशल ज्ञान भएको मान्छेले मात्र अब मतदाताको ध्यान खिच्न सक्छ । उदाहरणका लागि राजनीतिसँगै अर्थतन्त्रको ज्ञान नभएको मान्छेले केवल हावामा वालुवाको घर बनाउन जानेको हुन्छ । अर्थात् कुशल राजनीतिकर्मीले देशको आर्थिक अवस्थालाई राम्ररी विश्लेषण गर्न जानेको हुनुपर्छ । किनभने उसले जनतासँग वाचा गर्ने हरेक योजनाहरू व्यावहारिक हुनुपर्छ । 

त्यसैगरी ‘एन्टरप्रेनरिसिप’लाई प्राथमिकतामा राख्दै जसले रोजगारी सृजनाका ठोस योजनासहित अगाडि आउँछन् उनीहरू पनि तन्नेरीहरूका मन जित्न सक्छन् । आजको जमानामा जागिर खाने भन्दा पनि जागिर सृजना गर्ने जमाना हो । पश्चिमाहरूमा विद्यमान यो चलन नेपालमा पनि भित्रिँदै छ । विशेष गरी विज्ञान र प्रविधिको क्षेत्रमा । युवाहरू नै यसमा संलग्न हुने भएकाले स्टार्टअप अर्थात् नवउद्यममा राम्ररी ज्ञान भएको मान्छेलाई युवाहरूले रुचाउनेछन् । 
 
- विदेशिएर फर्किएकाहरू
विदेशिएर फर्किनेहरूको भूमिका र प्रभाव क्रमशः बढ्नेछ । निर्णायक मतदाता र सम्भावित उम्मेदवारका रूपमा । निर्णायक मतदाता यसकारण कि उनीहरूको संख्या ठूलो छ । सम्भावित उम्मेदवार यसकारण कि विदेशमा अध्ययन सकेर फर्किने वाग्ले वा काम गरेर फर्किने रविजस्ताहरू अरु पनि बिस्तारै आउनेछन् । उनीहरूको पनि गुण र दोषका आधारमा मूल्यांकन गर्नुपर्छ, त्यो अलग कुरा हो । 

केही दिनअघि चुनावी कार्यक्रममा कांग्रेस नेताले यसरी आक्रोश पोखे, ‘तपाईं विदेश पढ्न जानुभयो त्यतिबेला हामी आन्दोलनमा होमिएका थियौं ।’ पार्टी छोडेका वाग्लेप्रति लक्षित यो भनाइ परिपक्क भनाइ थिएन । उनको यो भनाईमा यस्तो गन्ध आइरहेको थियो, ‘त्यो नाताले तिमी नेपालको सांसद पदका लागि योग्य छैनौं ।’ 

सांसद बन्नलाई योग्यता तुलना गरेर उनले राम्रो गरेनन् । विदेश पढेर मात्र होइन हाइप्रोफाइल जागिर छोडेर देशमै आफ्नो क्षमता लगाउँछु भन्दै आएका वाग्ले देशका एक्ला हैनन् । हजारौं छन् जो त्यसरी बाहिर पढिरहेका छन् । जो विदेशिनुको एउटा कारण गगनहरूजस्ता नेताले स्वदेशमै गुणस्तरीय शिक्षाको वातावरण बनाउन नसक्नु पनि हो । विदेशमा अध्ययन सकेर वा केही समय कामै गरेर त्यहाँ सिकेको सीप र ज्ञान देशमै लगाउँछु भनेर फर्किनेहरूलाई कम्तीमा हार्दिकताले स्वागत गर्नुपर्छ । किनभने उनीहरूको ज्ञान र सीप देशका लागि सम्पत्ति हो । अबको जमानामा ढुंगा हानेर, टायर बालेर बनाएको योग्यताभन्दा त्यो योग्यता श्रेष्ठ हुन्छ । 

देशमा केही गर्न नसकेर भागेकाहरू जस्ता लाञ्छनाहरू विदेश काम गर्ने जाने वा गएर फर्किनेहरूलाई पनि लगाइन्छ । तर यो लाञ्छना समयक्रमसँग परिवर्तन हुँदै छ वा हुनेछ । विदेशमा काम गरेर फर्कनेहरू पनि हजारौं छन् जसले विदेशमा बगाएर ल्याएको पैसा स्वदेशमै लगानी गरेर केही गरिरहेका छन् । उनीहरूलाई पनि हार्दिकताले स्वागत गर्नुपर्छ । 

समयक्रमसँगै विदेशमा पढ्ने वा काम गर्नेहरू उतैबाट मतदान गर्ने व्यवस्था बन्यो भने त झन् उनीहरूको भूमिका घनीभूत हुनेछ । विदेशिएर फर्किएकाहरू राजनीतिमा आएर केही योगदान दिन्छु भनेर लाग्नेहरूलाई उनीहरूको स्वाभाविक समर्थन र साथ हुनेछ । त्यसैले अबको जमानामा पढ्न जाने वा काम गर्न जाने जोसुकैलाई पनि उत्तिकै महत्वका साथ हेरिनुपर्दछ ।


Author

विनोद भण्डारी

भण्‍डारी काठमाडौँ इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल इन्जिनियरिङ विभागका प्रमुख हुन् ।


थप समाचार
x