विचार

अबको पार्टी : सबल, सक्षम र जनताको कांग्रेस

करिना पुरी |
फागुन ८, २०८० मंगलबार ११:४१ बजे

नेपाली कांग्रेस यतिबेला महासमिति बैठकको चटारोमा छ । महासमिति बैठक कांग्रेसको नीति निर्माण गर्ने थलो हो ।  कांग्रेसले अहिले आफ्नो स्पष्ट नीति र कार्यदिशा ल्याउनु जरुरी छ । हामीले यो देशको हरेक परिवर्तनको नेतृत्व गर्‍यौं तर यसको जस लिनबाट हामी चुक्यौं । यसले कांग्रेसलाई सधैँ दोसाँधको यात्री बनायो । कांग्रेसले अगुवाई गरेर उपलब्ध भएको परिवर्तनको जस सधैँ अरुले लिए ।

अहिलेको पुस्ता हामीले परिवर्तन गर्‍यौं र तिमीले अधिकार पायौ भनेर मान्नेवाला छैनन् । अहिले के नीति छ र आगामी दिनमा हाम्रो लागि के गर्छ भनेर हेर्न सक्षम पुस्तालाई हामीले हाम्रो भिजन स्पष्ट रुपमा दिन सक्नु पर्दछ । हामी यहीँनेर चुकेका छौं ।  हामीले नयाँ पुस्ताको लागि के गर्छौं भनेर स्पष्ट भिजन दिन  सकेका छैनौं ।


बीपी कोइरालाले अंगीकार गरेको समाजवाद अहिले हाम्रो नेतृत्वले अंगीकार गर्न सकेको छैन । बीपीले आफ्नो समयमा हरेक नेपालीको आफ्नो घर होस, त्यस घरमा उसको आफ्नो गाई होस र उसका छोरा छोरी विद्यालय जान सकून् भन्ने हिसाबले समाजवादको कल्पना गरेका थिए । आज पनि बीपीको त्यो सपना साकार हुन सकेको छैन । आवश्यकता बदलियो होला तर अवस्था बदलिएको छैन । हाम्रो नेतृत्वले बीपीको त्यही कुराको सार बुझ्न नसक्दा कांग्रेस जनताको होइन नेताको मात्र पार्टी बन्न पुगेको छ ।

नेपाली कांग्रेसले धेरै पटक सत्ताको स्वाद चाखेको छ । अहिले पनि सत्तामै छ तर, नेपाली जनताले समाजवादको अनुभूत गर्न पाएका  छैनन् । हाम्रा नेताहरू सत्तामा पुग्ने बित्तिकै किन आलोचित बनेका छन् मुख्य प्रश्न यो हो । जनतामा निराशा छाएका बेला पार्टीले नयाँ योजना र कार्यक्रम ल्याए न पार्टीप्रतिको आकर्षण बढ्छ ! सँधै एउटै रटान गरेर पार्टीप्रतिको आकर्षण बढाउन सकिन्न ।

पार्टीभित्र आन्तरिक न्याय छ कि छैन भन्ने मुल विषय हो । ४० प्रतिशतको हिस्सा बोकेको शक्ति जहिले बाहिर छ । भातृ संस्थाहरूको मनोनयन मनलाग्दो गरिएको छ । संगठनमा उसको योगदान कति छ भन्ने होइन उसले आफ्नो गुटको चाकडी कति गरेको छ भनेर हेर्ने प्रवृत्तिले भातृ संस्था नेतृत्वको छायाँ बनेको छ । पार्टीको मेरुदण्डको रुपमा रहेका भातृ संस्थामा मनोनीत प्रथाको अन्त्य गरेर यथाशीघ्र अधिवेशन गर्ने वातावरण निर्माण गर्न यो महासमिति बैठक केन्द्रित हुनुपर्दछ ।

पार्टीको क्रियाशील सदस्यता अधिवेशनको समयमा मात्र खुल्ला गरिन्छ । अधिवेशनको समय भनेको गुट कसरी बलियो बनाउने भन्ने मान्यता राख्ने बेला हो । यो समय साँच्चै क्रियाशीलभन्दा पनि भोट दिने मान्छेले सदस्यता पाउँछ यस कारण पार्टीको विधानले तय गरेको प्रक्रिया पूरा गरेकालाई जुनसुकै समय क्रियाशील सदस्य बनाउने व्यवस्था गरिनु पर्दछ ।

पार्टीको चलायमान अवयव भनेका विभागहरू हुन् विधानले स्पष्ट व्यवस्था गरेको समय सीमामा विभाग बनेका छैनन् । पार्टीको केन्द्रीय समितिमा नै विभाग मात्र हैन संसदीय बोर्ड जस्तो संवेदनशील निकायले समेत पूर्णता पाएको छैन ।

मैले आदरणीय पार्टी सभापतिलाई अनादर गर्न खोजेको होइन । तर, पार्टीलाई प्राइभेट कम्पनी जसरी चलाउन खोज्दा उहाँ त सुरक्षित हुनुहोला तर सिंगो पार्टी कता जान्छ आफ्नो लक्ष्यबाट त्यो उहाँले सोच्नु जरुरी छ । समाजवादमा आस्था राख्ने कार्यकर्ता सधैँ उहाँको कुराले सिद्धान्त भुलेर सती जान सक्दैनौ । पार्टी बचाउने हाम्रो अभिभारा हो । त्यसैले यो महासमिति बैठकबाट पार्टीलाई त्यो जञ्जालबाट  बाहिर ल्याउन जरुरी छ । त्यस अनुसार सोच्न म सबै महासमिति सदस्यहरूलाई आग्रह गर्दछु ।

नेपाली कांग्रेस यो मुलुकमा अबको ५ वा १० वर्षको लागि मात्र हैन । धेरै युग नेपालमा कांग्रेसले नेतृत्व गर्नु छ तर अहिलेको नेतृत्वले आफू कसरी सेभ हुने मात्र सोचेको छ । कांग्रेस लोकतान्त्रिक पार्टी हो । सत्तामा हुँदा या सत्ता बाहिर जहिले पनि जनताको पक्षमा बोल्नुपर्छ । तर अहिले सत्तामा जानकै लागि गठबन्धन गरेर कांग्रेसले आफ्नो साख गिराएको छ । पार्टी नेतृत्वले सत्ता र शक्ति भन्दा कार्यकर्ताको भावना र चाहनालाई सोच्नु पर्दछ । र, यो कुरा महासमिति बैठकमा उठ्नु जरुरी छ ।

युवा विद्यार्थीको यतिबेलाको रोजाई विदेश बनेको छ । यसलाई रोक्न कांग्रेसले स्पष्ट नीति बनाउनु पर्दछ । आफै सरकारमा सहभागी भएको कारण पनि  युवा स्वरोजगार र रोजगारमूलक शिक्षाको नीति कांग्रेसले लिनु पर्दछ । तर,  अहिलेको सरकारले यसतर्फ ध्यान दिएको देखिँदैन ।

अर्थतन्त्र धराशयी छ भन्ने समाचारले आम नागरिकमा नकारात्मक धारणा बनिरहेको छ । अर्थतन्त्रमा सुधार ल्याउन धार्मिक एवं सांस्कृतिक पर्यटन प्रवर्द्धनमा कांग्रेसले स्पष्ट नीति ल्याउनु पर्दछ । पार्टीले आफ्नो आर्थिक नीति भुलेर जो सँग मिल्यो ऊसँगको नीति अख्तियार गर्दा पार्टीको आर्थिक नीति के हो भन्ने जनतालाई जानकारी छैन । यो बैठकले अर्थ नीतिको विषयमा पनि स्पष्ट पार्नु जरुरी छ ।

पछिल्लो समय किसानको मुद्दामा कांग्रेस मौन छ, हामीलाई केही फाइदा नपुग्ने जंगली जनावरका कारण किसानका बाली नालीमा क्षति पुगेको छ । किसानलाई राहत दिने विषयमा कांग्रेसले स्पष्ट अडान लिनु पर्दछ । रासायनिक मलको अभाव छ तर कांग्रेसले यस विषयमा बोलेको छैन ।

समावेशीताको सन्दर्भमा पनि कांग्रेस स्पष्ट बन्नु जरुरी छ । जनसंख्याको ५१ प्रतिशत हिस्सा ओगटेका महिलालाई ३३ प्रतिशत मात्रमा सीमित राख्नु कांग्रेसको प्रजातान्त्रिक मान्यता विपरीत हो ।

सबै वर्ग र सम्प्रदायका महिला समेटिने गरी पार्टीका सबै निकायमा महिलाको समान सहभागिता हुने अवस्था सिर्जना गरिनु पर्दछ । सँगै सबै क्लष्टरका आरक्षण निश्चित अवधिका लागि मात्र गर्ने व्यवस्था कांग्रेसको विधानमा गरिनु पर्दछ ।  पार्टीको कुनै पदमा चुनाव लड्ने व्यक्ति एउटै पदमा बढीमा दुई पटक मात्र आरक्षण कोटाबाट चुनाव लड्न पाउने व्यवस्था विधानमा हुनु पर्दछ । एउटा व्यक्ति एक पटकभन्दा बढी समानुपातिक कोटामा सांसद उम्मेदवार हुन नपाउने व्यवस्था पनि पार्टी विधानमा हुनु जरुरी छ ।

समग्रमा कांग्रेसको नीति र नेतृत्वको चरित्र फरक हुँदा कांग्रेस आफ्नो लक्ष्यबाट विचलित भएको हो कि भन्ने भान भएको छ । तर, पार्टीले जुन उद्देश्य बोकेको छ त्यसलाई कार्यान्वयन गराउन यो महासमिति बैठक सफल हुनेछ । अबको कांग्रेस मुलुकको माटो सुहाउँदो राजनीतिक दल मात्र हैन सबल र सक्षम जनताको पार्टी बन्नुपर्छ। यो हाम्रो संकल्प र विश्वास हो । यो अबको आवश्यकता पनि हो ।


Author

करिना पुरी

पुरी नेपाली कांग्रेसकी सबैभन्दा कान्छी महासमिति सदस्य हुन् ।


थप समाचार
x