विचार

कम्युनिस्टहरूका प्रधान शत्रु कम्युनिस्ट नै !

प्रा.डा. पुष्पकमल सुवेदी |
पुस १४, २०७८ बुधबार ११:१५ बजे

सैद्धान्तिक पक्ष केवल नारा
कम्युनिस्ट पार्टीहरूभित्र जनवादी केन्द्रीयताको नाममा विगतमा वादविवाद सुल्झाउने पद्धति भए तापनि अन्तत्वगत्वा पार्टी फुटेको इतिहास पाइन्छ । शक्ति सञ्चयको खेलमा कम्युनिस्टहरूले सिद्धान्तको नाम दिएर जगत् हँसाएका हुन्छन् । ओली, दाहाल र नेपालको सैद्धान्तिक फरकहरू के-के हुन् ? मोहन वैद्य नेतृत्व क्रान्तिकारी माओवादी र मोहनविक्रम नेतृत्व मसालको जनवादी क्रान्ति कार्यक्रम बीच तात्विक भिन्‍नताहरू के-के हुन् ? सारांशमा कम्युनिस्टहरू जनगणतन्त्रवादी हुन् र सबैको एउटै कार्यक्रम हो- नयाँ जनवादी क्रान्ति । 

मालेले गरेको असफल झापा आन्दोलनको परिष्कृत रूप माओवादीले सञ्चालन गरेको दश वर्षे तथाकथित जनयुद्धभन्दा फरक नपर्ला । यी आन्दोलनहरूले सकारात्मक तथा नकारात्मक दुवै परिणाम निकालेको छ तर दुवै संघर्षहरूले अन्त्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा संसदीय मोर्चामा यी पार्टीहरूलाई सीमित बनाइदिएको छ । हालै सम्पन्‍न एमाले र माओवादीको महाधिवेशनहरूमा केही सैद्धान्तिक नयाँपन पाइएको छैन, पुरानो नेतृत्वलाई केही नयाँ अनुहारहरूका साथ अर्को महाधिवेशनसम्मको लागि काम गर्ने म्यान्डेट मात्र दिएको छ जुन नेपाली कांग्रेसको भर्खर सम्पन्‍न महाधिवेशनसँग मेल खान्छ । 


सैद्धान्तिक पतनको नाममा गालीगलौज
कम्युनिस्ट पार्टीहरूको आँखामा को गद्दार हुन्छ ? भन्‍ने सवाल सधैँ उठिराखेको हुन्छ जसरी दाहाल, नेपाल र मोहनविक्रमको आँखामा हाल ओली प्रतिगमनको नाइके भए त्यसै गरी २०१७ सालमा केशरजंग रायमाझीलाई पुष्पलाल, मोहनविक्रम, मनमोहन, तुलसीलाल लगायतले गद्दारको संज्ञा दिएको पाइन्छ भने २०३६ सालको जनमत संग्रहको दौरानसम्म आइपुग्दा पुराना माले (सिपी मैनाली/मदन भण्डारी/झलनाथ खनाल/माधवकुमार नेपाल/केपी ओली) र मसाले (मोहनविक्रम सिंह/निर्मल लामा/मोहन वैद्य/पुष्पकमल दाहाल) बाट पुष्पलाललाई गद्दार भन्‍ने एक प्रकारको आरोप थियो । एमालेको पहिलो विभाजनमा एमालेले वामदेव गौतम र साहना प्रधानलाई जुन स्तरको गाली गर्थे सोही स्तरको गाली माधवकुमार नेपाल र केपी ओलीलाई फर्काउँथे ।

कम्युनिस्टहरूबीच असमझदारी र विवाद हुँदा ‘गद्दार’ र वर्तमान अवस्थामा ‘प्रतिगमन’ भन्‍ने शब्द एकआपसमा लगाउने आरोप मात्र हो । एमालेइतरका सबै कम्युनिस्ट पार्टीहरू यही मनोगत रोगबाट ग्रस्त भई एमालेलाई प्रतिगमनको मतिहार ठानेका छन । एमाले नेतृत्वमा आफू ठूलो पार्टी भन्‍नेमा घमण्ड छ र साना पार्टीहरूलाई कसरी खसाल्थे भन्‍ने एउटा उदाहरण मदन भण्डारीले एकता हुनु अगाडि मनमोहनको माक्र्सवादी पार्टीको स्थितिलाई धरहराको टुप्पोबाट हेर्नुपर्ने बताउँथे । माधव नेपाल र ओली यही स्वभावबाट गुज्रिँदै आएका हुन् तर परिस्थितिले आज माधव नेपाल उनकै भाषामा ओलीको हेपाइमा परेका छन् र धरहराको टुप्पोबाट दुरबिन लगाएर उनको नयाँ पार्टीको स्थिति हेर्न ओली कुरेर बसेको देखिन्छन् । मोहनविक्रम सिंहमा यस्तै दम्भ थियो कि पञ्चायतकालीन समयमा कांग्रेसलाई मित्र शक्ति मान्‍ने पुष्पलाललाई गद्दार भनेर पुस्तक लेखे । 

काँधमा टेकेर टाउकोमा हान्‍ने माओवादी सूत्र
पहिलो नौ महिना शासनकालबाहेक एमाले कि त कांग्रेस वा राप्रपा वा माओवादीको सहयोगमा हिँजडाका रूपमा उपस्थिति भएको थियो त्यसलै विपक्षीहरूले एमालेलाई लिंग नछुट्टिएको पार्टी भन्थे जसमा एमालेको नेतृत्व माधवकुमार नेपालले गर्नुभएको थियो । जब माओवादीसँग एकता गरेर नेकपाको नाममा सत्ता सञ्चालनको लगाम लिन थाल्यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू यसविरुद्ध खनिए र पार्टीभित्रबाट नै दुई तिहाइउन्मुख ओली सरकारविरुद्ध खेल सुरु भयो र जनमत प्राप्त सरकार तासको महलझैँ ढल्यो ।

परमादेशले देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने अवसर प्रदान गर्‍यो । आन्तरिक रूपमा ओलीको दम्भ, नेपालको हीनताबोध र दाहालको एमालेको संगठन संरचना नियन्त्रण गर्ने शक्ति संघर्षमा दाहाल/नेपालले देउवाको काँधमा टेकेर आफैँले बनाएको ओली नेतृत्व संघीय सरकार मात्र ढाल्न सफल मात्र भएनन् कि छवटै प्रदेशहरूमा एमालेलाई प्रतिपक्षमा पुर्‍याइदिए ।  

घर पोलेर खरानीको के खाँचो ?
घर पोलेर खरानीको के खाँचो भनेझैँ दाहाल र नेपाल नेकपा जलाएको खरानीको पोकोसहित पाँच दलको गठबन्धनको सूत्रधार भए । यो गठबन्धनमा आबद्ध सबै पार्टीहरूको नेपालभर सानो ठूलो पार्टीगत संरचना भए तापनि नेपाली कांग्रेसलाई माया गर्ने जनमत हरेक वडामा तुलनात्मक रूपमा बढी छ भन्दा अन्यथा नहोला । माओवादीको जनमत लुम्बिनीदेखि पश्चिमका प्रदेशहरूमा केही सशक्त देखिन्छ भने यादव नेतृत्व समाजवादीको प्रदेश नं १ र २ मात्र बढी प्रभावकारी देखिन्छ तर महन्थ ठाकुर र राजेन्द्र महतोसँगको पार्टी एकता टुटेपछि नेपाली कांग्रेस र एमालेको मतले जित्न सक्ने अनुमान गर्न सकिन्छ ।

जहाँसम्म चित्रबहादुर केसी नेतृत्व राष्ट्रिय जनमोर्चाको उपस्थिति एमाले तथा माओवादीको सहयोगमा भर पर्छ । हाल एमालेसँग कटुता देखिएकाले यसको सम्बन्ध माओवादी र एमालेबाट फुटेको माधव नेपाल नेतृत्व पार्टीहरूसँग सहकार्य एक मात्र विकल्प हो तर नेपाल नेतृत्वको पार्टी चुनावमा परीक्षण भइसकेको छैन । विगतमा बाबुराम भट्टराईले जस्तै नेपाली कांग्रेससंग यी चार पार्टीहरूका नेतृत्वहरूले आफ्नो घर खरानी हुनबाट बचाउन सहकार्य गर्न खोजेको पाइन्छ तर यसले कांग्रेसको घर नपोल्ने के ग्यारिन्टी छ र ? 

कांग्रेसको फुटाऊ र राज गर नीति
नेपाली कांग्रेस नेपालमा सबैभन्दा ठूलो गैरकम्युनिस्ट प्रजातान्त्रिक पार्टी हो जसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले मान्यता दिएको छ र यही यथार्थलाई बुझेर पुष्पलालले नेपाली कांग्रेसविनाको प्रजातान्त्रिक आन्दोलन असम्भव ठानेर कांग्रेससँगको सहकार्यलाई प्रमुखतामा राखे फलस्वरूप अन्य कम्युनिस्ट पार्टीहरूले जीवनभर गद्दारले सुशोभित गराए भलै हिजो पुष्पलाललाई गद्दार भन्‍ने मालेदेखि मशालसम्मका सबैले उहाँको मृत्युपश्चात् सम्मान दिएका छन् ।

बदलिँदो परिस्थितिमा यही नै काफी मान्‍नुपर्छ किनकि पञ्चायतकालमा नेपाली कांग्रेसलाई प्रमुख दुस्मन ठान्‍ने मोहनविक्रमदेखि कांग्रेसी कार्यकर्ताहरू काटेर जनवादी व्यवस्था ल्याउँछु भन्‍ने पुष्पकमल दाहाल र बाबुराम भट्टराईसम्मका आज ओली नेतृत्व एमालेविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा सहकार्य गर्न पुगेका छन् । 

एक पटकको दुई तिहाइ र दुई पटकको सामान्य बहुमत पनि नेपाली कांग्रेसले धान्‍न सकेन । सत्ता सञ्चालनमा ओली नेतृत्व नेकपा नेतृत्वको सरकार विगतका पञ्चायती र कांग्रेस नेतृत्व सरकारहरू भन्दा कुनै तात्विक फरक थिएन र अन्त्यमा कांग्रेसकै जस्तो हबिगत हुन गयो । नेपाली कांग्रेसलाई आफ्नो पुरानो छवि स्थापित गर्न फुटाऊ र राज गर भन्‍ने नीति लिएर एमाले विभाजन गरिदिएको छ जसका कारण कम्युनिस्ट मत विभाजन हुन गई भविष्यमा नेपाली कांग्रेसको एकल सत्ता प्राप्ति गर्न हो लागि अवसरको खोजी हुँदै छ । गिरिजाप्रसाद कोइरालाले कम्युनिस्ट मत विभाजन गर्न एमालेकै हाराहारीमा माओवादीलाई स्थान दिएर पहिलो संविधान सभाको निर्वाचनमा जाँदा कांग्रेस आफैँ बढारिएको थियो ।

देउवा नेतृत्व नेपाली कांग्रेसले यो पाँच दलीय गठबन्धन बचाउँदा आफैँ बढारिने पनि अवस्था सिर्जना हुन सक्छ किनकि सिट बाँडफाँडले एमालेको पल्लाभारी हुने अवस्था सिर्जना हुन सक्छ । उदाहरणका लागि, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र बाबुराम भट्टराईजस्ता नेताहरूलाई आउँदो निर्वाचनमा कांग्रेसको जनमत बढी भएको स्थानमा सिट सुरक्षित गरिदिनुपर्ने अवस्था देखिँदै छ भने कांग्रेसी कार्यकर्ताहरू कसरी चित्त बुझाउँछन् यसको परिणाम चुनावी नतिजाले मात्र दिन सक्छ । कम्युनिस्ट मत विभाजन भएको अवस्थामा नेपाली कांग्रेसले कति सिट यी पार्टीहरूलाई दिन सक्छ आउँदो वैशाखमा हुने स्थानीय निर्वाचनले स्पष्ट संकेत दिनेछ, त्यहाँसम्म कुर्नुपर्ने हुन्छ ।


Author

थप समाचार
x