विचार

हामी नेपाली जति अल्छी कोही छैन

कृष्ण शर्मा |
पुस २२, २०७७ बुधबार ९:६ बजे

औसत अमेरिकीहरूसँग तुलना गर्ने हो भने मैले भन्नैपर्ने हुन्छ— म अल्छी मान्छेहरूमध्ये पर्छु । मैले यसो भन्नुमा दुइटा विशेष कारण छन् । पहिलो कारण, अमेरिकीहरू धेरै काम गर्छन् (त्यसैले अमेरिकामा विकास भएको हो । काम नगरी कुनै देश विकसित भएको उदाहरण कम्तीमा पनि यो पृथ्वीलोकमा छैन) । दोस्रो कारण, नेपालीहरू थोरै काम गर्छन् (नेपालमा विकास नहुनुको कारण काम नहुनु हो वा भएको र गर्न सकिने काम पनि नगर्नु हो) ।

मलाई थाहा छ, दोस्रो कारण पढ्दासाथ तपाईंको कञ्चटका रौंहरू तात्न थालिसकेका छन । कतिपय पाठकले त यो लेख पढ्न छोडी मेरो नाम टाइप गरेर गुगल गर्न थालिसक्नुभएको हुनुपर्छ । तपाईंको मनमा प्रश्न आइसकेको छ : यो पलायवादीले आफू अल्छी हुनुको दोष हामीलाई किन दिइरहेको छ ?


माफ गर्नुहोला तर म दाबासाथ भन्न सक्छु— यदि म नेपालमा नजन्मिएको भए त्यति अल्छी हुने थिइनँ, जति अल्छी आज छु । कुनै पनि व्यक्ति जन्मजात अल्छी स्वभाव लिएर आएको हुँदैन । तर यदि ऊ जन्मेको परिवार, ऊ हुर्केको समाज र उसको राष्ट्रको चरित्र अनि स्वभाव नै अल्छी प्रवृत्तिको छ भने त्यसको प्रभाव स्वाभाविक रूपमा स्थानान्तर हुन्छ ।

 म फेरि पनि भन्छु— म अल्छी हुनुको प्रमुख कारण नेपाली भएर नै हो । नेपालमा छोराहरूलाई सानैदेखि घरका काममा नलगाउने संस्कारको परिणामस्वरूप म अल्छी हुन पुगेको हुँ । पर्याप्त खेतीयोग्य जमिन नहुनुले, सिँचाइको प्रबन्ध नहुनुले, अध्ययन समाप्ति पछि रोजगारीका अवसर तुरुन्त र पर्याप्त मात्रामा प्राप्त नहुने अवस्थाले अल्छी भएको हुँ । कदाचित रोजगार पाए पनि उक्त रोजगारीमा पर्याप्त काम नहुनाले अल्छी भएको हुँ ।

यदि काम पर्याप्त छ भने कामको सापेक्षित वितरण समान पद भएका कामदारहरूमा नहुनाले अल्छी भएको हुँ । यदि समान वितरण भएकै रहेछ भने पनि राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डको उचित कार्यान्वयन हुन नसक्नुले दिक्क भएर अल्छी भएको हुँ । त्यसैगरी काम गर्ने मान्छेलाई सामूहिक रूपमा मजाकको पात्र बनाउने राष्ट्रिय चरित्रको पर्याप्त आलोचना नहुनाले पनि अल्छी भएको हुँ ।

तपाईंलाई लाग्ला, अमेरिका गइसकेपछि त परिवर्तन हुन सकिन्थ्यो नि । कृपया सम्झनोस् त्यो अंग्रेजी भनाइ जुन तपार्इंले स्कुलमा हुँदा पढ्नु र सुन्नु भएको थियो— ओल्ड ह्याबिट्स डाई हार्ड । अर्थात्, पुराना आदतहरू (त्यति) सजिलै मर्दैनन् । म त्यसैको सिकार भएको छु र मैले दुःखसाथ लेख्नु परिरहेछ कि अहिले पूरा राष्ट्र यसको सिकार भइरहेको छ ।

यदि नेपालको राष्ट्रिय फूल लालीगुराँस भए जस्तै राष्ट्रिय चरित्रको पनि छनोट हुने व्यवस्था भएको भए नेपालको राष्ट्रिय चरित्र ‘अल्छीपन’ राख्दा फरक पर्दैनथ्यो ।

कृपया यति छिटो नरिसाउनुहोस् । यति छिटो रिस आयो भने फेरि राष्ट्रिय चरित्र ‘रिसाहा’ राख्नुपर्ने हुन सक्छ ।

मलाई लाग्छ, तलको यो सत्य घटनाले तपाईंका धेरै जिज्ञासा तथा मेरा धेरै कथनहरूलाई पुष्टि गर्छ :

तराईको एउटा गाउँको हाम्रो छिमेकमा पाँच दाजुभाइ र दुई दिदीबहिनीसहितको नौ जनाको परिवार बस्थ्यो । २०४६ सालमा ३२ हजार रुपैयाँमा एक बिघा जग्गा बेचेर ठूली छोरी र ठूलो छोराको बिहे गरेपछि बाँकी एक बिघामा हुने खेतीले त्यस परिवारको घर–व्यवहार धान्न मुस्किल हुने अवस्था आयो । फलस्वरूप बिहे गरेको केही महिनामै ठूलो छोरो भारत पस्नुपर्ने बाध्यता आइलाग्यो ।

त्यसको दुई वर्षपछि देशमा संवैधानिक राजसंस्थासहितको प्रजातान्त्रिक संविधान जारी भयो । पञ्चायतकालमा ‘लुकेको सांग्रिला’ नामले विश्वभर चिनिएको देशका नागरिकहरू देशाटनका लागि स्वेच्छाले भन्दा पनि विविध कारणले विदेश जान थाले । देशभित्र भएका उद्योगहरू निजीकरणको सिकार भएर अन्ततः बन्दै भए ।

गरिबीको कारणले पढाइ छोडेको त्यो परिवारको माइलो छोराले धन कमाउन दक्षिण कोरिया जाने मन गर्यो । बाउ बूढा भइसकेका थिए । हलो जोत्ने तागत क्रमशः सकिँदै थियो । आमैले आधा खेत बेच्न सुझाइन् । बूढाले बेचे । माइलो छोरो कोरिया हानियो । माइलाले पैसा पठाउन थालेपछि जेठाले बाउलाई पैसा पठाउन छोड््यो । बुहारीले पैसा थाप्न थालिन् । बाहिर धेरै समय बिताउन थालिन् । पछि अर्कैसँग पोइल गई काठमाडांै बस्न थालेको पत्ता लाग्यो ।

माहिलो छोरोले पठाउने पैसाले भाइबहिनीहरूको पढाइ, घर खर्च चल्न थाल्यो । पैसा नियमित रूपमा आउन थालेपछि परिवारका सबै सदस्यले रहर फेर्न थाले । साहिँलाले मोटरसाइकल किन्यो र बजारबजार घुम्न थाल्यो । काहिँलाले गाउँको चोकमा दौंतरीहरू जम्मा गरेर चुरोट फुक्न सिक्यो । कान्छो छोरो नयाँ नयाँ बुट्टासहितका गन्जी लगाएर स्कुल जान थाल्यो । बाजेबज्यै गाउँको पसलमा चिया चुस्कीसँगै नेताबारे कुरा गर्न सक्ने भए । पैसा चाहिए माहिलो छोराले फोन गर्दासाथ मागे आइहाल्थ्यो ।

राष्ट्रिय फूल लालीगुराँस भएजस्तै राष्ट्रिय चरित्रको पनि छनोट हुने भए ‘अल्छीपना’ राख्दा फरक पर्दैन ।

दसैंको दिन माहिलो छोराले फोन गर्दा बाउले ‘छोरा तलाईं नदेखेको पनि चार वर्ष भएछ । नियास्रो लागेर आयो । भो अब आइज । तेरो स्वास्थ्य कस्तो छ ? ख्याल राख्नू’ भन्न जानेनन् वा सकेनन् वा भन्न चाहेनन् । आमाले पनि जानिनन्, सकिनन् वा चाहिनन् । भाइहरू र बहिनीले त उसलाई सुगर ड्याड बनाइसकेका थिए । यो प्रतिनिधि परिवारमा जस्तै एवं रीतले समाज तीव्र गतिमा विकसित हुँदै गयो ।

अहिले समग्र राष्ट्र र मेरो छिमेकी परिवार सहोदर दाजुभाइ जस्तै भएका छन् । उनीहरू दुवैको भर रेमिट्यान्समा छ ।

तपाईंहरूले भन्न सक्नुहुन्छ, ‘त के भयो ?’

‘आशीर्वादबाहेक कुनै पनि कुरा यदि परिश्रमबिना प्राप्त हुन्छ भने त्यसको महत्व शून्यबराबर हुन्छ । फलस्वरूप जताततै पैसा देखिए पनि देश गरिब हँुदै जान्छ । मुद्रास्फिति बढ्छ । जीवन बाँच्ने लागत अकासिन्छ । धनी र गरिबबीचको खाडल ठूलो हँुदै जान्छ ।

बीसौं शताब्दीको अन्त्यतिर अमेरिकी समाज एकदमै सम्पन्न थियो । अर्थतन्त्रमा उदारीकरण भएसँगै समाज उपभोक्तामुखी हुँदै गयो । अमेरिकाका धेरैजसो कलकारखाना, उद्योगधन्दा देश बाहिर गए । सस्तो लागतमा बाहिर उत्पादन भएर सस्तोमै उपभोगमा आउन थालेपछि किन पो कसैले काम गर्नुपर्यो र ?

तर अर्थशास्त्रको सिध्दान्तअनुसार त्यो अवस्था राज्यको मामिलामा सधैं दिगो रहन सक्दैन । प्रायः अर्थशास्त्रीहरू भन्छन्, १९९६ र  २००८ सालको आर्थिक संकटको पछाडि अमेरिकामा बढ्दै गइरहेको उपभोक्तावादी संस्कारको ठूलो हात छ । रोजगारी राष्ट्रिय दायित्व मात्र होइन, यो त नागरिकको तहमा राज्यका लागि मानवीय कर्तव्य पनि हो ।

२०१६ सालमा डोनाल्ड ट्रम्प राष्ट्रपतीय चुनावमा निर्वाचित हुनुमा उनको ‘कुनै पनि राष्ट्रले आफ्ना नागरिकहरूलाई इज्जत साथ व्यस्त राख्नका लागि सभ्यता र राजनीतिक सोच मात्र होइन, व्यावसायिक पहिचान दिने अवस्था सिर्जना गर्ने वातावरणको निरन्तरता दिने’ प्रतिबध्दता जाहेर गरेकाले पनि हो ।

राज्यमा रोजगारीका अवसर सिर्जना भएनन् भने कालान्तरमा राज्य स्वयं खाली दिमाग सैतानको घरजस्तै हुन्छ । त्यसैले, अहिले नेपालको राज्य संयन्त्र जुन निष्क्रिय सोचका साथ शिक्षित एवं अर्धशिक्षित युवा बेरोजगार समस्यालाई देश बाहिर पठाएर समाधान हुन्छ भनी अघि बढिरहेको छ त्यो कालान्तरमा अत्यन्त घातक हुँदै छ । समयमै यसबारे सोचेर पाइला चालिएन भने हामीपछि आउने पुस्ताले हामीलाई धिक्कार्ने कुरामा कुनै शंका नगरे हुन्छ ।


Author

थप समाचार
x