पर्यटन

धवलागिरिमा आरोही आउन थाले

इकागज |
असोज ८, २०८० सोमबार २१:५ बजे

फाइल तस्बिर

म्याग्दी- म्याग्दीमा रहेको धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौं (आठ हजार एक सय ६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रदर्शन, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका हुन् । 

शरद्कालीन याममा आठ के ट्रेक्सबाट हिमाल चढ्ने अनुमति लिएका तीन जना आरोही र सहयोगीहरू धवलागिरि आधार शिविर पुगेका उनीहरूको सामान पुर्याएर फर्किएका म्याग्दी दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए । 'आरोहीहरू हेलिकप्टरबाट गएका थिए,' उनले भने, 'हामीले मुस्ताङको मार्फाबाट एक सय पाँचवटा खच्चरमा आरोहण टोलीको सामान बेस क्याम्प पुर्याएर फर्कियौँ ।' इलाइट र सेभेन समिट ट्रेकबाट पनि शरदयाममा थप आरोहीहरू धवलागिरिमा आउन लागेका आरोहीको व्यवस्थापन गर्दै आएका शेरचनले बताए । 


पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरि हिमाल आरोहणका लागि हालसम्म एउटा समूहका १० जनाले अनुमति लिएका छन् । पाँच/पाँच पुरुष र महिला आरोहीले रु ११ लाख ९२ हजार ५० राजस्व तिरेका विभागले वेबसाइटमा सार्वजनिक गरेको छ । विभागका अनुसार चालु यामका लागि नेपालका दश वटा हिमाल आरोहण गर्न ४७ देशका ३५ वटा समूहमा तीन सय ३९ जनाले अनुमति लिएका छन् । उनीहरूबाट रु तीन करोड ६४ लाख ९९ हजार पाँच सय ७७ आरोहण शुल्क सङ्कलन भएको छ । 

गत याममा चारवटा समूहका १२ महिलासहित ३७ जनाले धवलागिरि हिमाल आरोहण गर्दा रु ८६ लाख २४ हजार तीन सय ३० शुल्क सङ्कलन भएको थियो । वसन्तयाममा म्याग्दीमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँचवटा समूहका ५४ जनाले रु एक करोड चार लाख २६ हजार चार सय १० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ । शरदयामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका छैनन् । वसन्तयाममा नेपालका २८ वटा हिमाल आरोहण गरेका एक हजार एक सय ७६ जनाले रु ७६ करोड ५७ लाख ५८ हजार तीन शुल्क तिरेका विभागले जनाएको छ ।  

शरदयाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही नौ सय डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम एक सय २५ देखि अधिकतम चार सयसम्म सलामी दस्तुर तिर्नुपर्छ । रासस


Author

थप समाचार
x