पर्यटन

मनाङ एयरले करिब डेढ अर्ब लागतमा तीन वटा हेलिकोप्‍टर भित्र्याउँदै

इकागज |
माघ ७, २०८० आइतबार ११:४३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- मनाङ एयरले सन् २०२५ सम्ममा तीन वटा हेलिकोप्टर भित्र्याउने भएको छ । एयरले फ्रान्सेली कम्पनीसँग खरिद गरेको एउटा हेलिकोप्टर एक महिना भित्रमा ल्याउने तयारी गरिरहेको छ ।

एक महिनामा हेलिकोप्टर भित्र्याउने गरी खरिद भइसकेको मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले जानकारी दिए । फ्रान्सबाट निर्मित हेलिकोप्टर चरणबद्ध रुपमा नेपाल ल्याउने तयारी भइसकेको उनले बताए ।


न्यौपानेले एक वर्षमा मनाङले तीन वटा हेलिकोप्टर ल्याउने योजना बनाएको बताए । ‘फ्रान्सबाट नेपालका लागि एउटा हेलिकोप्टर पठाइसकेको छ,’ प्रबन्धक न्यौपानेले भने,’ बाँकी दुई वटा क्रमशः नेपाल ल्याइने छ । दोस्रो हेलिकोप्टरका लागि वार्ता भइरहेको छ ।

उनका अनुसार एउटा हेलिकोप्टरको मूल्य ४६ करोड पर्छ । झण्डै डेढ अर्बमा फ्रान्सेली कम्पनीसँग हेलिकोप्टर खरिद गर्न लागिएको न्यौपानेले जानकारी दिए ।

मनाङले तीन वटा हेलिकोप्टर सञ्चालनमा ल्याउने गरी योजना बनाइरहेको छ । नयाँ हेलिकोप्टरले यसअघि एयरले दिएको सुविधा पुनः दिनेछ । चार्टर उडान गर्नका लागि हेलिकोप्टर ल्याइने न्यौपानेको भनाइ छ ।

गत असारमा मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकोप्टर दुर्घटना भएको थियो । त्यहाँ देखि एयरले हेलिकोप्टर सेवा प्रदान गर्न सकेको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरलाई दिएको एयर अपरेशन सर्टिफिकेट (एनओसी) पटक/पटक निलम्बन गरिसकेको छ ।

हेलिकोप्टर आएपछि मनाङको निलम्बन फुकुवा र नवीकरण एकसाथ हुने न्यौपानेले जानकारी दिए । अहिले नवीकरण र निलम्बन गर्न प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ ।

प्राधिकरणसँग नवीकरण गर्न वार्षिक करिब तीन हजार डलर तिर्नुपरिरहेको उनले जानकारी दिए ।

सन् १९९७ मा सञ्चालनमा आएको मनाङ एयरको लाइसेन्स प्राधिकरणले सन् २००९ (वि स २०६६ साल) मा पहिलो पटक निलम्बन गरेको थियो । सन् १९९९ सम्म कम्पनीले दुई थान ‘एमआई–१७’ मोडेलको हेलिकोप्टरले उडान गरिरहेको थियो । मनाङले उडान गरेको २६ वर्ष भइसकेको छ ।

हेलिकोप्टर नभएर उडान नभए पनि मनाङले वर्षैपिच्छे नागरिक उड्डयन प्राधिकरणमा वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरण गरिरहेका थियो । प्राधिकरणले उडानमा रोक लगाएको ५ वर्षपछि सन् २०१४ अर्थात २०७१ को जेठबाट पुनः उडान सुरु गरेको थियो ।

५ वर्षपछि उडान सुरु गर्दा कम्पनीले तीन थान एयरबस ३५० बिथ्री–ई सिरिजको हेलिकोप्टर ल्याएर उडान सुरु गरेको थियो । मनाङसम्म हालसम्म दुई वटा हेलिकोप्टर थियो । कुनै समय मनाङसँग तीन वटासम्म हेलिकोप्टर रहेको न्यौपानेले जानकारी दिए  । प्राधिकरणले मनाङलाई २०७५ मा समेत उडानमा रोक लगाएको थियो ।

 

 

 

 


Author

थप समाचार
x