प्रमुख समाचार

भाेलि नारी दिवसका दिन कालापत्थरमा विशेष कार्यक्रम

नारी-दिवसका-दिन-कालापत्थ

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:५ बजे

सोलुखुम्बु : अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विश्वको अग्लो हिमाल सगरमाथाको कालापत्थर क्षेत्रमा जलवायु परिवर्तनले जनजीवनमा पारेका असर र त्यसमा न्याय खोज्न हुनुपर्ने पहलका बारेमा मङ्गलबार विशेष कार्यक्रम गरिँदै छ ।

समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० भन्दा बढी महिला पदयात्रा गर्दै यहाँ पुगेर जलवायु परिवर्तन र महिला न्यायका विषयमा कार्यक्रममार्फत राज्यका सम्बन्धित निकाय, वातावरणविद्, अनुसन्धानकर्तालगायत विश्वको ध्यानाकर्षण गराइने बताइएको छ ।

‘साथसाथै’ संस्थाको आयोजनामा हुन लागेको कार्यक्रमका लागि यही फागुन १६ गते काठमाडौँबाट प्रस्थान गरेको महिला समूह १३ दिने पदयात्राको अभियानसहित सोलुखुम्बुको लुक्ला हुँदै कालापत्थर पुगेर कार्यक्रम गर्न लागिएको हो ।

जलवायु परिवर्तनले विशेषगरी महिलाहरुको जनजीवनमा पारेका प्रभाव र त्यसको समाधानका प्रयास बारेमा बहस पैरवी गर्दै १० बुँदे ‘कालापत्थर महिला घोषणापत्र’ समेत जारी गरिने आयोजक संस्था ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले बताइन् ।

“हामी जलवायु परिवर्तन जस्ता प्रकृतिले उब्जाएका ज्वलन्त समस्याका साथमा घरेलु र अन्तर्राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेका छौँ । यस्ता नकारात्मक प्रभाव विश्वव्यापी समस्या हुन् । तसर्थ यसबाट उत्पन्न समस्या समाधानमा सामूहिक प्रयत्न अपरिहार्य छ भन्ने बोध गरेर नै यो अभियान प्रारम्भ गरेका हौँ”, उनले भनिन् ।

कालापत्थर महिला घोषणासँगै आगामी दिनमा ‘साथसाथै’को यो अभियान सातवटै प्रदेशमा पु¥याउने लक्ष्य राखिएको छ । पदयात्राका क्रममा कालापत्थर क्षेत्रका स्थानीय महिलासँग पनि अन्तरक्रिया गर्ने अवसर प्राप्त भएको अध्यक्ष कार्कीले बताए ।

पदयात्रामा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त यशोदा तिम्सिनालगायत हुनुहुन्छ भने कार्यक्रममा सहभागी हुन बलिउडकी वरिष्ठ अभिनेत्री मनिषा कोइराला, संयुक्त राष्ट्र सङ्घको महिलामाथिका सबै विभेद अन्त्य गर्ने महासन्धिका सदस्य वन्दना राणा, वन तथा वातावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा राधा वाग्ले, वरिष्ठ पत्रकार बबिता बस्नेत, अधिकारकर्मी सरु जोशीलगायत मङ्गलबार यहाँ आइपुग्नुभएको छ ।

विश्वमा हरित ग्यास उत्सर्जनले तापमानमा आएको वृद्धिसँगै जलवायु परिवर्तनका विविध असर देखिन थालेका छन् । हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि बढ्दो तापमान र जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको छ ।

पृथक भौगोलिक अवस्था र विभिन्न उचाइमा अवस्थित पारिस्थितिकीय क्षेत्र, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, गरिबी, सीमान्तकृत समुदाय र न्यून क्षमताका कारण नेपाल विश्वकै सबैभन्दा सङ्कटापन्न र जोखिमयुक्त मुलुकमध्येमा पर्न गएको देखिन्छ । यस विषयलाई पनि पदयात्रा अभियानका प्राथमिकताका साथै उजागर गरिएको छ ।

पदयात्राको व्यवस्थापन एलिट एक्सिपिडले गरेको छ भने उक्त अभियानमा नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, एनटिएनसी, युएनडिपी, इसिमोड, डब्लुडब्लुएफ, नेपाल एयरलायन्स, एसियन फर्मासिटिकल्स, नेशनल रेफेरेन्स ल्याबरोटेरीलगायत निकायको सहयोग रहेको आयोजक संस्थाले जनाएको छ । रासस



Author

थप समाचार
x