रीतिरिवाज

धनकुटाको दसैँघरमा फूलपाती भित्र्याइयो

इकागज |
असोज १६, २०७९ आइतबार २०:१६ बजे

फाइल फोटो

काठमाडौँ- नेपाली हिन्दूहरुको महान् पर्व विजयादशमीको सातौँ दिन धनकुटामा पनि दसैँघरमा फूलपाती भित्र्याइएको छ । धनकुटा नगरपालिका–५ बालमन्दिर बडहरेबाट नेपाली सेनाले ल्याइएको फूलपातीलाई धनपा–६ स्थित निशान मन्दिरको दसैँ घरमा भित्र्याइएको हो ।
 

फूलपातीका अवसर पारेर मन्दिरबाट डोलीमा निशान बोकेर बजार परिक्रमा गरी धनकुटाको तल्लो टुँडिखेलमा एक समारोहबीच विशेष पूजा गरी फूलपाती बढाइँ गरिएको थियो ।
 
फूलपाती कार्यक्रममा धनकुटामा रहेको जङ्गी निशान, शिरजङ्ग निशान र इन्द्रध्वज निशानलाई नेपाली सेना, सशस्त्र र जनपथ प्रहरीले सलामी दिएका थिए । मन्दिरमा अष्टमी र नवमीमा बलि पूजा गरिने र दशमीको दिन यस दसैँ घरबाट जमरा लगेर घरघरमा टीका लगाइने निशान भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिए ।
 
पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा विसं १८३१ ताका यहाँ निशानको स्थापना गरी गोर्खाबाट हनुमानढोकामा फूलपाती भित्र्याउने परम्पराअनुसार धनकुटामा पनि दसैँ घरमा फूलपाती भित्र्याउने परम्परा रहिआएको छ ।



Author

थप समाचार
x