रीतिरिवाज

सरकारले यस वर्ष पनि च्याङ्ग्रा नबेच्‍ने

इकागज |
असोज १३, २०७८ बुधबार १४:५४ बजे

काठमाडौँ - सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैँका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ ।  दसैँका लागि च्याङ्ग्राको बिक्री वितरण गर्ने तयारी गरेको कम्पनीले अभावका कारण बिक्री नगर्ने जनाएको हो । बजार मूल्यलाई नियन्त्रण गर्न कम्पनीले दसैँमा खसी बोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको भए पनि यसवर्ष खसी/बोका मात्र बिक्री हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए ।

उनका अनुसार बजार मुल्य नियन्त्रण गर्ने निकायले नै बढी मुल्यमा बिक्री वितरण गर्नुभन्दा नल्याउने निर्णय भएको हो । 'एक हजार च्याङ्ग्रा ल्याउने निर्णय अनुसार हामीले तयारी थालेका थियौँ, कोरोना सङ्क्रमणका कारण यस वर्ष तिब्बत्बाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा धेरै महँगो भएर ल्याइएन,' उनले भनिन् । कम्पनीले गत वर्षको दसैँमा पनि च्याङ्ग्राको मूल्य बढेको भन्दै बिक्री वितरण गरेको थिएन ।


मुस्ताङबाट च्याङ्ग्रा नआए पनि दाङ र मकवानपुरको पहिलो लटमा एक हजार ७०० खसी तथा बोका ल्याउने तयारी पूरा भएको जनाएको छ । सूचना अधिकारी न्यौपानेले दाङबाट एक हजार र मकवानपुरको ७०० खसी तथा बोका ल्याउने तयारी भएको जनाउँदै आवश्यकता अनुसार थप खरिद गर्ने जानकारी दिए । दुई जिल्लाबाट ल्याइएको खसी तथा बोका कम्पनीले थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट फूलपातीको दिनबाट बिक्री सुरु गर्ने जनाएको छ । 

कम्पनीले दसैँका लागि प्रति किलो खसी तथा बोकामा रु दश छुट दिएको छ । यही असोज १ गतेदेखि कम्पनीले ३९ जिल्लाका ४३ बिक्री केन्द्रबाट चामल, दाल, चिउरा, पिठो र खाने तेलमा रु पाँच तथा भटमासको तेल र कर्णीको सिमिमा रु १० छुट दिएको छ ।रासस


Author

थप समाचार
x