सप्ताहन्त

कथा

छद्म मृत्यु

मनोज रेग्मी |
साउन ३०, २०७८ शनिबार ७:३९ बजे

सबै बिहानीले दिनको झल्को दिँदैनन् भने जस्तै क्याफेको व्यापार खासै जमेन । क्याफे खोलेको एक हप्ता जति म निकै व्यस्त रहेँ । सोचेकै थिइनँ, क्याफे यति साह्रो व्यस्त हुनेछ । त्यसैले स्टाफ नै नराखी आफैँ कस्सिएको थिएँ । अस्ट्रेलियामा चार वर्ष बरिस्टा भएर काम गरेको अनुभव थियो, त्यसैले नेपाल फर्केर पनि क्याफे नै खोल्ने सोच बनाएको थिएँ । 

एक हप्तापछि चहलपहल निकै पातलो हुँदै गयो । बिस्तारै क्याफे सुनसान हुन थाल्यो । तर अचम्म ! यस्तो अवस्थामा पनि क्याफेले एकजना नियमित ग्राहक भने पाएको थियो । उनी सधैँ एउटै समयमा आउँथे । बिहानदेखि साँझसम्म क्याफेमै बिताउँथे । खै के के पढ्थे ! प्राय: उनी किताबमै घोत्लिरहेका हुन्थे । 


क्याफे सुनसान हुन थालेपछि म पनि फुर्सदमै भएँ । बिस्तारै उनीसँग म नजानिँदो पारामा नजिकिँए । 

उनी उमेरमा निकै पाका थिए । अनुहारमा झप्प जुँगादाह्री पालेका थिए, जुन फुलेर सेतै भएका थिए । जुँगामा चुरोटको धुवाँले छोडेको पहेँलो दाग प्रष्टसँग देखिन्थ्यो ।  झट्ट हेर्दा हामीले स्कुल पढ्दा किताबमा देखेको लेखनाथ पौड्याल जस्तै देखिन्थे । फरक यत्ति थियो, लेखनाथलाई हामीले सधैँ श्याम-श्वेत फोटोमा देखेका थियौँ, मेरो आँखा अगाडिका व्यक्ति भने पुरै रंगिन थिए । उनी प्राय: आकाशे निलो रंगको कमिज र घ्यू रंगको पाइन्ट लगाउँथे । उन्को टाउकोमा रातो क्याप कहिल्यै टुट्दैनथ्यो । प्रायजसो अनुहारको नाममा म उनको नाक मात्र देख्‍न सक्थेँ । कफि लिएर टेबलमा जाँदा कृतज्ञता जनाउन मुन्टो उठाउँदा मात्र म उनका आँखाहरू देख्‍न सक्थेँ । अरूबेला त उनको नजर किताब वा डायरी जस्तो केहीमा अडिइरहेको हुन्थ्यो । बोल्न पनि निकै कम बोल्थे । 

बिस्तारै कुशलक्षेम सोध्ने क्रम तन्किएर सँगै कफी पिउने साथी जस्तै भएका थियौँ । बिस्तारै उनी खुल्दै पनि थिए । म पनि उनको साथमा रमाउन थालेको थिएँ । हामी दुईलाई जोड्ने र नजिक्याउने काम साहित्यले गरेको थियो । 
कुरा गर्दै जाने क्रममा थाहा भयो, उनी त साहित्यकार पो रहेछन् । अझ उनले लेखेका दुईवटा पुस्तकहरू त मैले पढेको पनि थिएँ । मलाई निकै मन पनि परेका थिए । ती किताबहरू माथि मैले कनिकुथी समीक्षा पनि लेखेको थिएँ । तर त्यस्ता प्रख्यात लेखक आजकल अचम्मसँग भूमिगत जस्तै भएका थिए । किताबको कभर र अन्तर्वार्ताहरूमा देखेकोभन्दा क्याफेमा देखेको उनको रूप बिल्कुल फरक थियो । त्यसकारण पनि मैले उनी तिनै साहित्यकार हुन् भनेर ठम्याउन सकेको थिइनँ । 

केही समय बोलचाल भएपछि उनी आफैँले आफ्नो परिचय दिएका थिए । उनी छद्म नाममा किताब निकाल्थे, त्यसैले पनि उनको असली नाम कमैलाई मात्र थाहा थियो । मलाई भने उनले आफ्नो साहित्यिक र व्यक्तिगत दुवै परिचय दिएका थिए । त्यसपछि उनको असली नाम थाहा पाउने निकै कम मध्येमा म पनि परेको थिएँ । 

गफैगफमा मेरो साहित्यप्रतिको रूचिलाई सम्बोधन गर्दै एकदिन उनले भने- ‘ऋषि जी, मैले तपाईँले मेरो किताब माथि लेखेका समीक्षाहरू पढेको थिएँ, राम्रो लेख्‍नुभएको थियो । अरूहरूले लेख्दै आएको भन्दा फरक पनि लागेको थियो । त्यस्तै सन्तुलित पनि । तपाईँको लेखनी पनि राम्रो छ है । तपाईं आफ्नै केही किन लेख्‍नुहुन्‍न ?’

‘धेरै धन्यवाद, दाइ ! मैले यसलाई हजुरको आर्शीवादको रूपमा लिएको छु । लेख्‍न बिस्तारै सिक्दैछु । सिकारू लेखकहरूलाई कसैले नपत्याउने के, दाइ ! लेख्‍न त लेखिरहेकै हुन्छु नि, कसैले पत्याउँदैनन् र पो ! लेखेर कति ठाउँमा पठाएँ, कहिल्यै प्रकाशित भएनन् । प्रकाशन त परको कुरा केही प्रतिक्रियासम्म पनि आएन ।  जताततैबाट निराशा सिवाय केही हात लागेन । हजुरको किताबको समीक्षा पनि एउटा अनलाइन पोर्टलले छापेको थियो, त्यही पनि पढ्नुभएछ, खुसी लाग्यो ।’ आफ्नो प्रिय लेखकको मुखबाट आफ्नो तारिफ सुनिरहँदा खुसीले मख्ख परेरै यत्तिको जवाफ फर्काएको थिएँ । 

‘त्यो त एकदम सही भन्‍नु भो ! तपाईँलाई थाहा छ, आजकल नाम चलेका वा भनौँ स्थापित लेखकहरूलाई त कर गरी गरी लेख्‍न लगाउँछन् नि ! नाम चलेका लेखकहरूको त लेखको स्तर र विचारले कुनै महत्व नै राख्दैन । कतिले त लेखेर फाल्दिएको थिएँ, आएछ भनेर सम्म घमण्ड गर्छन् । तर जे होस्, लेख्‍न चाहिँ नछाड्नुहोला है, ऋषि जी !’ सायद उन्ले आफ्नो अनुभब सुनाएका थिए । 

‘ प्रयास गर्नेछु, दाइ, के सबै छापाहरू त्यस्तो हुन्छन् र ?’

‘सबै होइनन्, प्राय: त्यस्तै हुन्छन् !’

‘ए साँच्ची हजुरको नयाँ किताब कहिले आउँछ त अब ? धेरै भयो नयाँ किताब नआएको पनि ?’

यो प्रश्नले भने उनको मुहारमा एकाएक परिवर्तन आयो । सलल बगेको संवादलाई बिट मार्दै उन्ले कफीमा आफ्नो ध्यान केन्द्रित गरे । मलाई भने बेक्कारमा सोधेछु भन्‍ने थकथक लाग्यो । 
लगभग दुई मिनेट जति सोचेपछि उनी बोले । भने-‘लेखेको छु । अन्तिम चरणमा पुनर्लेखन गर्दैछु ।’

यति भन्‍न पनि किन समय लिए बुढाले ? भन्‍ने पनि लागेको थियो । तर सोध्न चाहिँ सकिनँ । 

कुरैकुरामा एकदिन उनले सोधे- ‘ऋषि जी, किताब लेख्‍ने विषयमा तपाईँको विचार के छ ?’

‘तपाईँलाई के ढाँट्नु, केही कथाहरू संकलन गरेको छु, तर छाप्ने आँट भने अझै पलाइसकेको छैन । ’
‘किन नि ?’

‘खै, त्यस्तो कारण त केही छैन । आफ्नो लेखनीमा दम छ जस्तै लाग्दैन, त्यसैले !’

‘खै मिल्छ भने मलाई दिनुस्, म पढेर प्रतिक्रिया दिउँला । हुन्छ ?’

‘ओहो, त्यो त गज्जब हुन्छ नि !’

‘म बेलुका पेनड्राइभमा हालिदिन्छु अनि लानु होला, है? हजुरको प्रतिक्रिया पाए त मेरा कथाहरू त्यसै धन्य हुनेछन्’ फुरुक्क परेर भनेको थिएँ । 

‘म केही कामहरू गर्नुपर्ने भए सुझावहरू पनि दिउँला । यो विषयमा म अलि छुचो छु नि, जे हो त्यो फ्याट्ट भनिदिन्छु । कमजोरी औंल्याइदिँदा हतोत्साहित हुने भए चाहिँ नदिनुहोला नि फेरि’

‘त्यस्तो हुँदैन, त्यो त म पचाउन सक्छु । मलाई थाहा छ मेरा कमजोरीहरू छन्, तर औंल्याइदिने हजुरजस्तो मान्छे पाए त मलाई मार्गदर्शन नै हुनेछ । मेरा लागि धेरै ठूलो सहयोग हुनेछ ।’

त्यो साँझ उनी गैसकेपछि पो बल्ल सम्झिएँ, पेन्ड्राइभमा दिने भनेको कथा दिन त भुसुक्कै बिर्सिएछु । भोलिपल्ट पनि उनी सधैँको समयमा क्याफे आए । त्यो दिन भने उनी केही हतास र थकित देखिन्थे । उनको हातमा ठूलो फाइलजस्तो केही थियो । उनलाई देख्‍नासाथै उनको मनपसन्द अमेरिकानो बनाएर उनको टेबलमा राखिदिएँ ।

उनी सोचमग्न थिए, त्यसैले केही बोलिनँ । उनको ध्यानभंग गरिदिन मन पनि लागेन । बरू काउन्टरमा गएँ, आफूलाई पनि एक कप लाते बनाएँ र त्यसैको मजा लिन थालेँ । केहीबेरको उनको ध्यान भंग भए लगत्तै मतिर हेरे र एक यन्त्रवत् मुस्कान मिल्क्याए । मैले त्यो मुस्कानलाई निमन्त्रणाको रूपमा लिएँ र सधैंझैं उनी बसेकै टेबलमा गएर बसेँ । जब आत्मीयता बढ्छ, अनुहारका हरेक भावभङ्गीले संवाद गर्न सक्छन् भन्‍ने मैले बुझेको थिएँ । म उनी नजिकै गएर बस्दा पनि उनको टोलाउने सिलसिला भने जारी नै थियो । मैले नै कुराकानीको सुरूवात गर्दै भनेँ-‘के भयो आज हजुरलाई? चिन्तित देखिनुहुन्छ ? अनुहार पनि मलिन देख्छु ? सन्चो छैन कि कसो ?’

‘ठीकै छु भनुम्, ऋषि जी ’ उनले बताउन चाहेनन् । 

‘केही समस्या भए भन्‍नुस् है । मिल्ने र सक्ने भए सहयोग गरौंला नि ’उनले असहज मानेझैं लागेर कुरा खोतल्ने हेतुले मैले भनेको थिएँ । मेरो कुरा सुनेपछि आफ्नो टेबलको छेउमा राखेको फाइल र मलाई पालैपालो हेर्दै उनले भने, ‘हेर्नुस् न ऋषि जी, यो मेरो नयाँ किताबको पाण्डुलिपि हो । कतिवटा प्रकाशन गृह धाइसकेँ, कसैले छाप्न मान्दैनन् । भन्छन्, म आउटडेटेड भएँ रे । मेरो लेखनशैली एकैनाशको टिठ्लाग्दो भयो रे । पाठकले पढ्नै छोडिसके रे मेरा किताब । आजसम्म मैले लेखेका अरू किताबहरूमा भन्दा बढी मिहिनेत र प्रयोग गरेर लेखेको किताब नै नछापिँदा साह्रै तनाव हुने रहेछ ।’

उनको समस्या सुनेपछि मलाई के प्रतिक्रिया दिने भन्‍ने नै आएन । कहिलेकाहीँ यस्तै हुन्छ, मनको कुरा मुखसम्म आइनपुग्दै कतै बिलाइजान्छन् । त्यही पनि बल्ल बल्ल भनेँ, ‘ ओहो, कस्तो ठूलो समस्या परेछ, है !’

उनले थपे, ‘ऋषि जी, यतिबेला मेरो समस्या किताब छापिएन भन्‍ने भन्दा पनि अर्कै छ । पूर्णकालीन लेखक हुने भनेर भएको सरकारी जागिर पनि छोडिहालेँ । सुरूका दुईटा किताब त बेस्टसेलर नै भए । त्यसबाट आएको रोयल्टीले आजसम्म चलेकै थियो, तर पछिल्ला पाँच किताब भने खासै चलेनन् । त्यसबाट रोयल्टी त आएन आएन, प्रकाशन गृहहरूको विश्वास पनि गुमाउन पुगेँ । आजकल त मेरो पाण्डुलिपि नै नपढीकन मेरो किताब छाप्‍न अस्वीकार गर्छन् । यतिबेला म ठूलो आर्थिक संकटमा परेको छु, ऋषि जी । मान्छे पाए यही पाण्डुलिपि नै बेचिदिन्थेँ । मलाई अहिलेको गर्जो टार्नु छ, बस । ’

उनको कुराले म त एकछिन भावशून्य भैगएछु । कताकता टोलाइरहेको रहेछु । उनी फेरि बोले । यसपटक भने उनको बोलीले म रन्थनिएँ । उनले वाक्यको अन्तिममा एकदम अप्रत्याशित प्रश्न झुन्ड्याइदिएका थिए । उनले एक्कासी सोधेका थिए, ‘ कि तपाईँ नै किन्‍नुहुन्छ, ऋषि जी ?
उनको त्यस प्रश्नमा म झस्किएँ । 

उनले मेरो मुहारमा एकाएक आएको परिवर्तन सहजै बुझ्न सक्थेँ । साहित्यकारहरू यस्तै हुन्छन्, उनीहरू किताब मात्रै पढ्दैनन्, अनुहार पनि पढ्छन् । अनुहार हेरेरै उनीहरू कसैको मनोदशा बुझिदिन सक्छन् । त्यो दिन पनि भएको त्यही हो । 

केहीबेर म अक्क न बक्क भएको देखेपछि उनी गलल्ल हाँसे । उनको अट्टहासले खाली क्याफे पूरा गुन्जायमान भयो । मैले बुझेको थिएँ, हाँसेर उनी आफ्नो प्रश्नले निम्त्याएको असहज परिस्थितिलाई टार्न चाहन्थे । तर म भने उनको प्रश्नमा कुनै ह्यूमर देखिरहेको थिइनँ । उनको हाँसोले मात्र म विश्वस्त नभएको देखेपछि स्थितिलाई सामान्य बनाउने हेतुले भने, ‘ तपाईँ पनि त्यसै तर्सिनुभयो । मैले त मजाक गरिरहेको थिएँ ।’

‘कृपया त्यस्तो भयनाक मजाक नगर्नुहोला, दाइ । बरू अरु केही हो भने म सहयोग गर्न तयार छु ’मैले अलि चिढिएझैं गरी भनेँ । 

‘भनिहाल्नुभयो, मलाई सानो सहयोग गर्न सक्नुहुन्छ ?’ एकछिन अडिएर फेरि थपे, ‘आर्थिक ?’

केही सम्झिएझैँ फेरि उनी नै बोले, ‘ए साँच्ची, तपाईँ एउटा राम्रो पाठक पनि हुनुहुन्छ, त्यसैले यो जताततै अस्वीकार भएको पाण्डुलिपि पढेर प्रतिक्रिया भए पनि दिनुहुन्थ्यो कि भनेर । यी मैले त बोकेरै ल्याएको छु ।’

उनले साथमा बोकेर ल्याएको ठूलो फाइलजस्तो चिज त उनकै पाण्डुलिपि पो रहेछ । पाण्डुलिपि मलाई थमाउँदै चुरो कुरा बल्ल चुहाएँ । भने, ‘मलाई केही समयलाई अलिकति पैसा चाहिएको थियो । अलिअलि तिरन-तारन थियो । तपाईंसँग छ भने केही दिनको लागि सापटी दिन सक्नुहुन्छ ? मेरो उठ्नुपर्ने पैसा उठेपछि तिरिहाल्छु ।’

‘कति जति होला ?’ मैले सोधेँ । 

‘रकम त अलि बढी नै छ । दुई लाख जति भए अहिलेलाई काम चल्थ्यो । ’

‘ओहो, त्यति धेरै त छैन नि मसँग । हेर्नु न क्याफेमा लगानी गर्दा भएको पैसा सबै सकियो । व्यापार पनि उस्तो राम्रो छैन, तपाईँले देख्‍नु भएकै छ । काम चल्छ भने त्यसको आधासम्म चाहिँ गर्न सक्छु, हुन्छ ?’

‘नहुनुभन्दा गरिब मामा निको भन्छन् । हुन्छ त्यति भए नि । सक्दो छिटो फर्काउनेछु । अनि तपाईँको यो गुन कहिल्यै बिर्सने छैन, ऋषि जी । अहिलेलाई धितो यही पाण्डुलिपि नै भयो । हेहे ! ’ आफ्नो कुरा हाँसेर टुंग्याउने उनको बानी नै थियो । 

मैले के कसो पर्छ भनेर एक लाख रुपैँयाँ राखेको थिएँ । त्यही पैसा दिएपछि उनी खुसी भएर त्यहाँबाट निस्किए । क्याफेबाट निस्कनुअघि फर्केर आफू बसेको टेबल र मेरो हातमा थमाएको पाण्डुलिपितिर एक कारुणिक नजर मिल्काए; मलाई धन्यवाद भने, र त्यहाँबाट निस्किए । 

मलाई यो सब अनौठो लागिरहेको थियो । उनले मलाई उनको पाण्डुलिपि पढ्न दिएका थिए या साँच्चै नै धितो राखेर पैसा लगेका थिए, मैले केही बुझ्न सकिरहेको थिइनँ । उनले किताब नै नदिएको भएपनि त्यति पैसा त म मेरो उनीप्रतिको विश्वास र सम्मानको भरमै दिन सक्थेँ, मेरा प्रिय लेखक जो थिए । तर जुन कुराको आवश्यकता थिएन, त्यही कुरा उनले ठट्यौली पारामा दोहोर्याएको मलाई मन परेको थिएन ।

अचम्म पनि नलागेको कहाँ हो र ! दिउँसो जे भएपनि बेलुका क्याफे बन्द गरेर कोठामा पुग्दा म खुसी नै थिएँ । आफ्नो प्रिय लेखकको गर्जो टार्न पाएकोमा र कुमार पाण्डुलिपि पढ्न पाएकोमा मन फुरूङ्ग भएर अन्तरिक्षमा तैरिरहेको अन्तरिक्षयात्रीझैं हावामा कतै तैरिरहेको थियो । 


पैसा लिएर गएको हप्तौं उनी देखा परेनन् । बरू पैसा लिएर गएको ६ हप्तापछि क्याफेमा आएको एउटा स्थानीय पत्रिकाको खबर पढेर म खङ्ग्रङ्ग भएँ । समाचारको हेडलाइन थियो, ‘वरिष्ठ साहित्यकार मर्सीले गरे आत्महत्या ।’

समाचारमा लेखिएको थियो -
पोखरा-८, सिमलचौर निवासी ६० वर्षीय लेखक तथा साहित्यकार अन्जान मर्सीले महेन्द्र पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार हिजो दिउँसो करिब साढे दुई बजेतिर महेन्द्र पुल माथि ओहोरदोहोर गरिरहेका उनी चार-पाँच पटक यताउता गरेपछि एक्कासी पुलबाट हाम फालेका थिए । 

त्यसपछिको समाचार पढ्ने हिम्मत ममा भएन । समाचारले मलाई नराम्ररी हल्लाइदियो । त्यो समाचार पढ्नासाथै उनले मसँगबाट लगेको पैसाभन्दा पनि पाण्डुलिपिको झल्झली याद आइरह्यो । मान्छेलाई सबैभन्दा छिटो छुने र त्यति नै छिट्टो त्यसबाट बाहिर निस्कन सक्ने गरी छुने भनेको कसैको मृत्युले हो । मसान वैराग्यजस्तो क्षणिक संवेदना अरू केही हुनै सक्दैन । तर त्यो लेखकको मृत्युले भने मलाई सजिलै छोड्नेवाला थिएन । त्यसको एक मात्र कारण थियो, मसँग भएको उनको हस्तलिखित पाण्डुलिपि । 

उनको मृत्युको खबर पढेको एक हप्ता क्याफे खोल्नै मन लागेन । क्याफे उसै त बन्द जस्तै थियो, त्यसैले केही दिन नखोल्दैमा बितिजाने केही थिएन । मलाई घर बस्ने बहाना पनि चाहिएको थियो । त्यो पाण्डुलिपि उपयुक्त बहाना हुन सक्थ्यो । क्याफेको कामभन्दा पनि घरायसी कामले केही समय फुर्सद नमिलेकाले पनि त्यो पाण्डुलिपि अझै कुमार नै थियो । लाग्यो, पाण्डुलिपि पढ्ने योभन्दा उपयुक्त समय अरू हुनै सक्दैन । त्यसैले चारपाँच दिनलाई क्याफे नखोल्ने निर्णय गरेँ । उनले दिएको पाण्डुलिपि मैले मेरो खाटको सिरानीमा राखेको थिएँ । कालो रंगको डायरीमा थियो, उक्त पाण्डुलिपि । खोल्नुअघि बिस्तारै सुम्सुम्याएँ । एकैपटक म दुइटा भावनाबाट गुज्रिरहेको थिएँ । 

एकातिर, समाचारले गर्दा हातहरू लगलग काँपिरहेका थिए भने मनमा एक किसिमको सन्तुष्टि पनि थियो । त्यो किन भने मलाई लाग्न थालेको थियो, संसारमा सायदै यस्तो भाग्यमानी व्यक्ति होला, जसले आफ्नो मन पर्ने लेखकको किताब अरू कसैले पढ्नुअघिनै पढ्न पाएको होस् । म त्यो किताबको पहिलो पाठक थिएँ र सायद अन्तिम पनि । उनले मलाई पाण्डुलिपि दिनुअघि भनेका थिए, ‘ यो किताब मैलेबाहेक अरू कसैले पनि पढेको छैन, पढेको भए, छाप्थे । पढेनन्, त्यसैले यो आजसम्म पनि कुमार नै छ । यो किताबमा परेको मेरो मिहिनेतलाई कसैले पत्याएनन्, ट्रयाजेडी त्यही भैदियो ।’ 

बिस्तारै पहिलो पृष्ठ पल्टाएँ । त्यसमा उनले लेख्‍न बसेको ठाउँ र सुरू गरेको मिति र समय टिपेर राखेका रहेछन् -२०७५ असार १५ । पोखरा- ८, सिमलचौर । राति १०:१५ बजे । उनका अक्षर निकै आकर्षक बान्की मिलेका थिए-अखबारमा छापे जस्तै । दोस्रो पानामा ठूलो अक्षरमा आफैं डिजाइन गरेर किताबको शीर्षक लेखेका थिए । शीर्षक थियो-छद्म मृत्यु । 

किताब सुरू गरेपछि छोडेनै मन लागेन । बिहान खानासाना खाइओरी पढ्न सुरू गरेको थिएँ । बेलुका खाना खानेबेलासम्म तुर्‍याएँ । किताबले नराम्ररी बिथोलिदियो । किताबको कथा, कथावाचन र पात्रहरूको सम्बन्धको गज्जबको चित्रण पढेर म कायल भएको थिएँ । यसअघि मैले पढेका उनका अरू किताबहरू भन्दा यो विशिष्ट थियो । उनले धेरै प्रयोग गरेर लेखेका थिए । अघिल्ला आफ्नै शैली जसलाई पुरानो र टिठ्लाग्दो भनिएको थियो, ती सब उनले यसमा भत्काएका थिए । जुन निकै चुनौतीपूर्ण र जोखिमयुक्त काम थियो । त्यसैले उनले भनेजस्तै खुब मिहिनेत गरेको देखिन्थ्यो, पाण्डुलिपिमै पनि । आजकलको जमनामा पनि हस्तलिखित पाण्डुलिपि तयार पार्नु आफैंमा मिहिनेतको एउटा परिचय थियो । 

हुन त आजकल पैसा खर्च गरेरै पनि किताबहरू छापिन्छन्, तर मलाई त्यसो गर्न पटक्कै मन थिएन ।

किताबको मुख्य कथा एउटा मालिक र नोकरबीचको सम्बन्धबारे थियो । कथाको दुई मध्येको एक मुख्य पात्र नोकरले अर्को मुख्य पात्र मालिकले आफूलाई कत्तिको माया गर्छ भनी जाँच्न आफू मरेको झुटो अफवाह फैलाउँछ । त्यो समाचार मालिककोमा पुगेपछि उसको मृत्युको खबरमा मालिकको के प्रतिक्रिया हुन्छ भनी जान्‍न चहान्छ । तर मालिकले उसको मृत्युमा उसले सोचेजस्तो धेरै समय दु:ख मनाउ गरेर बस्दैन, बरू हप्ता दिनमै अर्को नोकर खोज्छ र उसको कामको जिम्मेवारी उसलाई दिइदिन्छ । त्यो देखेर भूपु बनेको नोकर रिसले चुर हुन्छ र अन्त्यमा त्यत्तिका वर्ष सेवा गरेको मालिककै हत्या गरिदिन्छ । रोचक त के हुन्छ भने हत्याको आरोपमा वर्तमान नोकर गिरफ्तारीमा पर्छ र कथा टुङ्गिन्छ । 

किताबले मलाई एकदम मीठोसँग छोएर गएको थियो । वास्तबमै किताब राम्रो थियो । किताबले मेरो मनमा अनेक तर्कना खेल्ने रंगशालाको निर्माण गरिसकेको थियो । हुन त मान्छे तबसम्म आदर्शवादी भई बस्न सक्छ, जबसम्म उसको अगाडि उसलाई डगमगाइदिने कुनै कुरा फेला पर्दैन । अक्सर मान्छेलाई उसको महत्वाकांक्षाले नै इमान्दारीबाट पदच्यूत गराइदिने गर्छ । किताब पढिसकेपछि मेरो पनि नियत डगमगाउन थाल्यो । कस्तो कस्तो विचारहरू टाउकोमा किराहरूझैँ सल्बलाउन थाले ।

मेरो नियत डगमगाउनुमा मुख्य भूमिका मेरो लेखक बन्‍ने सपना वा भनौं महत्वकांक्षाले नै खेलेको थियो । लागिरहेको थियो-यो पाण्डुलिपि मसँग भएको कसैलाई पनि थाहा छैन । त्यही पनि मेरो पैसा पनि त फसेको छ । यो किताब त्यसै खेर जान दिन हुन्‍न भन्‍ने पनि लाग्यो । किताब छाप्न उनलाई प्रकाशकहरूले विश्वास नगरेर त नछापिएको थियो । नत्र उनी आर्थिक समस्यामा अवश्यै पनि फँसने थिएनन् । अब त उनी जिवित पनि थिएनन् । धेरै सोचविचार गरेपछि अलिकति किताबको माया, अलिकति आफ्नै स्वार्थ राखेर आफ्नै नाममा किताब छाप्ने निर्णयमा पुगेँ । 

त्यसपछि किताब छाप्न प्रकाशकहरू कहाँको दौडधुप सुरू गरेँ । उनी एउटा स्थापित लेखक भएर त्यत्रो धाउँदा पनि किताब प्रकाशन गर्न सकेका थिएनन्, म त झन् लेखनको दुनियाँमा बिल्कुल नयाँ थिएँ । मैले पनि ठूलै पापड बेल्नु पर्ने हुन्थ्यो । हुन त आजकल पैसा खर्च गरेरै पनि किताबहरू छापिन्छन्, तर मलाई त्यसो गर्न पटक्कै मन थिएन । 

लगभग ६ महिना दौडधुप गरेपछि एकजना पाण्डुलिपि पढ्न तयार भए । उनले भनेका थिए- ‘नयाँ हुनुहुँदो रहेछ, गाह्रो हुन्छ नि नयाँ लेखकको किताब चल्न । त्यही पनि पाण्डुलिपि र सम्पर्क नम्बर छोडिराख्‍नुस् म पढेर खबर गर्छु नि, हुँदैन ?’

‘किताब लेखन नयाँ भएपनि मेरा केही कथाहरू प्रकाशित छन् । आजसम्म राम्रै प्रतिक्रिया पाइरहेछु । त्यहीँबाट उत्प्रेरणा मिलेर नै यो किताब लेख्‍न तम्सिएको हुँ । हुन्छ नि, एकपटक पढी हेर्नु न ’मैले आग्रह गरेको थिएँ । 

पाण्डुलिपि पढ्छु भनेपछि नछोड्ने कुरा पनि भएन । पाण्डुलिपि छोडेर, म त्यहाँबाट निस्किएँ । 

पाण्डुलिपि छोडेको एक महिनापछि प्रकाशकले फोन गरे । नम्बर नयाँ थिएन । उनको नम्बर मैले सेभ गरेर राखेको थिएँ । नम्बर देख्‍नासाथै मनमा ढ्याङ्ग्रो ठोक्न थालिहाल्यो । तर पनि के के सोच्दै फोन उठाएँ । 
‘ ऋषि जी बोल्नुभा’को हो ?’-उताबाट आवाज आयो । 

‘हजुर म बोल्दैछु ’काँपेको स्वरमा भनेँ । 

‘ म मनोज बोल्दैछु । अघिल्लो महिना हजुर हामी कहाँ पाण्डुलिपि लिएर आउनु भएको थियो ।’ बिर्सेको त कहाँ थिएँ र ! तैपनि उनले सम्झाउदै भने । 

‘हजुर..हजुर ! चिनेँ ! भन्‍नु न !’ मलाई सिधै चुरो कुरो जान्‍नु थियो । 

‘मैले पाण्डुलिपि पढेँ । राम्रो पनि लाग्यो । हामी छाप्न तयार छौं । यसो गर्नु न, हल्का भाषामा काम गरेर एकपटक फेरि हेरौँ न । के भन्‍नुहुन्छ ? कन्टेन्ट ठीक छ, अलिअलि काँटछाँट गरी हेरौँ न, है ?’

‘ए भैहाल्छ नि ! त्यसो भए म पाण्डुलिपि लिन आउँछु है त ! ’- खुसी र डर मिश्रित स्वरमा मैले भनेँ । दुई मिनेट बोलिसक्दा मेरो शरीर पसिनाले छप्प भिजेको थियो । 

केही समय लगाएर केही काँटछाँट गरेँ । तर प्रकाशकले मेरो काम चित्तबुझ्दो मानेनन् । बरू पुरानै ठीक छ भनेर पुरानैमा सम्पादन गरे । अन्तत: मेरो केही योगदानविनै किताब छापियो । 

किताब बजारमा गैसकेको थियो । किताब आफूले नलेखेको भएर हो कि किन हो, ममा कसैलाई किताबबारे बताउने, बहस गर्ने कत्ति पनि आँट र आत्मविश्वास नै भएन । किताबमा अपनत्व भएन भने धेरै कुराको सामना गर्न असमर्थ भइँदो रहेछ । धन्‍न, सबै कुरा प्रकाशकले नै जिम्मा लिइदिएका थिए र मलाई धेरै सजिलो भयो । 

वास्तबमा भन्‍नुपर्दा प्रकाशन भएर पहिलो कपी हातमा पर्दा म हिलियम भरिएको बेलुनझैँ फुरूङ्ग भएको थिएँ । तर जब त्यसलाई हातमा लिएर सुम्सुम्याउन थालेँ, एक्कासी हिलियम भरिएको बेलुनको हावा फुस्क्यो । म चाउरिएँ । घाम लागेको मेरो अनुहार एक्कासी पछुतोको बादलले छोप्यो । हातहरू लगलगी काँप्‍न थाले । 

किताब छापिनुपथ्र्याे, छापियो । तर किताब छापिएर आइसकेपछि भने मेरो चैन हरायो । निन्द्रा पर्न छाड्यो । भोक लाग्न छोड्यो । म पश्चतापको भूमरीमा फसेँ । सपनामा पनि तिनै लेखक आउँथे । उनको हातमा पाण्डुलिपि सधैँनै हुन्थ्यो । मेरो नजिक आएर भन्थे ‘म आफैँले लेखेको सबैभन्दा प्रिय किताब ’ अनि किताबलाई चुम्थे अनि हाँसेर मलाई दिन्थे । म झसंग भएर ब्युझँन्थेँ । यो सपना बारम्बार दोहोरिन थालेको थियो । 

मेरो मन:स्थिति यस्तो भएको थियो, तर बजारमा किताबको माग बढ्दो थियो । किताब नेपालभरि निकै चर्चामा आयो । किताबको चर्चाले खुसी हुनुपर्ने म झन् हतोत्साहित भएँ । किताब बेस्टसेलर भएपछि सबै खुसी हुन्छन् तर मेरो मामलामा ठीक उल्टो भयो । म सकभर अन्तर्वार्ताहरू टार्थेँ । बहसहरूमा भाग लिँदैन्थेँ । 

एकदिन प्रकाशकले फोन गरेर बधाइ दिए । मैले फोन उठाउनासाथ उताबाट आवाज आयो‘ ल ऋषि जी, हजुरलाई धेरै बधाई छ । हजुरको किताबले देशको एउटा प्रतिष्ठित पुरस्कार पाउने घोषणा भएको छ । ’ शरीर पुरै चिसो भएर आयो । मैले मात्र धन्यवाद भनेँ र फोन राखेँ । बाँकी कुरा जान्‍न कुनै चाख लागेन । एक हिसाबले ‘अर्काको बाछी चाट्यो मुखभरी रौँ ’भने जस्तो भैरहेको थियो । म ठूलो दोधारमा फसेको थिएँ । अब त गर्न सक्ने पनि केही थिएन ।

जबसम्म सुल्झाउन सकिने समस्या अगाडि हुन्छ, मान्छे ढुक्क हुन्छ । तर मेरो मामलामा कुरा धेरै अगाडि बढिसकेको थियो । अब पछाडि फर्कन असम्भवप्राय: थियो । झन् पुरस्कारबारे सोच्दा सोच्दा मेरो टाउको पड्केला जस्तो तातो भैसकेको थियो, यत्तिकैमा फेरि फोन बज्यो । फोन उठाएँ तर केही बोलिनँ । बोल्नै सकिनँ । जाबो एक शब्द ‘हेलो’ पनि मुखबाट निस्किएन, आवाज मन र घाँटीबीचको गल्छिमा कतै अल्झेको जो थियो । 
फोनको अर्कोतिरबाट कसैले भन्यो, ‘बधाई छ ऋषि जी, तपाईँको किताब बेस्ट सेलर भएछ ।’

फोनको अर्कोतिरबाट आइरहेको त्यो परिचित आवाज सुन्‍नासाथै म खङ्ग्रङ्ग भएँ । रिसिभर हातबाट चिप्लियो । म जहाँकोतहीँ जमेँ ।


Author

थप समाचार
x