शरद शृंखला
कलम र कुचीमा बाङ्देलको उचाइ र गहिराइ
पढाइ सकेर कलकत्तामा सन् १९४७ देखि १९५१ सम्म चार वर्ष डिजे किमर नामक बेलायती विज्ञापन एजेन्सीमा सहकर्मी विश्वप्रसिद्ध सिने निर्देशक सत्यजीत रेसँगै काम गर्दै गर्दा आफ्नो चित्रकारिताको सीप निखार्न युरोप जाने हुटहुटी चल्यो, लैनसिंह बाङ्देललाई । अतः उनले युरोपको यात्रा तय गरे, सहकर्मी रेको सल्लाह र सुझाव लिएर ।
एक त चित्रकला र साहित्यको पारखी बाङ्देल । त्यसमाथि सूक्ष्म रूपमा अवलोकन र अन्वेषण गर्ने बानी परिसकेकाले, कलकत्ताको खिदिरपुर डकबाट पानी जहाजमा यात्रा गरेदेखि नै सुरु गरे, दैनिकी अथवा डायरी लेख्न । १३ फेब्रुअरी १९५२ देखि सुरु गरेको डायरी लेख्ने क्रम नौ वर्षसम्म निरन्तर चलिरह्यो । कतै आफ्नो व्यथा र संघर्षको टिपोट त कतै आफ्नो प्रेमी जो एक वर्षपछि पत्नी बनेकी मनुसँगको प्रेमालाप, पत्राचार र भलाकुसारी ।
त्यो डायरीमा टिपोट गर्ने कार्य सन् १९६१ मार्च १८ मा मुलुकभित्र प्रवेशसँगै अन्त हुन्छ । तर विधिवत् रूपमा भने सन् १९६५ डिसेम्बर ३१ मा मात्र यी हरफ लेखेर टुंगिन्छ, ‘म ती दिनहरूलाई ज्यादै भावुक भैकन बिदा दिँदै छु किनकि यो डायरी पनि यहीँ टुंगियो । अब नयाँ डायरी लेख्नुपर्दा सफलताका धेरै कुरा सुखी आँसुको मसीले लेख्न पाउँला ...बिदा ... यही बिदा ।’
यी सबै डायरी पत्रहरूलाई संकलन गरी वि.सं. २०६७ मा उनकी छोरी डीना बाङ्देलले ‘मुलुकबाहिर म’ नामकरण गरी प्रकाशित गरे । रत्न पुस्तक भण्डारबाट डीनासँगै सम्पादकको भूमिका निर्वाह गरे, उम्दा पत्रकार अनि साहित्यकार भाइ देवेन्द्र भट्टराईले ।
मैले लैनसिंह बाङ्देललाई पहिलो पटक देखेको झिनो सम्झना मात्रै छ । सायद नेपाली साहित्य सम्मेलनले सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान र बाङ्देललाई सम्मान गरेको कार्यक्रम थियो । विशेष कार्यक्रममा हुनुपर्छ, तिथि-मिति चाहिँ थाहा भएन । सानैदेखि साहित्यमा रुचि भएकाले पनि होला, म लैनसिंह बाङ्देल साहित्यकारको दर्शन गर्न गएको थिएँ, चित्रकारको होइन । चित्र त कहाँ देख्न पाउनु त्यो बेला उनको, तर पुस्तकहरू भने उपलब्ध थिए प्रशस्तै ।
टाढाबाट देखेकाले पनि होला, लैनसिंह बाङ्देलको आकृति ठ्याकै मानसपलटमा अंकित हुन सकिराखेको थिएन । त्यही समयमा हात पर्यो, उत्तम कुँवरद्वारा लिखित ‘स्रष्टा र साहित्य’ पुस्तक । बाङ्देलसँग लिएको अन्तर्वार्तामा उनको बाहिरी स्वरूपको हुबहु वर्णन गरेको पाएँ मेलै । कुँवर लेख्नुहुन्छ, ‘थ्याप्चो अनुहार, ठिकैको नाक, अनि आँखा पनि त्यही खालको, गहँुगोरो अनुहार, पुड्कै खालको नेपाली स्तरको उँचाइ, गालामा घाउको दाग आदि चिन्हाङ्किक मंगोली टाइपको पुरुषको सामुन्ने मेलै आफूलाई पाएँ ।’
मैले पढेको यो अमूर्त वर्णनले मूर्तरूप लिन झन्डै एक दशकभन्दा बढी कुर्नुपर्यो मैले । मैले अंग्रेजीमा पत्रकारिता सुरु गरेँ । वि.सं. २०५० मा जोस र जाँगरसाथ । केही समय संगीत र सिनेमामा लेखेपछि विभिन्न लेखक र कविहरूको जीवन र कृतिमाथि लेख्ने सुर चल्यो र लैनसिंह बाङ्देलबाटै सुरु गरेँ, २०५३ सालतिर । कुँवरले वि.सं. २०२६ मा आफ्नो पुस्तकमा वर्णन गरेको भन्दा निकै परिवर्तन भइसकेको रहेछ, बाङ्देलको स्वरूप । सायद उमेर र रोगको कारणले होला । मैले चिनेको साहित्यकार लैनसिंह बाङ्देल चित्रकार मात्र होइनन्, मूर्तिकलाको अन्वेषक र राजकीय प्रज्ञा-प्रतिष्ठानको कुलपति भइसक्नु भएछ । धेरै पल्ट भेट भयो ।
उनको निजी निवास र नेपाल आर्ट काउन्सिल बबरमहलमा । तर साहित्यभन्दा चित्रकला र मूर्तिकलामा नै केन्द्रित रह्यो धेरै वार्तालाप, उनी पनि त्यही गफ गर्न रुचाउँथे । ‘सन् साठीको दशकमा जब म पहिलो पल्ट काठमाडौं आएँ कसैले भनेको थिएन मलाई काठमाडौं हस्तकला, काष्ठकला र थाङ्काकलामा यति धनी छ भनेर ।
त्यसपछि बिस्तारै मैले मूर्तिकला, हस्तकला र पुरातत्वको महत्वपूर्ण छविहरूको अध्ययन गर्न थालेँ,’ लैनसिंह बाङ्देलले एउटा अन्तर्वार्तामा मलाई भनेका थिए जो, ‘द काठमाडौं पोस्ट’मा वि.सं. २०५३ मा छापिएको थियो एउटा लेखका रूपमा । उनी भन्छन्, अब्बल चित्रकार बन्न जन्मजात गुणले मात्रै पुग्दैन । निकै मेहनत र अभ्यास चाहिन्छ आफ्नो सीप निखार्न ।
सन् चालिसको दशकमा लैनसिंह बाङ्देल साहित्य र चित्रकलामा एकैचोटि प्रवेश गरे । साहित्यमा समकालिक मित्रहरूमा शिवकुमार राई, इन्द्र सुन्दास, रामकृष्ण शर्मा, अच्छा राई ‘रसिक’, टिकाराम शर्मा थिए भने चित्रकलामा गोरे डकलस, भोटु प्रधान, प्रकाश कोविद, वीरेन्द्र सुब्बा ।
तर समकालीन उपन्यासकारहरूभन्दा पृथक्हरूमा प्रस्तुत भए उनी । उनी ‘ट्रेन्ड सेटर’ भएर नेपाली साहित्यमा उदाए । साझा समालोचनामा संग्रहित ‘नेपाली उपन्यास’ शीर्षकको लेखमा लैनसिंह बाङ्देलको उपन्यासकारिताबारे समालोचक कृष्णचन्द्रसिंह प्रधान लेख्छन्, ‘यसरी ‘मुलुकबाहिर’को परम्परा ‘लङ्गडाको साथी’को अति यथार्थवादी मनोविश्लेषणले कायम गरेको स्तरभन्दा गतिलो उपन्यास केही वर्षभित्र, नेपालको सात साले क्रान्तिपछिको मलिलो माटोमा पनि सृष्टि भएन भन्नु अत्युक्ति नहोला । विषयको दृष्टिले भुइँको परिवर्तनले पनि त्यसलाई पत्याएर जीवन्त रूपमा नेपाली उपन्यासलाई सर्वथा अर्को मोड दिएर अगि बढाउन सकेन ।’
मैले चिनेको साहित्यकार लैनसिंह बाङ्देल चित्रकार मात्र होइनन्, मूर्तिकलाको अन्वेषक र राजकीय प्रज्ञा-प्रतिष्ठानको कुलपति भइसक्नु भएछ ।
‘मुलुकबाहिर’बारे धेरै समालोचकहरूले विवेचना गरेका छन् । ‘नलिनी’ पत्रिकाको अंक १ मा डा. दयाराम श्रेष्ठद्वारा लिखित ‘बाङ्देलको ‘मुकुकबाहिर’ अध्ययन र मूल्यांकन’ लेख प्रकाशित भएको थियो । त्यो लेखले बाङ्देलको ‘मुलुकबाहिर’लाई निकै न्याय गरेर विश्लेषण गरेको पाउँछौँ । डा. श्रेष्ठ लेख्छन्, ‘बाङ्देलको ‘मुलुक बाहिर’मा सामाजिक यथार्थवाद पाइन्छ । शैम्पफिलरी तथा जोला जस्ता फ्रान्सेली यथार्थवादीहरूलेझैँ बाङ्देलले पनि प्रस्तुत उपन्यासको विषयवस्तु आफू बसेको समाजबाटै टिपेका छन् र खास गरीकन पसिना बहाएर किंवा दशनंग्री खियाएर दाल-भात-डुकूका निम्ति संघर्ष गर्ने श्रमिक वर्गको यथार्थ चित्रण गरी तत्कालीन समाजको सजीव चित्रण गरेका छन् ।
बाङ्देलको आफ्नो प्रारम्भिक जीवनको अवस्था ज्यादै करूणप्रद र सङ्घर्षपूर्ण भएको हुँदा तथा निम्न वर्गका व्यक्तिहरूको जीवनसँग उनी पूर्णतः परिचित भएको हुँदा जीवनमा अनुभवै नभएको उच्च वर्गका मानिसहरूको चित्रण गर्नु उनी साहित्यगत इमानदारी सम्झँदैनन् । त्यसैले उनी भन्छन्, ‘मलाई लाग्छ, यदि मैले माथिल्लो श्रेणीको चित्रण गर्न थालेँ भने त्यो मेरो अनधिकार चेष्टा मात्र हुनेछ र हुन सक्छ असफल पनि हुनेछु ।’
लैनसिंह बाङ्देलको लेखनकला दार्जीलिङमा नै संवर्धन भए पनि कलकत्ताको बसाइमा उनले मुलुकबाहिर (वि.सं. २००४), माइतघर (वि.सं.२००६) र लंगडाको साथी (वि.सं. २००८) लेखे । तर वि.सं. २००२ मा नै लैनसिंह बाङ्देलले बाह्रवटा विश्वप्रसिद्ध कथाहरूको नेपाली अनुवाद ‘विश्वकथा संग्रह’ प्रकाशित गरिसकेका थिए, जसमा रसियाली कथाकार टाल्सटायको ‘ईश्वरको न्याय’ र ‘मानिस कसरी जिउँछन्’, चेखोबका ‘बाजी’ र ‘बानका’, तुर्गेनेभको ‘मृत्युशय्यामा बिहा’ तथा मेरीजकवस्कीको ‘मृत्युभन्दा प्रेम बलियो छ’, फ्रान्सेली कथाकार मोपाँसाका ‘दश लाख’, ‘घण्टा’ र ‘अनुचित प्रेम’, एक अज्ञात कथाकारको ‘हत्याको अपराध’, हंगेरिली कथाकार केरोलीको ‘अदृश्य घाउ’ र अमेरिकी कथाकार एलेन पोको ‘हृदयको आवाज’ कथा समाविष्ट छन् ।
बाङ्देलको जीवनचक्र नामक कथा खोजीमा सन् १९४१ छापिएको थियो भने म्याउचीको रुमाल कथा सन् १९४४ मा नै हस्तलिखित पत्रिका ‘माता’मा छापिएको तथ्य फेला परेको छ । वर्ष ७ किरण ९-१०, २००१ असार-साउन, जुलाई १९४४ मा बाङ्देलको नामले जीवनस्रोत नामक लेख उदयमा प्रकाशित भएको जानकारी पाउँछौँ ।
उक्त लेख छापेपछि सम्पादक काशीबहादुर श्रेष्ठलाई धन्यवाद दिँदै पत्र लेखेका छन्, ३-९ १९४४ मा, ‘उदय’मा तपाईंले मेरो तुच्छ लेख छापिदिनु भएछ, धन्यवाद । म न ता लेखक हुँ, न ता कलाकार-केवल भाषा र कलाप्रेमी हुँ । आफ्नो भाषा र कलाप्रति मेरो अटुट प्रेम छ । त्यसैको सेवामा जीवन डुबाउन पाए जीवन सार्थक सम्झन्छु ।’
उदयका विभिन्न अंकहरूमा उनको कथा, कविता र निबन्ध प्रकाशित छन् । बाङ्देल मात्रै नाम दिएर छापेका कथाहरू जस्तै चित्रकारको चित्र, उसको गीत, अनि जीवन-खोल्सा, नेहुलको गीत जस्ता कविता र कथा-साहित्यको रूप र जीवन यात्रामा जस्तो निबन्धहरूले उदयमा राम्रो स्थान पाएको पाउँछौँ ।
सन् १९५१ मा लेखिएको लंगडाको साथीमा चित्रण गरेको लंगडा दार्जिलिङको धिरधामको छेउछाउमा रहेको र सन् १९५४ सम्म माग्ने गरेको तथ्य समालोचक इन्द्रबहादुर राई नेपाली उपन्यासका आधारहरूमा उल्लेख गर्नुभएको छ । लैनसिंह बाङ्देलका उपन्यासहरूमाथि धेरै मूर्धन्य समालोचकहरूले कलम चलाएको पाउँछौँ ।
सायद नेपाली समाजमा साहित्य र कलामा यति धेरै चर्चा पाउनेमा उनी अग्रपंक्तिमा पर्छन् । समालोचक मोहन पी दाहाल लंगडाको साथीको विवेचना गर्दै आधुनिक नेपाली उपन्यास पुस्तकमा लेख्छन्, ‘अतियथार्थवाद सदैव व्याख्या गर्नुभन्दा विचार गर्नपट्टि बढी सचेष्ट रहन्छ । जीवनका विभिन्न साना-ठूला परिस्थितिहरूमा लंगडाको मनो जगत्मा पलाउने इच्छा, आकांक्षा र अभिलाषाहरू घृणा, क्रोध र क्षोभहरू, विरक्ति, विवशता र विषादहरूलाई वैचारिक शब्दचित्रद्वारा रेखांकित गर्नमा बाङ्देल अत्यन्त सचेष्ट देखापर्छन् । मानवीय मनोवृत्तिलाई यसरी कलमद्वारा टिपिएकाले वासुदेव त्रिपाठी यस उपन्यासलाई ‘मानिसको मनोजगत्को असाधारण रेखांकन’ मान्छन् ।’
लंगडाको साथीको अंग्रेजी अनुवाद भएर प्रकाशनको तयारीमा रहेको र उनका चित्र संग्रहित पुस्तक पनि चाँडै प्रकाशनमा ल्याउने कुरा उनको छोरीज्वाइँ विभाकर शाक्य बताउनु हुन्छ । बाङ्देलकी छोरी डीनाले पनि सन् २०१७ मा अचानक बिरामी परी देहत्याग गर्नु भएकाले यो चित्रहरूको संग्रह निकाल्ने डीनाको अधुरो सपनालाई विभाकर शाक्यले पूरा गरिरहेको बताउनुहुन्छ ।
लैनसिंह बाङ्देल : अ मोडर्न नेपाली आर्टिस्ट नामक पुस्तक विभाकर शाक्य, लिसल मेसरस्मित र देवेन बाङ्देल शाक्यको सहलेखन र सम्पादनमा प्रकाशित हुँदै छ, डा. अभि सुवेदीको भूमिकासहित । लामो समयसम्म प्रसूती गृहको म्याट्रनका रूपमा कार्यरत श्रीमती बाङ्देल अहिले सेवा निवृत्त भई घरमै अलजाइमर रोगले थलिएर बसेकी छिन् ।
लैनसिंह बाङ्देलको उपन्यासकारितालाई समालोचक डा. खगेन्द्रप्रसाद लुइटेलले ‘नेपाली उपन्यासको इतिहास’ पुस्तक सूक्ष्मरूपमा मूल्याङ्कन गरेको पाउँछौ । ‘समग्रमा लैनसिंह बाङ्देल नेपाली उपन्यासलाई नयाँ भावभूमि र ढाँचाका साथ नौलो आयाम थप्ने सामाजिक यथार्थवादी उपन्यासकार हुन् । नेपाली उपन्यासमा सामाजिक यथार्थवादी प्रवृत्ति भित्र्याउने प्रथम उपन्यासकारका रूपमा परिचित बाङ्देलका उपन्यासमा समाजमा पाइने यथार्थ घटना, समस्या, सहभागी र परिवेशको जीवन्त प्रस्तुति पाइन्छ ।
यिनै विभिन्न वर्गलाई सद्भाव र सहानुभूति प्रकट गर्ने मानवतावादी उपन्यासकार हुन् । प्रकृतिको बाह्यान्तरिक चित्रण पाइने यिनका उपन्यासमा स्थानीयताको दिग्दर्शन पनि पाइन्छ । घटनालाई त्रासद मोडमा पुर्याएर उपन्यासको अन्त्य गरिएका यिनका उपन्यास मार्मिक र कारुणिक छन् । घटनाका साथसाथै चरित्रचित्रणमा पनि विशेष जोड दिने उपन्यासकार बाङ्देल नेपालीको सामाजिक यथार्थवादी धाराका विशिष्ट उपन्यासकार हुन् ।’ लेख्छन् डा. लुइटेल आफ्नो पुस्तकमा ।
युरोपबाट फर्किएर आएपछि पनि सक्रिय रहे, लेखनमा लैनसिंह बाङ्देल केही समय । ‘स्पेनको सम्झनामा’ (वि.स.२०२०) र ‘युरोपको चिठी’ (वि.सं. २०२४) (दुइटा यात्रा संस्मरणात्मक कृति र ‘विश्वका महान् कलाकार’ (वि.सं. २०२०, जीवनी) बाहेक ‘रेम्ब्रान्ट’ (वि.स. २०२३) जीवनीपरक उपन्यास लेखे । बालकृष्ण समले रेम्ब्रान्टलाई त्यस पुस्तकको भूमिकामा इतिहास बढ्ता भएको जिकिर गर्नुहुन्छ भने इन्द्रबहादुर राई बाङ्देलले श्रम र समय लगाएर लेखेको उपन्यास ठान्नुहुन्छ । रेम्ब्रान्टलाई आत्मसात् गरेरै लेख्ने आवश्यकता उहाँले बुझ्नुभयो,’ लेख्छन् राई सर ।
सन् १९१९ मा समरसेट ममले चित्रकार पल गाउग्योनलाई मुख्य पात्र बनाएर ‘द मुन एन्ड सिक्सपेन्स’ उपन्यास लेखेका थिए । युरोपमा मूलधारको लेखक नमाने पनि ममको यो पुस्तक निकै राम्रो कृतिमा पर्छ । सायद रेम्ब्रान्ट बाङ्देलका निम्ति ईष्टदेवता थिए भ्यान गग, लियोनार्डाे भिन्सी र माइकल एन्जेलो जस्तै । र ममले जस्तै लेख्न चाहेको हुन सक्छ, बाङ्देलले ।
अमेरिकी लेखक इरभिङ इस्टोनले पनि भ्यान गग (सन् १९३४), ज्याक लनडन (सन् १९३८), लिङ्कन (सन् १९५४), डार्बिन ( सन् १९८०), फ्राइड ( सन् १९७१) र माइकल एन्जेलो (सन् १९६१) को जीवनीमा आधारित उपन्यास विभिन्न शीर्षक दिएर लेखेका छन् ।
नियात्रा लेखनमा लैनसिंह बाङ्देल प्रसिद्ध नियात्राकार तारानाथ शर्माभन्दा केही वर्ष पहिलेदेखि नै देखिन्छन् । स्पेनको सम्झनामा प्रकाशित गरेको ६ वर्षपछि मात्रै तारानाथ शर्माको ऐतिहासिक नियात्रा कृति बेलाइततिर बरालिँदा वि.सं. २०२६ मा प्रकाशित भयो । रोमको एउटा फूल र प्यारिसको एउटा काँडा संस्मरणात्मक लेखहरू दार्जिलिङबाट प्रकाशित हुने दियालो पत्रिकाको वर्षः १०, हाँगो २६, जुलाई, १९६९, हाँगोः २९ फब्रुअरी, १९७० र वर्षः ११, हाँगोः ३३, अगस्ट अनि हाँगोः ३४ सेमेस्टर, १९७० अङ्कहरूमा क्रमशः धारावाहिक रूपमा प्रकाशित भएको थियो ।
वि.सं. २०५७ मा पुस्तकका रूपमा रत्न पुस्तक भण्डारले प्रकाशित गरे सोही नाम दिएर । गाल्सवोर्दीको लघु उपन्यास स्याउको रुख पनि अनुवाद गर्नुभएको छ तर बजारमा उपलब्ध छैन । अरु कृतिहरू भने रत्न पुस्तक भण्डारले पुनः प्रकाशन गरी बजारमा ल्याएको छ ।
कला र संस्कृतिप्रति अगाध प्रेम थियो, लैनसिंह बाङ्देलको । युरोपको चिठीमा उनी लेख्छन्, ‘कला र संस्कृतिको रक्षा गर्नु जनता र सरकार दुवैको ठूलो कर्तव्य हो । यदि आजको बितिरहेको यस्तो महत्वपूर्ण युगमा जन्मेर पनि हामीले आफ्नो कला र संस्कृतिको रक्षा गर्न र तिनलाई पुनरुद्धार गर्ने भावना लिएनौँ भने भोलिको नेपाल पनि उत्तिकै अँध्यारोमा बसिरहनेछ । हैन भने देशको कला र संस्कृतिको उन्नति र वृद्धि गरी सभ्य संसारको सामु गर्वले मुस्कुराएको अनुहार हामीले पनि देखाउन सक्नुपर्छ । किनभने, हामी त्यस देशमा जन्मेका हौँ- जहाँ दुई महान् देशलाई छेउ-छेउमा राखेर कुनै दिन एसियाको कला र संकृतिको केन्द्र बनाउन सक्नेछौँ ।’
‘युरोपको चिठी’ र ‘मुलुकबाहिर म’ क्रमशः पत्र र डायरी साहित्यको मानक पुस्तकका रूपमा लिन सक्छौँ । पुस्तकका रूपमा निकाल्ने उद्देश्यले नलेखिए तापनि पत्र र डायरीमा बाङ्देलको सृजनशीलता र गहन अध्ययन झल्किएको छ । अहिले पनि नेपाली साहित्यमा यो विधामा कमैले कलम चलाएको पाउँछौँ । र, यति मीठो लेख्नेहरू त औँलामा गन्न सकिन्छ ।
नेपालको आधुनिक चित्रकलाको जनकको परिचित लैनसिंह बाङ्देलको युरोपको बसाइ अर्थ अभावले निकै कष्टकर भएको कुरा उनको डायरीमा उल्लेख छ । मैले लिएको अन्तर्वार्तामा उनी कुनै दिन कागजहरू मात्र बालेर युरोपको जाडोमा आफैँलाई न्यानो बनाएको बताउनु भएको थियो । ‘तर पिकासोसँगको भेट सबै दुःख-कष्ट बिर्साइदियो,’ उनी भन्छन् । ‘म प्यारिसमा हुँदा भारतीय चित्रकार एवं मूर्तिकार सतिश गुजराल, राजा पदम सिंह, कृष्ण रेड्डी, परितोष सेन र पद्मशी जस्ता व्यावसायिक दृष्टिकोणबाट सफल हस्तीहरूसँग काम गरे । अहिले व्यावसायिक रूपमा सफल छैन, उनीहरू जस्तै म यहाँ । मेरो चित्रहरू लाखौँ रुपियाँमा बिक्री नभए पनि म चित्र कोर्न छोडदिनँ ।’ उनले मलाई भने । उनको देहान्तपछि पनि अन्तर्राष्ट्रिय चित्र लिलाममा उनको चित्रहरूले निकै कम मूल्य पाएकामा नेपाली कला पारखीहरू गुनासो गर्छन् ।
नेपालका पुराना मूर्तिहरूको संरक्षणका निम्ति मरिहत्ते गरेर लागे बाङ्देल । काठमाडौं आगमनपछि पुराना मूर्तिहरूको तस्बिर खिचेर सुरक्षित राख्ने काम गरे उनले । तर पछि सन् साठीको अन्ततिर आउँदा मूर्तिहरू भटाभट हराउन थालेपछि उनी चिन्तित भए । हराएका मूर्तिहरूको तस्बिरसहित स्टोलन इमेजेज अफ काठमाडौँ लेखे, जो प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरे सन् १९८९ मा । यो पुस्तक प्रकाशित नगर्न चौतर्फी विरोध आएको बताउँछन् उनी । ‘तर ज्यानको बाजी लगाएर भए पनि यो पुस्तक प्रकाशित गरिछाडे,’ उनी भन्छन् । ‘नेपाली कलासम्बन्धी लेख्ने म पहिलो व्यक्ति हो तर नेपालीहरूले मेरो अंग्रेजी पुस्तकहरू किन्दैनन्,’ उनले गुनासो गरेका छन्, मैले वि.सं. २०५३ मा लेखिएको अन्तर्वार्तामा ।
हुन पनि एक महिना पहिले नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको पुस्तक मेलामा अझै पनि ती पुस्तकहरूले ग्राहक खोजिरहेको थिएँ । स्टोलन इमेजेज अफ काठमाडौँ (सन् १९८९) र इन्भेन्टरी अफ स्टोन स्क्लप्चर्स अफ त काठमाडौँ भ्याली (सन, १९९५) नेपाल प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरेका पुस्तकहरू हो जो सुपथ मूल्यमा किन्न सकिन्छ अहिले पनि । स्टोलन इमेजेज अफ काठमाडौँमा भएका कतिपय मूर्तिहरू विश्वका प्रसिद्ध कला संग्रहहरूबाट नेपाल फिर्ता भइसक्यो तर अफसोच उनले त्यो सुखद क्षण देख्न पाएनन् । उनको अरु अंग्रेजी पुस्तकहरूमा द अर्ली स्क्लप्चर्स अफ नेपाल (सन, १९८२), ट्वेन्टी फाइभ हन्डे«ड इर्यर अफ नेपलिज् आर्टस् (सन् १९८७) प्रमुख छन् । रोबट फ्लेमिङ सिनियर र जुनियरसँग (बाबु र छोरा) मिलेर बाङ्देलले बर्डस् अफ नेपाल (सन् १९७६) पनि लेखेका छन् । फ्रान्स, जर्मनी र बेलायतमा चित्रकला प्रदर्शन गर्ने उनी पहिलो नेपाली हुन् ।
लैनसिंह बाङ्देलको बहुआयामिक व्यक्तित्वलाई एउटा धारमा राखेर मूल्याङ्कन गर्न सकिँदैन । न त यो सानो लेखले उनको बृहत्तर व्यक्तित्वलाई न्याय गर्न सक्छ । मेरा निम्ति उनी मूलतः उपन्यासकार हुन्, त्यसपछि चित्रकार, अनुवादक, गुरु, सम्पादक, अन्वेषक ।
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकहरूमा उनको जन्म सन् १९२४ मा दर्जिलिङको तकभर कमानमा भएको लेखिए पनि कतिपय पुस्तकहरूमा सन् १९१९ जनवरी ११ लेखेको पाउँछौँ । दार्जिलिङको सरकारी विद्यालयमा अध्ययन गर्दा लैनसिंह बाङ्देल पारसमणि प्रधान, धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवाली जस्ता शिक्षकहरूको छत्रछायाँमा हुर्कने मौका पाए । धरणीधर कोइरालाले उनलाई मायाले कान्छा भनेर सम्बोधन गरेको पत्रहरूमा पाउन सक्छौँ ।
कलकत्ताबाट ‘गभरमेन्ट कलेज अफ आट्र्स एन्ड क्राफ्ट’बाट विशिष्ट श्रेणीमा स्नातक गरे सन् १९४५ तिर । सन् १९५० मा प्रभात नामक साहित्यिक पत्रिका पनि सम्पादन गरे दुई वर्षसम्म । यो पत्रिकाले धेरै लेखक र कविहरू जन्माएको छ । पेरिसमा इकोल दे बक्स आट्र्समा चार वर्ष कलासम्बन्धी पढे, अनि केही समय आस्ट्रल आर्ट ग्रुपमा आर्ट निर्देशकका रूपमा लन्डनमा काम गरे । युरोपमा बस्दा नेपालका विशिष्ट व्यक्तिहरूसँगको भेट र नेपाल सरकारमार्फत फ्रान्स सरकारले दिने छात्रवृत्ति सन् १९९५६ प्राप्त गरेकाले पनि नेपालसँग उनको घनिष्टता बढेको पाउँछौँ ।
मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उनले पाएको सहयोग, यसका निम्ति धरणीधर कोइराला लगायतका अरु महानुभावहरूले गरेको सहयोगले लैनसिंह बाङ्देलको जीवनमा नयाँ मोड ल्यायो । विश्वेश्वरप्रसाद कोइराला र पछि राजा महेन्द्रको अनुरोधमा नेपाल फर्किए । नेपाल फर्किंदा मनुकुमारी थापा मुन बाङ्देल भइसकेका थिइन् । खोजी पत्रिकामा सन् १९४९ को अंकमा लैनसिंह बाङ्देल र मनुकुमारी थापाको कविता संयोगवश एउटै अंकमा छापियो । चिनजान भयो, पत्रचार भयो, सँगै युरोप जाने अवसर पाए, प्रेम झांगियो र अन्तमा प्रेमले विवाहको मूर्तरूप लियो प्यारिसमा (सन् १९५३) ।
नेपाल आएपछि राजकीय प्रज्ञा-प्रतिष्ठानको सदस्य (सन् १९६१) हुँदै कुलपति (सन् १९७९) सम्मको यात्रा गरे लैनसिंह बाङ्देलले । नयाँ पिँढीका कलाकारहरूलाई सधैँ प्रोत्साहन गर्थे उनी । मलाई घरमा नै बोलाएर, दिवा भोज खुवाए अनि उनी सल्लाहकार रहेका न्यु आर्ट सर्कलका चित्रकारहरूबारे लेख्न अनुरोध गरे उनले । मैले केहीको बारेमा त लेखँे पनि । लैनसिंह बाङ्देलको घरमा उनले चित्र कोरेको हेर्ने सौभाग्य पनि पाएँ । मैले लैनसिंह बाङ्देललाई तपाईंले वि.सं. २०२६ मा उत्तम कुँवरलाई ‘स्रष्टा र साहित्य’मा दिएको अन्तर्वार्तामा मुलुकभित्र लेख्ने विचार पोख्नुभएको थियो, त्यो कुरो कहाँ पुग्यो भनेर सोधनी हुँदा समयले नभ्याएर लेख्न नसकेको जानकारी दिनुभयो ।
वास्तवमा मुलुकभित्र प्रवेश गरेपछि बाङ्देलले नेपालीमा पाँचवटा पुस्तक लेखे अनि अंग्रेजीमा चारवटा । सन् १९६८ बाट १९६९ सम्म उनी अमेरिकाको डेनिसन युनिभर्सिटीमा प्रोफेसरका रूपमा नेपाली कलाको इतिहास पढाएको प्रभाव पनि हुनसक्छ अंग्रेजीमा लेख्ने मोह जागेको । हार्वर्ड युनिभर्सिटीमा पनि नेपाली कला पढाए छ महिनासम्म ।
रत्न पुस्तक भण्डारका सञ्चालक गोविन्द श्रेष्ठअनुसार लैनसिंह बाङ्देलका प्रायः सबै नेपाली कृति रत्न पुस्तक भण्डारले प्रकाशन गरेको छ । स्याउको रुख, युरोपको चिठी र विश्वकथा संग्रह चाहिँ पुनः मुद्रणमा गएको प्रकाशक श्रेष्ठ बताउनु हुन्छ । लैनसिंह बाङ्देलको नाममा कुनै संघ-संस्थाहरू नेपालमा खोलिएको जानकारी छैन तर कलकत्तामा भने उनको नाममा लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान स्थापना भएको छ ।
त्यस संस्थाका संरक्षक विकास कार्कीका अनुसार यसले कला र साहित्यमाथि नै विशेष कार्यक्रमहरू गर्ने गर्छ र बाङ्देल पुरस्कार एकपटक भारत र अर्को पटक नेपालको लेखक र कलाकारलाई दिइने गरेको छ । ‘अहिलेसम्म हामीले भारतको राजनारायण प्रधान, हेमु राई र अमिर सुन्दास अनि नेपालको झमक घिमिरेलाई पुरस्कार प्रदान गरिसकेका छौँ,’ विकास कार्कीले भन्नुभयो । नेपालमा भने यस्तो काम केही नभएकाले लैनसिंह बाङ्देलले दिएको योगदानलाई कदर गर्दै केही कामहरू गर्नुपर्ने बताउनु हुन्छ, गोविन्द श्रेष्ठ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया