विश्व

न्यूयोर्कमा 'नेपाल डे'

अनिल अधिकारी |
जेठ १६, २०७८ आइतबार १८:१४ बजे

अमेरिका : विश्‍वकै राजधानी मानिने अमेरिकाको न्यूयोर्क सहरमा 'नेपाल डे' कार्यक्रम विशेष रुपमा मनाइएको छ । न्यूयोर्क राज्य सरकारको विधान सभाले गत सातादेखि नेपालको गणतन्त्र दिवसलाई 'नेपाली अमेरिकन हेरिटेज डे' अर्थात् 'नेपाल डे' को रूपमा प्रत्येक वर्ष मनाउने घोषणा गरेको छ । 

नेपाली भाषा संस्कृतिको विकास र संस्कार सस्कृति विश्‍व समुदायलाई चिनाउने लक्ष्यसहित आयोजना हुँदै आएको नेपाल डे परेड हरेक वर्ष न्यूयोर्कमा विशेष कार्यक्रम गरी मनाउँदै आएको छ । यस वर्ष कोरोना महामारीका कारण अघिल्ला वर्षहरूमा जस्तो विभिन्‍न संघ सस्थाको भब्य सहभागिता रहन भने सकेन् ।


नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्‍नाको आयोजनामा सम्पन्‍न गरिएको 'नेपाल डे' कार्यक्रममा न्यूयोर्कमा क्रियासिल सबैजसो संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । विभिन्‍न नेपाली जातजातिका पोशाक र बाजागाजा सहित उपस्थित भएका नेपाली अमेरिकन सहभागीहरूले नगर परिक्रमा गरेका थिए ।

र्‍यालीपछि आयोजित विशेष कार्यक्रममा न्यूयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमार र नेपाली महावाणिज्य दूतावास, न्यूयोर्कका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमको उपस्थिति थियो । कार्यक्रममा विधानसभा सदस्य जेनिफरले फिप्‍नाका अध्यक्ष लोक चेम्जोङ र कार्यवाहक महावाणिज्यदूत गौतमलाई न्यूयोर्क राज्यले पारित गरेको नेपाली अमेरिकन हेरिटेज डे को रिजोलुसन हस्तान्तरण गरेका थिए ।

जेनिफरले नेपाली अमेरिकन समुदायको सम्मान एवं पहिचानका लागि राज्य सरकारले ऐतिहासिक नेपाल डे घोषणा गरेको जानकारी दिए । उनले नेपाली अमेरिकनहरूका कला, संस्कृति एवं परम्परा रक्षाका लागि राज्य सरकार सधै सकारात्मक रहेको भन्दै सिंगो अमेरिकाले यसलाई अंगाल्नेमा आफू आशावादी भएको बताए ।

कार्यवाहक महावाणिज्यदूत गौतमले न्यूयोर्क राज्य सरकारले गरेको घोषणाले आपासी सम्पन्धलाई थप गाढा बनाउने भन्दै नेपाल सरकार अमेरिकासँगको दुई पक्षीय हितका लागि सधै सहकार्य गर्न तयार उल्लेख गरे । कार्यक्रममा दुबै पक्षबाट मायाको चिनो साटासाट गरिएको थियो ।

न्यूयोर्क राज्यसभाको तर्फबाट फिप्‍नाका अध्यक्ष लोक चेम्जोङ, महासचिव नरेन्द्र थापालाई सम्मान गरिएको थियो । त्यस्तै नेपाल डे घोषणाका लागि विशेष पहल गर्ने दिपेन्द्र लामा, आरती मगर र सजिना श्रेष्ठलाई पनि राज्य सभा सदस्य जेनिफरले सम्मान पत्र प्रदान गरेका थिए ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीहरूको बसोबास छ । त्यसमध्ये अधिकांश नेपालीहरू न्यूयोर्क राज्यमा बस्‍ने गरेको तथ्यांकले देखाउँछ । न्यूयोर्कमा नेपाली पहिचानका लागि नेपाल डे परेड भने २०१६ देखि गर्न सुरु गरिएको थियो ।

न्यूयोर्क सिटीले यसलाई मान्यता दिएको भए पनि अहिले भने राज्यसभाले नै यसलाई मान्यता दिएको हो । आउँदो वर्षदेखि नेपाल डे फिप्‍ना र एनआरएनए न्यूयोर्क शाखाको संयुक्त आयोजनामा परेड सहितको विशेष कार्यक्रम न्यूयोर्क सहरमा मनाईने घोषणा गरिएको छ ।


Author

थप समाचार
x