विश्व

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानविरूद्धको मानहानी मुद्दा खारेज

इकागज |
चैत ४, २०८० आइतबार १४:११ बजे

फाइल फोटो

काठमाडौं - पाकिस्तानका पूर्व प्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको छ ।

जुलाई २०१४ मा चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उनीद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ विगो दावीसहित मानहानीको सूचना जारी गरेका थिए । 


खानले आफ्नो भनाइका लागि माफी नमागे कानुनी प्रक्रिया सुरु गर्ने चेतावनी उक्त सूचनापछि चौधरीको कानुनी टोलीले दिएको थियो ।  

चौधरीले जनवरी २०१५ मा औपचारिक रूपमा मुद्दा दर्ता गरेका थिए । मुद्दामा पाकिस्तानका पूर्व प्रधान न्यायाधीशले २७ जुन २०१४ मा इमरान खानद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए । 

द एक्सप्रेस ट्रिब्यूनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको मुद्दा खारेज गर्दै मानहानिको सूचना हद नाघेपछि जारी गरिएको बताएको छ । 

न्यायाधीश हसिना सकलैनले आफ्नो फैसलामा भनेका छिन्, “मुद्दाअनुसार अन्तिम कथित मानहानीपूर्ण बयान सन् २०१४ जुन २७ मा गरिएको थियो र मुद्दा  सन् २०१५ को जनवरी २० मा दायर गरिएको थियो । मुद्दा दायर गर्दा छ महिना २४ दिन हद नागिसकेकोले मुद्दालाई खारेज गरिएको छ ।” 

अदालतले मानहानीसम्बन्धी सामग्री प्रकाशित भएको मितिले छ महिनाभित्र मानहानी मुद्दा दायर गर्नुपर्ने र त्यसो गर्न नसके मानहानि अध्यादेश २००२ को दफा १२ अनुसार मुद्दा गर्न नमिल्ने उल्लेख गरेको छ । 

सन् २०२२ को अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत भएयता पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री खानले थुप्रै कानुनी चुनौतीको सामना गर्दै आएका छन् । उनी हाल रावलपिण्डीस्थित पाकिस्तानी केन्द्रीय कारागारमा छन् ।


Author

थप समाचार
x