विश्व

यसकारण बनाइएको थियो फिनल्यान्डमा १६ वर्षीया युवतीलाई एक दिने प्रधानमन्त्री

बीबीसी |
असोज २२, २०७७ बिहीबार १२:२७ बजे

फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनसँग एकदिने प्रधानमन्त्री बनेकी किशोरी ।

फिनल्यान्ड : लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड प्राय: माथि पर्छ । तर प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया किशोरीलाई आफ्नो कुर्सी बुधवार एक दिनको निम्ति हस्तान्तरण गरिन् ।

कुनै नयाँ कानुन नबनाए पनि एभा मुर्तोले दिनभरि राजनीतिकर्मीहरूसँग बैठकको कार्यतालिका थियो । जसको उद्देश्य हो प्रविधिमा महिला अधिकारको विषयमा जोड दिनु । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय युवती दिवसभन्दा अघि किशोरीलाई उक्त जिम्मेवारी दिइएको हो जुन विश्वव्यापी एउटा अभियानको भाग थियो ।


फिनल्यान्डले प्लान इन्टर्न्याश्नलको 'गर्ल्स टेकओभर' अर्थात् युवतीको सत्तारोहणमा सहभागी भएको यो चौथो वर्ष हो । यस अभियानमा संसारभरिका देशहरूका किशोरीहरूलाई एक दिनको निम्ति राजनीति र अन्य क्षेत्रका नेताहरूको जिम्मेवारी सम्हाल्ने अवसर दिइन्छ ।

यो वर्ष युवतीहरूको निम्ति प्रविधिमा अवसर र डिजिटल क्षमता बढाउने कुरालाई प्राथमिकता दिइएको छ । बुधवार गरेको सम्बोधनमा सुश्री मुर्तोले भनिन्, 'तपाईंहरूको अगाडि आज बोल्ने अवसर पाउनु मेरो निम्ति खुसीको कुरा हो, तर म यहाँ उभिनु नपरेको भए हुन्थ्यो भन्ने मेरो चाहना छ । गर्ल्स टेकओभर जस्ता अभियानहरूको खाँचो पर्नु हुँदैन ।'

तर यो पृथ्वीको कुनै भागमा पनि लैङ्गिक समानता अहिलेसम्म प्राप्त नभएको कुरा यथार्थ भएको उनको ठम्याइ छ । उनले भनिन्, 'तर हामीले यस क्षेत्रमा धेरै राम्रो काम गरेका छौँ र अझै पनि धेरै पूरा गर्नुपर्ने काम बाँकी छन् ।'

मानवअधिकार र जलवायुसम्बन्धी अभियानमा सक्रिय किशोरीले यस्तो अभियानमा भाग लिन आवदेन दिएका थिए । दिनभरि बैठकमा व्यस्त भएपछि ती प्रधानमन्त्रीले साँझ प्रविधिमा लैङ्गिक समानताबारे छलफल गर्दैछिन् ।

कार्यक्रमभन्दा अघि बोल्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनले प्रविधि सबैको पहुँचको निम्ति बनाइएको कुरा सुनिश्चित गरिनुपर्ने महत्त्वमाथि जोड दिइन् । उनले भनिन्, 'त्यसले समाजभित्र र देशहरूबीच डिजिटल विभेद गहिरो बनाउनु हुँदैन ।'

गत वर्ष विश्व आर्थिक मञ्चको विश्वव्यापी लैङ्गिक असमानतासम्बन्धी प्रतिवेदनमा फिनल्यान्ड तेस्रो भएको थियो । तथापि प्रविधिको क्षेत्रमा प्रतिनिधित्वको हिसाबले महिला अझै तल छन् । गत वर्ष ३४ वर्षको उमेरमा शपथ ग्रहण गरेकी मरिया विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् ।

उनी फिनल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री हुन् । उनले नेतृत्व गरेको मध्य-वामपन्थी गठबन्धनमा चारवटा दल छन् । ती सबै दलको नेतृत्व महिलाले गरेका छन् र तीमध्ये तीन जना ३५ वर्षभन्दा कम उमेरका छन् । 


Author

थप समाचार
x