दाङका किसानले पाएनन् धानको समर्थन मूल्य

इकागज | कात्तिक २३, २०८०

देउखुरी- दाङमा किसानले धानको समर्थन मूल्य पाउन सकेका छैनन् । जिल्लामा किसान तथा व्यापारीबीच आपसी सहमतिमा मूल्य निर्धारण गरी धान खरिद बिक्री भइरहेको छ । सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार एक सय ९८ र मध्यम धानको रु तीन हजार तीन सय ६२ तोकेको पनि किसानले भने सो मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भएका छन् । 

घोराही उपमहानगरपालिका–६ का मनोज चौधरीले गत वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार चार सयमा बिक्री गरेको र यसपाली व्यापारीसँगको सहमतिमा रु दुई हजार सात सयमा धान बिक्री गरेको बताए । उनले एक बिघा जमिनमा धानखेती गरेका छन् ।

घरमा भण्डारण गर्ने ठाउँ नहुँदा व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्न बाध्य भएको उनको भनाइ छ । 'महंगोमा बीउ, मल र श्रमिक लगाएर धानखेती गर्नुपर्छ । तर, धानको समर्थन मूल्य नपाउँदा लगानी खेर गएको जस्तो लाग्छ,' उनले भने । 

व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सरकारले तोकेको मूल्य यहाँ हालसम्म लागू हुन नसकेको उनीहरूको गुनासो छ । लमही नगरपालिका–३ का बेजलाल चौधरीले पनि व्यापारीको सहमतिमा प्रतिक्विन्टल रु दुई हजार नौ सयमा स्थानीय व्यापारीलाई धान बिक्री गरेको बताए । समयमै पानी परेकाले यस वर्ष धान उत्पादन राम्रो भए पनि समर्थन मूल्य पाउन नसक्दा आम्दानी कम भएको उनको भनाइ छ । 

लमही नगरपालिका–५ स्थित कक्षपति राइस मिलले यस वर्ष मोटा धान प्रतिक्विन्टल रु दुई हजार नौ सय र मसिनो धान प्रतिक्विन्टल रु तीन हजार दुई सयमा खरिद गरेको मिलका व्यवस्थापक मदन अधिकारीले बताए । गत वर्ष भन्दा यो वर्ष धानको मूल्य राम्रो रहेको बताए । मिलले धान खरिद गरेर चामल बनाइ बिक्री गर्ने भएकाले सरकारले निर्धारण गरेको मूल्यमा किसानको धान खरिद गर्न नसकेको उनको भनाइ छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले विगतका वर्षदेखि नै धान खरिद गर्न सकेको छैन । भौतिक पूर्वाधारको अभाव र जनशक्ति अभावका कारण धान खरिद गर्न नसकेको तुलसीपुर शाखाका प्रमुख तिलक सुनारले बताए । कम्पनीसँग हाल पाँच हजार क्विन्टल धान राख्न मिल्ने दुई वटा गोदाम छन् ।

कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्कअनुसार यस वर्ष ३८ हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । रासस

भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि विशेषज्ञ टोली

इकागज | कात्तिक १९, २०८०

काठमाडौँ - संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाए...

२५ वर्षदेखि जापान बसेर चन्द्र खत्रीले जन्मथलोमा तीन करोड लगानीमा खोलेका बाख्रा फार्म

इकागज | कात्तिक १८, २०८०

गलकोट (बागलुङ)- बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका ...