कोभिडविरुद्धको खोप लगाउनेलाई चिकित्सकको यस्तो सल्लाह
काठमाडौँ : कोभिड- १९ विरुद्धको खोप नेपालमा स्वास्थ्यकर्मी र सञ्चारकर्मीलायत फ्रन्टलाइनमा खटिने धेरैले लगाइसके । खोप लगाउनेमध्ये धेरैमा विभिन्न किसिमका कौतुहलता देखिएको छ । के खाने ? के नखाने ? के गर्ने ? के नगर्ने ? भन्नेबारे भ्रमहरू फैलिरहेका छन् ।
भ्रमः के खानुहुन्छ के हुँदैन ?
विज्ञहरूका अनुसार कोभिड- १९ विरुद्धको खोप लगाउनेले के खान हुन्छ वा हुँदैन भन्नेबारे वैज्ञानिक रुपमा केही पनि पुष्टि भएको छैन । किनभने, खान हुने नहुनेसँग यो भ्याक्सिनको कुनै सम्बन्ध छैन । हाम्रो समाजमा जुनसुकै रोग चाहे ग्यास्ट्रिक, सुगर, प्रेसर जेसुकै होस् के खाने के, के नखाने भन्ने बारे चर्चा भइन्छ । यस्ता कुराहरूमा आफैले अनुमान गर्नेभन्दा विज्ञको सर- सल्लाह लिनुपर्छ । कोभिड विरुद्धको खोपको हकमा पनि यसको प्रभावकारिता घट्छ भनेर विभिन्न अफवाहहरू फैलिरहेका छन् । खोप लगाएपछि हामीले दैनिक जीवनमा जे खाइरहेका छौँ, त्यही खाने हो ।
जहाँसम्म जाँडरक्सीको कुरा छ यो सकेसम्म कहिल्यै नखाएको बेस । झन् भ्याक्सिन लगाएको बेला त नखानु नै स्वास्थ्यका लागि बेस हुन्छ । किनभने, यो भ्याक्सिन लगाएपछि अलि बढी पानी खानुपर्ने हुन्छ । यस्तो बेलामा अल्कोहल खायो भने डिहाइड्रेसन हुन्छ । जीउमा पानीको मात्रा कम गर्छ । त्यसैले, पानी बढी खानेबेला शरीरमा पानी कम होला भनेर अल्कोहल नखानू भनिएको हो ।
कोभिसिल्डबारे जान्नै पर्ने कुरा :
यो खोप लगाएर रोग प्रतिरोधात्मक क्षमता विकास हुन कम्तिमा १ महिनाको फरकमा यसको दोस्रो मात्रा लगाउनुपर्छ । खोपले सबैलाई एउटै प्रतिक्रिया जनाउँदैन । कसैलाई धेरै गाह्रो हुन्छ, कसैलाई कम । खोप लगाएपछि विभिन्न लक्षणहरू देखिन्छन् । जुन केहि दिनमा आफैँ निको भएर जान्छ । खोप लगाएर केही स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न विज्ञहरूले सल्लाह दिएका छन् ।
खोप लगाएपछि देखिने सामान्य लक्षण ?
- ज्वरो आउने
- टाउने दुख्ने
- रिङ्गटा लाग्ने
- थकाइ महसुस हुने
- वाकवाकी लाग्ने
- जिउ दुख्ने
भ्याक्सिन लगाएपछि ध्यान दिनुपर्ने कुरा :
- शंका उपशंकाको पछाडि नलाग्ने
- भ्याक्सिनसम्बन्धि भ्रमबाट टाढा रहने
- आफूलाई निकै गाह्रो महसुस भए स्वास्थ्यकर्मीको सल्लाह लिने
- खोप लगाएको आधा घण्टासम्म खोप केन्द्रमा बस्ने
- धेरै गाह्रो भयो भने सिटामोल खाने
- प्रसस्त पानी पिउने
- आराम गर्ने
- खोपपछि देखिएका लक्षणहरु एक- दुई दिनमा निको नभए स्वास्थ्यकर्मीकहाँ जाने
(सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानीमा आधारित ।)