लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौं - देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीकाे कैलारी गाउँपालिका-७ बसन्ताबाट अवैध लागूऔषध खैरो हेरोइन ३८ ग्राम ४ सय ८० मिलिग्रामसहित सोही गाउँपालिका-७ बस्ने ५४ वर्षीय सुकानु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले रामपुरबाट हसुलियातर्फ आउँदै गरेको से.७ प २५०४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय ६० मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका-११ बस्ने ४२ वर्षीय विक्रम सुवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त ब्राउन सुगरसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलालीकै टीकापुर नगरपालिका-४ अस्नेरी बस्ने १५ वर्षीय किशोर र सोही नगरपालिका-२ अस्नेरी बस्ने २३ वर्षीय गणेश कार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । १५ वर्षीय किशोरको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले घर तालसी गर्ने क्रममा कोठामा लुकाई राखेको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
उदयपुरकाे बेलका नगरपालिका-८ कोठुस्थित चतारा पुलबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ३ सय २० मिलिग्रामसहित सुनसरी रामधुनीभासी नगरपालिका-४ बस्ने ३७ वर्षीय हिरा साहलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले को.३१ प ६८१८ नम्बरको मोटरसाइकलले पदैलयात्रीलाई ठक्कर दिई उद्धार गर्ने क्रममा चालकलाई जाँच गर्दा उक्त खैरो हेरोइनसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-६ मंगलगढी चोकस्थित हार्दिक होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम, ३ हजार नेपाली रूपैयाँ, २ हजार ६ सय भारतीय रूपैयाँसहित कालिकोट सन्नीत्रिवेणी गाउँपालिका-३ बस्ने ३० वर्षीय अर्जुन देवकोटा र बाँके नेपालगञ्ज उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय खिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा वीरेन्द्रनगर नगरपालिका-३ माया कर्णाली होटलको कोठा नम्बर १०२ बाट बाँके नेपालगञ्ज उपमहानगरपालिका-१८ बस्ने २३ वर्षीया सारदा सिंहलाई अवैध लागूऔषध ब्राउनसुगर ११ ग्राम ८ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।
झापाकाे मेचीनगर नगरपालिका-१२ स्थित कालिझोडा जंगलबाट अवैध लागूऔषध खैरो हेरोइन ५० मिलिग्रामसहित बिर्तामोड नगरपालिका-७ मिया बस्ती बस्ने १९ वर्षीय महमद आरिफलाई प्रहरीले पक्राउ गरेको छ । उक्त जंगलमा लागूऔषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त खैरो हेरोइनसहित उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न अर्जुनधारा नगरपालिका-११ स्टाफ चौक बस्ने २० वर्षीय प्रदिप दर्जीलाई लागूऔषध ब्राउनसुगर १ ग्राम ५ सय मिलिग्राम, मेचीनगर नगरपालिका-१३ बस्ने २८ वर्षीय धन बहादुर महतारा र बिर्तामोड नगरपालिका-१० सैनिक बजार बस्ने २४ वर्षीय सन्दिप लाम्गादेलाई लागूऔषध ब्राउनसुगर ८ सय मिलिग्राम र भारत दार्जिलिङ खोरिवारी ठाना बस्ने ३२ वर्षीय राजेन्द्र बर्मनलाई अवैध लागूऔषध ब्राउनसुगर १० ग्राम र नगद २७ हजार ५० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
धनकुटाकाे साँगुरीगढी गाउँपालिका-७ फेदीबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ ग्रामसहित महालक्ष्मी नगरपालिका-४ चानुवा घर भई झापा कमल गाउँपालिका-१ बस्ने ५१ वर्षीय मीन कुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले को.१ ख ७८८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।