काठमाडौं विश्वविद्यालयको ३० औँ वार्षिकोत्सव सकियो
काठमाडौँ- विश्वविद्यालयको तीसौँ वार्षिकोत्सव समारोह आज विश्वविद्यालयको केन्द्रीय परिसरमा सम्पन्न भयो । विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो भने ३० औँ वार्षिकोत्सवको प्रतीकस्वरूप ३० वटा परेवा उडाइएका थिए ।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको स्थापना र विकासमा संलग्न रहेर शैक्षिक तथा प्रशासनिक क्षेत्रमा समेत कार्यरत रही जीवनको महत्त्वपूर्ण समय व्यतीत गरेका स्व. रामानन्द मिश्र र स्व. टीकादत्त बराललाई ‘केयू ओरेसन, २०२१’ बाट सम्मान गरिएको थियो । सम्मानपत्र उपकुलपति प्रा. डा. भोला थापाले प्रदान गरेका थिए भने स्व. रामानन्द मिश्रका तर्फबाट उनका सुपुत्र अजय मिश्रले र स्व. टीकादत्त बरालका तर्फबाट उनकी धर्मपत्नी शोभा बरालले सम्मानपत्र लिएका थिए ।
नेपालमा प्रजातन्त्रको पुनर्स्थापना भएपछिको पहिलो संसद्ले काठमाडौँ विश्वविद्यालय ऐन २०४८ पारित गरेपछि २०४८ साल मङ्सिर २५ गतेदेखि यो ऐन लागू हुने भनी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही मितिदेखि काठमाडौँ विश्वविद्यालय औपचारिक रूपमा अस्तित्वमा आएकाले मङ्सिर २५ गतेलाई काठमाडौँ विश्वविद्यालय दिवसका रूपमा मनाउने गरिएको छ । कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका पूर्वपदाधिकारी, निवृत्त प्राध्यापक र निवृत्त कर्मचारीका साथै वर्तमान पदाधिकारी, प्राध्यापक र कर्मचारीहरूको उपस्थिति थियो ।