सधैँ विवादमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय
सुर्खेत - स्थापना कालदेखि नै विवादमा तानिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा फरि विवादमा तानिएको छ । विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनसँग विभिन्न माग राखेर विगत चार दिनयता आन्दोलन चर्काएका छन् । जसका कारण विश्वविद्यालय तनावग्रस्त बनेको छ । कर्णालीका विपन्न विद्यार्थीको शैक्षिक सपना पूरा गर्ने उद्देश्यले अभिभावकले मुठी दान गरेर खडा गरेको विश्वविद्यालय बेथिति र राजनीतिको दलदलमा भासिएको छ । स्थापना भएको ११ वर्षसम्म विवादै विवादमा मात्र तानियो । भखैरै बामे सनै थालेको विश्वविद्यालयले विवाद र बन्दको सामना गर्दै आइरहेको छ । कहिले पदाधिकारीको विवाद त कहिले प्रशासन अनि कहिले विद्यार्थीहरूका आन्दोलन । बन्द र आन्दोलन विश्वविद्यालयमा हुने नियमित काम भएको जस्तै देखिएको छ अहिले ।
विश्वविद्यालय प्रशासनलाई आफ्ना माग सम्बोधनका लागि दबाब दिन विद्यार्थीहरू कडा आन्दोलनमा लागेका छन् । उनीहरू कहिले विश्वविद्यालयका सबै संकायहरूमा ताला बन्द गर्ने त कहिले आगोको राँको लिएर आन्दोलनमा उत्रिएका छन् । विश्वविद्यालयको मूल गेटदेखि पदाधिकारीका कार्यालय अगाडि जुलुश लिएर विद्यार्थीले यस्तो चेतावनी दिँदै आएका हुन् ।
यतिबेलो विद्यार्थी संगठनहरूले कोभिडको जोखिम कायमै भएकाले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने ं माग राखेका छन् । वैकल्पिक माध्यमबाट सञ्चालन भइरहेका कक्षाका सवालमा विद्यार्थी आफैले डाटा प्याक खरिद गरेर अध्ययन गरेकाले कोभिड अवधिको शुल्क पूर्णरूपमा मिनाहा गर्नुपर्ने, २० प्रतिशत छात्रवृत्ति कायम गरिनुुपर्ने, रोकिएका छात्रवृत्तिहरू प्रदान गर्नुपर्ने, स्ववियूू निर्वाचनको मिति तत्तकाल तोकिनुपर्ने माग विद्यार्थीहरुले राखेका छन् ।
यस्तै विद्यार्थीले हाइड्रोपावर इन्जिनियरिङ र नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता गर्नुपर्ने, ई–लाइबे्ररीको व्यवस्था हुुनुपर्ने, दीक्षान्त समारोह तत्काल आयोजना गर्नुपर्नेलगायतका माग विश्वविद्यालय प्रशासन समक्ष राखेर आन्दोलनमा होमिएको अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य एंव कर्णाली प्रदेश सहसंयोजक तिर्सना हमालले जानकारी दिइन् । उनले विश्वविद्यालयमा उपकुलपतिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।
विश्वविद्यालयका स्ववियू सभापति झक्कबहादुर शाहीले विश्वविद्यालयले विद्यार्थीहरूको स्वास्थ्यमाथि खेलबाड गरेको बताए । कोभिडका कारण अहिलेको समयमा अनलाइनबाटै परीक्षा हुनुपर्ने प्रमुख माग रहेको बताए । आन्दोलन गर्न थालेको चार दिन भइसक्दा पनि आफ्ना मागहरू कुनै सुनुवाइ हुने संकेतनदेखिएको उनले बताए । मागहरू सुनुवाई नभए उपकुलपतिको राजीनामा समेत माग्ने शाहीले बताए ।
‘हाम्रो अन्तिम विकल्प भनेको उपकुलपतिको राजीनामा माग्ने हो तर, उहाँले सायद दिनुहुन्न होला’ उनले भने, ‘अब हामी नेपाल सरकारसँग विश्वविद्यालय सञ्चालनका लागि राम्रो टिम पठाउन अनुरोध गर्ने तयारीमा छौ ।’ यता विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विद्यार्थीहरूका जायज माग भए वार्ता र छलफलबाट सम्बोधन गरिने बताए । सिंहले वार्ता र छलफलमा आएर विवाद समाधान गर्नुपर्नेमा जोड दिए । विद्यार्थीका सबै मागहरू जायज नरहेको उनको भनाइ छ ।