वातावरण

देशभर कहाँ कति पानी पर्‍यो

इकागज | माघ २१, २०७८

काठमाडौँ - श्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगजर्न/चट्याङसहित हल्का वर्षा भइरहेको छ ।  महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ ।

बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । काठमाडौँ उपत्यकामा दिनभर घाम नदेखिएकाले आज निकै जाडो महशुस गरिएको छ । आज काठमाडौँको न्यूनतम ४ दशमलब ९ र अधिकतम तापक्रम ९ डिग्रीसेल्सियस रहेको छ ।

आज सबैभन्दा बढी नेपालगञ्जमा ६४, वीरेन्द्रनगरमा ५२, जुम्लामा ५० मिलिमिटर वर्षा भएको छ । त्यस्तै घोराहीमा ३३, भैरहवामा ३०, पोखरामा २९, ओखलढुंगामा २२ र जनकपुरमा १८ मिलिमिटर वर्षा भएको छ ।

हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको र केही दिनबाट यो प्रणाली हटेर क्रमिक रुपमा मौसममा सुधार आउने महाशाखाले जनाएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

प्रदेश नं १, मधेश, बागमाती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगजर्न/चट्याङ/असिना सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।रासस