साहित्य

काठमाडौँबाहिर-२

काठमाडौँको पिँजडामा संघीयताको सुगा कैद छ

इकागज | मंसिर २२, २०७७

नेपाल राजनीतिक-कागजी रूपमा संघीय भइसकेको छ । संघीय नेपालमा अधिकार मात्र होइन, सेवा-सुविधा पनि प्रदेशकरण-स्थानीयकरण हुनुपर्ने हो । शासन-प्रशासन, व्यापार-रोजगार, शिक्षा-स्वास्थ्य जस्ता क्षेत्र मात्र होइन, सञ्चारमाध्यम पनि काठमाडौँ केन्द्रित भइरहेको आरोप-अनुभव आत्मसात् गर्दै हामीले ‘काठमाडौंबाहिर’ शृंखलामा काठमाडौँ उपत्यकाबाहिर बसेर सत्कर्म गरिरहनुभएका प्रतिनिधि पात्रका अनुभव बाँडिरहेका छौँ । पहिलो शृंखलामा पोखरामा बसेर सिने-रंगकर्म गरिरहेका माओत्से गुरुङको अनुभव प्रस्तुत गरेका थियौँ । यो दोस्रो शृंखलामा नेपालगन्जमा बसेर लेखपढको कर्ममा सक्रिय अमृत शर्मा ढकालको अनुभव बाँड्दै छौँ । नेपालगन्जको समग्र इतिहास समेटेर ‘सद्भावको सहर नेपालगन्ज’ प्रकाशन टिममा रहेका उनले हालै गीतसंग्रह ल्याएका छन् । उनी नेपालगन्जमा साहित्यिक पत्रिका पनि निकाल्छन् र राजनीति पनि गर्छन् । 

काठमाडौँ कति बस्‍नु भो ? के-के गरेर फर्कनु भो ?
केन्द्रीकृत जहानियाँ शासन व्यवस्थाको काव्यिक प्रतिरोध गरेर लेखनाथ पौड्यालले ‘पिँजराको सुगा’ लेखेका थिए । कैयौँ वर्षपछि अर्का कवि कृष्णभूषण बलले लेखेको ‘काठमाडौँ एक्लैले अब काठमाडौँ बोक्न सक्दैन’ कविताको चर्चाचुलीको समयमा म काठमाडु छिरेँ ।

गुणस्तरीय विश्वविद्यालयीय शिक्षाका लागि काठमाडौं पुग्‍नैपर्ने औपनिवेशिक ग्राउन्ड पछ्याउँदै काठमाडौं छिरेर घमण्ड गर्न पुग्ने स्तरको विश्वविद्यालयले दिएको घमण्डपत्र कमाएँ । भुकुटी मण्डपमा उपेन्द्र सुब्बाको हाँसो हेरेँ । धरहराको फेदीमा बेच्न राखेको पच्चीस रुपैयाँ सिल राँगाको सेकुवा खाँदै कीर्तिपुर पुगेँ । बाघभैरवको छेउमा पाँच रुपियाँ कप चिया पिएँ । आफू  एक्लो छु लागेको दिन बाघभैरव मन्दिरको किनारमा उभिएर काठमाडौं हेरेँ । र, काठमाडौंमा आफू कतै नअटाउने सन्तापमा केही आँसु झारेँ । गीतका स्थायी र अन्तरा लेखेँ । झन्डै झन्डै पन्ध्र सय दिन भाडामा बसेको काठमाडौंले सायद मलाई प्रेम पनि भाडाकै गर्‍यो क्यारे । मन कहिल्यै रमाएन । मन नबस्ने सहरमा म एक्लो कतिन्जेल बस्थेँ र, अनि मैले काठमाडौं छोडेँ ।

फर्किनुमा काठमाडौँको विकर्षण मात्र कि गाउँ-ठाउँको आकर्षण पनि ? 
मैले सम्पादन गर्ने साहित्यिक पत्रिका ‘विरेचन’लाई विज्ञापन दिने सामुदायिक वन बाँके/बर्दियामै थिए । मेरो राजनैतिक उद्देश्य यतै थियो । मित्र यतै थिए । दुश्मन यतै थिए । मैले मेरी प्रियासँग बसेर आलु टिकिया खाएका पसल र सम्झना यतै थिए । मच्चिमच्ची साहित्यिक गफ गर्ने साथीहरू, ‘मेरे कातिल तुम हो ए कब कहा हे मैने’ लेख्ने अब्दुल लतिफ शौकहरू, प्रकाश राजापुरीले ‘जब जिउने कला आयो त मर्नु पर्‍यो मलाई’ गजल सुनाएको फत्ते मुसाफिर खाना, त्रिभुवन चौकको चाट, जामे मस्जिदको छेउको चिया, किंग्सको म:म, मुबारकको बिरियायनी, रानी तलाउ र यादहरू !

नेपालगन्जको इतिवृत्त समेटेर मोटै किताब प्रकाशन गर्नुभयो, के छ त्यसमा ? कसरी आयो यो सोच ?
नेपालगन्ज सहर त हो तर यो सहर मात्रै होइन । आधुनिक नेपालको इतिहास नेपालगन्जबिना अधुरो हुन्छ । नेपालगन्जसँग धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, इतिहासका अनेकौँ पहलुहरू जोडिएका छन् । यी ऐतिहासिक तथ्यहरू लिपिबध्द गरिएन भने हाम्रो इतिहास साँघुरो हुनेछ भन्ने लागेर हामीले ‘सद्भावको सहर नेपालगन्ज’ प्रकाशन गर्‍यौँ । सृजन लम्साल, शुक्रऋषि चौलागाईं, छत्रपतिसिंह ठकुरी, महेन्द्र वाग्ले, बालकृष्ण शर्मा अनि सल्लाहकारमा सनत रेग्मीसँग मिलेर गरिएको काम हो । सामान्यत: यो पुस्तक सम्पूर्ण नेपालगन्जको विगत र वर्तमान हो ।

कतिपय कुराहरू तथ्यगत अभिलेखको अभावमा आख्यानात्मक रूपमा आएका छन् । सम्पादनका क्रममा मलाई यो पुस्तक आजभन्दा ३०/४० वर्ष पहिले निस्कनु पथ्र्यो जस्तो लागेको हो । लेखक तथा राजनीतिशास्त्री हरि शर्मा जस्तो प्राज्ञिक व्यक्तित्वले महत्व दिएर पुस्तक खोज्‍नु र संग्रह गर्नुले यसको औचित्यमाथि संकेत गर्छ ।

गीत अचेल पढ्ने रूपमा आउँदैनन्, भर्खरै नेपालगन्जबाट गीत संग्रह निकाल्नु भो नि ?
नेपाली साहित्यिक गीत लेखनको क्षेत्रमा अघिल्लो पुस्ताले स्थापना गरेको गर्विलो आधार मेरो पुस्ताले ‘स्टेज गीत’ लेखेर झन्डै झन्डै भत्काइसकेको छ । उफ्रिन मिल्ने संगीत भर्‍यो, २/४ गोरो छाला भएका मोडल नामका लट्टु नचायो, युट्युब भन्यो, भ्युज भन्यो सक्कियो । यस्ता खाले नाम मात्रका गीतले बजार भरिभराउ भएका बेला पढ्न मिल्ने गरी मेरो अग्रज पुस्ताबाट अभिप्ररित भएर मैले ‘लजालु पहाडहरू’ प्रकाशन गरेको हुँ । अवश्य नै यो चुनौतीपूर्ण छ । विख्यात कवि नीदा फाजलीको गजल सम्झन्छु :
‘सफर मे धुप तो होगी जो चल सको तो चलो
सभी है भींड मे तुम भी निकल सको तो चलो’

राजनीति पनि गर्नुहुन्छ तपाईं ?
निम्‍न मध्यम वर्गीय ग्रामीण बालकका रूपमा तराईको धुलाम्मे विकासमा हुर्केको मभित्र उच्च माध्यमिक तहदेखि नै राजनैतिक लगाव थियो । मैले गीत लेखन र राजनीति सँगसँगै सुरु गरेको हुँ ।

संघीय नेपालको यो अनुभव नेपालगन्जबाट के-कस्तो देखिन्छ ? 
संविधानमा परिकल्पना गरे तापनि हामी वास्तविक संघीय व्यवस्थामा छौँ जस्तो मलाई लाग्दैन । काठमाडौंको पिँजडामा संघीयताको सुगा कैद छ । काठमाडौंले निर्देशन गरेको ठाउँमा प्रदेश राजधानी तोकिन्छ । काठमाडौंले चाहेको मान्छे प्रदेशको मुख्य मन्त्री, मन्त्री बन्छ । काठमाडौंले हेरेको ठाउँमा विकास हुन्छ । काठमाडौं यतातिर घुम्न झर्‍यो भने मात्रै प्रहरीहरू सडकमा सिटी फुक्छन् । यस्तो काठमाडौँतन्त्रलाई पनि के संघीयतन्त्र भन्नु !
बेलाबेलामा यस्तो लाग्छ, हात्ती कुर्ने मचानमा उभिएर जोडजोडले चिच्याऊँ : ‘ए काठमाडौं अब हामीलाई हाम्रो भागको काठमाडौं चाहिन्छ ।’

संघीयता भए पनि हाम्रो सोच केन्द्रीकृत, एकात्मक नै छ भन्‍न खोज्‍नुभएको ?
हामीले भोगिरहेको संघीयताले राजनैतिक रोजगारीको सिर्जना गर्नुबाहेक अन्य गतिलो केही गरे जस्तो जनताले महसुस गर्न सकेका छैनन् । नेताहरूले चुनावी जित/हारको इन्ट्रेस्ट र इन्टेन्सनका आधारमा कथित ‘अखण्ड’ हुने मागले संघीयताको स्वरूप नै बिगारिदियो । अन्य कुनै संघीयताको आधारभूत सैध्दान्तिक आधारबिना नेता केन्द्रित सहरहरू नै प्रदेश राजधानी तोकिनुले प्रस्ट पार्छ कि हाम्रो सोच कति यथास्थितिवादी र एकात्मक छ ।

साहित्यिक पत्रकार पनि हुनहुन्छ, नेपालगन्जको लेखपढको खबर के छ ?
मैले लामो समय ‘गजलगङ्गा’को सम्पादन गरेँ । बहुविधा समेट्नुपर्छ भन्ने लागेर ‘विरेचन’को प्रकाशन सम्पादन गरेँ । यस क्षेत्रको विधागत साहित्यिक विशेषांकहरू पनि सम्पादन गरेँ । त्यसरी काम गर्दा मैले देखेँ कि हाम्रो लेखन छ, अध्ययन छैन । जब अध्ययन र अनुभूति हुँदैन, त्यतिबेलाको लेखन पुनरावृत्तिसिवाय केही हुँदैन । तर आजभोलि पढ्नुपर्छ भन्‍ने लाग्‍ने थालेको छ, नेपालगन्जलाई पनि ।

काठमाडौँबाहिर-१
- फोहोरी काठमाडौँ नगई सुखै छैन, खास्‍सा त पोखरा लाग्‍छ

म टेलिफोनको रिसिभर समाएर बसिरहन्थेँ अनि उहाँ हार्मोनियम बजाएर भूपी दाइलाई गीत सुनाइरहनु हुन्थ्यो

पेमाला गुरुवाचार्य | मंसिर २०, २०७७

प्रेमको सुरुवात, भेटघाट र विवाह  त्यतिखेर म दार्जीलिङको गभर्मेन्ट कलेजमा पढ्थेँ र क्यासल्टन कटेजमा ...