प्रेरक कथा : भ्वाइलिनको धून !
कुनै महान् संगीतकारलाई एउटा सांगीतिक कन्सर्टमा भ्वाइलिन बजाउने विशेष निम्तो थियो । संगीतका पारखीहरू उनले प्रत्यक्ष भ्वाइलिन बजाएको हेर्न लालायित र व्यग्र थिए । एक महिनाअघिदेखि नै टिकटहरू धमाधम बिक्री भइरहेका थिए । त्यस मुलुकका अति नै विशिष्ट र सम्पन्न मानिसहरूले तँछाडमछाड गर्दै उक्त महान् संगीतकारको कन्सर्ट हेर्नका लागि टिकट खरिद गरे ।
समयको रफ्तारसँगै कन्सर्टको दिन पनि आइहाल्यो । साँझ ५ बजेलाई कन्सर्ट तय थियो । दर्शक दिउँसैदेखि ठूलो संख्यामा त्यस विशाल कन्सर्ट हलमा पुगेर आआफ्नो स्थान ओगटिरहेका थिए ।
रेल्वे स्टेसनमा भीड अत्यधिक बढेको थियो । त्यहाँ लगभग कन्सर्ट हेर्न जानेहरूकै ठेलमठेल थियो । रेलबाट ओर्लिएर मानिसहरू कन्सर्ट हलसम्म जानका लागि रिक्सा र टेम्पु रिजर्भ गर्न व्यस्त थिए । रेल्वे स्टेसन र रिक्सा टेम्पु स्ट्यान्डबीचको गल्लीको एक किनारमा एउटा भिखारी निकैबेरदेखि भ्वाइलिन बजाइरहेको थियो । उसले आफ्नो अगाडि एउटा कटोरा पनि थापेको थियो ।
कन्सर्ट हेर्न जाने चटारोले गर्दा गल्लीको एक कुनामा बसेर भ्वाइलिन बजाइरहेको भिखारीको कचौरामा पैसा फ्याँक्ने त के त्यस झुत्रेतर्फ हेर्ने फुर्सद पनि त्यहाँ हिँडिरहेका मानिसलाई नभए जस्तो लाग्यो । जबकि भिखारी त्यहाँ ओहोरदोहोर गरिरहेका मानिसका नजरभन्दा टाढा थिएन । उसले बजाइरहेको भ्वाइलिनको धुन पनि अलिक चर्कै थियो । तर कुनै महान् संगीतकारको कन्सर्ट हेर्न जाने हतारमा हिँडिरहेका मानिसहरूलाई त्यस झुत्रे भिखारीले बजाइरहेको भ्वाइलिनको धुन सुन्ने न फुर्सद थियो न त कुनै चासो नै ।
अपराह्नको ४ बज्दै थियो । रेल्वे स्टेसनमा अझै भीड घटेको थिएन । बरु बढिरहेको थियो । मानिसहरू हस्यांगफस्यांग गर्दै कन्सर्टतर्फ जाने क्रम जारी थियो । त्यो भिखारी भने उसैगरी गल्लीको एक कुनामा लगातार भ्वाइलिन रेटिरहेको थियो । त्यतिबेलासम्म उसको कटोरामा कसैले एक रुपैयाँ पनि हालेको थिएन । न त कोही अगाडि उभिएर उसले बजाइरहेको भ्वाइलिनको सुमधुर धुन सुनिरहेको थियो । तर पनि त्यो भिखारी भने पुरै तन्मयसाथ भ्वाइलिन बजाइरहेको थियो ।
अचानक !
आफ्नी आमाको हात समाएर कन्सर्ट हलतर्फ जानका लागि टेम्पु चढ्न हिँडिरहेकी करिब सातवर्षे एउटी बालिका भिखारी छेउमा पुगेपछि टक्क अडिइन् । बालिका बडा ध्यानपूर्वक उसले बजाइरहेको भ्वाइलिनको धुन सुन्न थालिन् ।
आमाले बालिकालाई तान्दै भनिन्, ‘हामी हजार रुपैयाँ तिरेर यो भिखारीले बजाएको भ्वाइलिन होइन, हाम्रो मुलुककै महान संगीतकारको सांगीतिक जादुले आनन्दित हुन हिँडेका हौँ । छिटो आऊ । कन्सर्टमा पुग्न ढिला हुन्छ !’
तर बालिका नचटपटाई भिखारीले रेटिरहेको भ्वाइलिनको धुन सुन्नमा नै तल्लीन थिइन् । आमाले त्यसरी तान्दा उनले आफ्ना पाइतालाहरूलाई जमिनमा दह्रो गरी टिकाइराखिन् र आफूलाई तान्दै गरेकी आमाको हात फुस्काउने असफल चेष्टा गर्दै भिखारीले बजाइरहेको भ्वाइलिनको धुनमा हराउन थालिन् । बालिका भिखारीले बजाइरहेको भ्वाइलिनमा एकोहोरिन थालेपछि आमाले उनलाई जुरुक्कै बोकिन् । बालिकाले अबेर नगरी आफ्नो ज्याकेटको खल्तीबाट केही सिक्का भिखारीको कचौरातर्फ हुत्याइन् । सिक्काहरू कचौरा छेउमा छिन्द्रिङ्ग छरिए । भिखारीले भ्वाइलिन बजाउँदा बजाउँदै बालिकातर्फ पुलुक्क हेर्र्यो र एउटा सुमधुर मुस्कानको तरंग फैल्याइदियो ।
आमा चाहिँले बालिकालाई करिबकरिब जबर्जस्ती एउटा टेम्पोमा बसालिन् । बालिका भने अझै पनि त्यही भिखारीले बजाइरहेको भ्वाइलिनको धुनतर्फ नै चुम्बकीय भइरहेकी थिइन् । टेम्पो स्टार्ट भयो र अगाडि बढ्यो । तर झ्यालबाट तन्कितन्की बालिकाले त्यस् भिखारीतर्फ हेरिरहिन् । कर्कशलाग्दो आवाज निकालेर टेम्पोले गति लिएपछि भिखारीले बजाइरहेको भ्वाइलिनको धुन सुनिन छाड्यो । अनि भिखारी पनि पछाडिपछाडि पर्दै गयो ।
उता ठिक ५ बजे कन्सर्ट सुरु भयो । मञ्चमा महान् संगीतकारलाई बोलाइयो । नभन्दै उनी हातमा एउटा स्वर्णलेपित भ्वाइलिन लिएर प्रकट भए । संगीतकार निकै आकर्षित लागिरहेका थिए । उनी निकै ताजगीमय देखिन्थे र सादगीले भरपूर पनि लाग्थे । लामो र कर्ली परेको कपालले उनको चम्किलो मुहारलाई अझ खोलिरहेको प्रतीत हुन्थ्यो ।
माइक छेउमा पुगेर संगीतकारले सबैलाई अभिवादन गर्दै भने, ‘माफ गर्नुहोला ! आज म तपाईंहरूसमक्ष भ्वाइलिन बजाउन असमर्थ छु !’
त्यस् महान संगीतकारको भनाइ भुइँमा खस्नासाथ हलमा एउटा भयंकर सन्नाटा छायो । मान्छेहरू मुखामुख गर्न थाले । एउटा विशाल प्रश्नवाचक चिह्नले त्यहाँको वातावरणलाई अकस्मात ढाक्न पुग्यो ।
किन होला ? हमेशा सादगीमा रहन रुचाउने यो महान् संगीतकारलाई के भयो आज ? के उसलाई सञ्चो छैन ? कि अरू नै केही हुनपुग्यो ? यस प्रकार दर्शक एकआपसमा कानेखुसी गर्न थाले ।
त्यस महान् संगीतकारले अगाडि भन्यो, ‘तर यसै दर्शक दीर्घामा उपस्थित एकजना विलक्षण श्रोताका लागि भने आज म अवश्य एउटा अभूतपूर्व प्रस्तुति दिन चाहन्छु !’
खचाखच दर्शक दीर्घामा संगीतकारले एक नजर घुमायो । र, आफ्नी आमासँग बसिरहेकी एउटी बालिकातर्फ चोरी औँलो सोझ्याउँदै बडा ओजपूर्ण आवाजमा भन्यो, ‘यस भीडमध्ये केवल यो बालिकाले मात्रै मेरो संगीतको रसास्वादन गर्ने क्षमता राख्छिन् । अरू सबैलाई मेरो भ्वाइलिनको धुन होइन, मेरो प्रसिद्धि र लोकप्रियताको आडमा आफ्नो अहंकारलाई बढावा गर्ने खाद चाहिएको छ । यो अबोध बालिकाबाहेक अरू सबै कृपया बाहिर जानुहोला । तपाईंहरूको लागि आज यहाँ बजाउने धुन मैले अघि नै रेल्वे स्टेसनमा बजाइसकेँ । हो, रेल्बे स्टेसनछेउमा अघि भ्वाइलिन बजाउने भिखारी म नै थिएँ ।’
साँच्चै नै अघि रेल्बे स्टेसनछेउमा उनी भेष बदलेर भ्वाइलिन बजाइरहेका थिए । कसैले उनलाई चिनेनन् । तर अहिले त्यस महान् संगीतकारको कुरा सुनेर सबैजना स्तब्ध हुन पुगेका थिए । त्यस अबोध बालिकाका आँखा रसाए । अनि उनकी आमाका पनि ।
दर्शक लज्जित पनि हुन पुगेका थिए । उनीहरू चुपचाप बाहिरिए । अर्को विकल्प थिएन । महान् संगीतकारको आदेश नमानी त्यहाँ कसैलाई सुखै भएन । सबै बाहिरिएपछि त्यहाँ दर्शकका रूपमा बालिका मात्रै बाँकी थिइन् । उनी चुपचाप थिइन् र टुलुटुलु त्यस अति प्रज्ञावान संगीतकारलाई हेरिरहेकी थिइन् । एउटा भयानक सन्नाटाले सम्पूर्ण कन्सर्ट हललाई कब्जा गरेको थियो ।
अनि ती महान् संगीतकारले सन्नाटा चिर्दै भ्वाइलिन रेट्न थाले । सम्पूर्ण कक्ष भ्वाइलिनको सुमधुर संगीतले गुञ्जायमान भयो । बालिकाका शरीरमा काँढाहरू उम्रिए । उनी त्यो जादुमयी संगीतलाई सुनेर मग्न भइन् । उनका कानहरू तातेका थिए । उनलाई एक किसिमको निर्वाणको अनुभूति भइरहेको थियो । उनको चेहराको कान्ति अति जाज्वल्यमान देखियो । अनि उनको सारा चेतना पनि खुल्न थालेको थियो ।
भ्वाइलिनको धुन झन्झन् अनौठो र तेज लाग्दै थियो ।
भित्रैदेखि उम्लिए झैँ लाग्ने एउटा असीम आनन्दले बालिकालाई अँगालोमा बाँधेको थियो । कुनै सुन्दर पन्छीको प्वाँखभन्दा पनि हल्का बतासको झोँक्काले उनको हृदयमा स्पर्श गरेझैँ भयो । यस्तो लाग्यो, त्यहाँ एकसाथ हजारौँ रंगीबिरंगी फूलहरू सुगन्ध छरेर फक्रिएका छन् । भुर्रभुर्र नाच्दै पुतलीहरू फूलको रस चुसेर अमृत बटुलिरहेका छन् । त्यहाँ यस्तो पनि लाग्यो कि एकसाथ दर्जनौँ मयूरहरू नाचिरहेका छन् । अनि भ्वाइलिनको धुन झन्झन् रहस्यमय बन्दै गयो ।