साहित्य

कोभिड कथाहरूको कोलाज

सुवाससिंह पराजुली | कात्तिक १५, २०७७

संसार कोरोना अर्थात् कोभिड-१९ भाइरसका कारण त्राहिमान भएको छ । नौलो किसिमको भाइरस भएका कारण आधुनिक चिकित्सा भाइरसको निराकरणमा लागेको देखिन्छ भने ठूला देशको ठूलै स्वर मुखरीत भइरहेका छन् । धेरैका धेरै अनुमान छन् ।

विश्व अर्थतन्त्रसँग जोडेर आएको राजनीति हो भनी मान्नेहरू पनि छन् । साँचो कुरा सबै देशको अवस्था भयावह नै छ र अब आउने मानवीय जीवन कस्तो होला भन्ने अन्यौल साझा छ । यस लहरमा हरेकका आआफ्ना अनुभव छन् र भोगाइ छन् । सबैभन्दा संवेदनशील त स्रष्टाहरू हुने गर्छन् । कला र भावनाको प्रत्यक्ष सम्बन्ध जोडिएको हुनाले घरभित्रै वा ऐकान्तिकतामा बस्न मन पराउने सर्जकहरूका निम्ति बन्दाबन्दीको समयले शून्यतासँग थप नजिकबाट साक्षात्कार हुने मौका प्राप्त भएको छ । यसै क्रममा नेपालको संस्कृतिलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गरिरहेको र कला संस्कृतिलाई देशको सीमाभन्दा पर रहेका प्रवासी नेपाली र नेपालप्रेमीहरूमाझ नेपालको संस्कृतिलाई परिचय गराउँदै आएको संस्था नेपाल सेन्टरले कोभिड-१९, कथाहरू प्रकाशनमा ल्याएको छ । देश र विदेशमा रहेका छब्बीस जना नेपाली लेखकहरूका अनुभव, कथा, संस्मरणका रूपमा कोभिड-१९ कथाहरू शीर्षकमा अनुबन्ध भएका छन् ।

कागजी पठन साहित्य घट्दै गएको अनुमान नेपालमा मात्र नभई विश्वमै ह्रास आउँदै गइरहेको अवस्था अहिलेको हो तर पनि हातमै पुस्तक लिएर पढ्नेहरूको संख्या घटेको छैन । विद्युतीय माध्यममा अध्ययन गर्ने नयाँ पुस्ताको रुचिले कागजमा प्रकाशित समाचार तथा साहित्यिक सृजनाहरू पनि उत्तिकै रूपमा चाख दिएर पढ्ने गरेको रिपोर्टले बताउँछ ।

सहभागी कथाकारबारे लेखेका परिचयले पुस्तक सुन्दर बनाएको छ तर ती सम्पादकको नीजि सम्बन्धमा आधारित भएर लेखिएका हुन् कि भन्ने अनुमान परिचयमा दिइएका विषयले प्रस्ट्याउँछ ।

कोभिडले पारेको प्रभाव, असरको सेरोफेरोमा सृजनाहरू घुमेका देखिन्छन् । जर्मनीमा होटल व्यवसाय गरी बस्ने उद्यमी लेखक जीवा लामिछानेको अनुभवले त्यहाँको हालको अवस्थाबारे छर्लंग बताएको छ र सरकारले कसरी आफ्ना नागरिकको सुरक्षा विधि अपनाएको छ भन्ने कुरामा केन्द्रित छ । साथै लामिछानेले आफ्नो दैनिकी पनि प्रस्ट रूपमा लेखेका छन् । अमेरिकामा बसोबास गर्ने नेपाली साहित्यको गाम्भीर्य बोकेका सर्जक राजवको कथाले लासहरूको भयावह र नम्बरमा सीमित अस्तित्वको तथ्य र कल्पनाको साँधमा उनको सृजनाले बलियो हस्ताक्षर बनेर कथासंग्रहमा आएको छ र कृतिलाई गर्विलो तुल्याएको छ । भारतीय सिने जगत्मा ख्यातिप्राप्त नाम मनीषा कोइरालाको कथाले पनि जीवन दर्शन र बाँचिरहेको पीडालाई विधायकका रूपमा व्यक्त गरिएको छ । कोभिड १९, कथाहरू कृतिले नेपाली साहित्य तथा इतिहासको लेखनमा समय सम्बद्ध भई भोगेका-सोचेका शाब्दिक यात्रालाई चौतारी प्रदान गरेको छ ।

संवर्द्धनमा लागेको विश्वव्यापी सञ्जाल भएको गैरनाफामूलक संस्था नेपाल सेन्टर इन्टरनेसनलले कोभिड १९ कथाहरूको अन्य भाग पनि प्रकाशनमा ल्याउने प्रतिबद्धता जनाएको छ । पहिलो पुस्तकमा बेलायत, अमेरिका, जर्मनी, क्यानडा, अस्ट्रेलिया, भारत हुँदै नेपालका सर्जकहरूका रचना समेटिएका छन् । आउने संस्करणमा छुटेका कथाहरू सहभागी गराई सबैका कोराना विषयक कथानुभूतिलाई स्थान दिने बताएको छ । सम्पादन निर्मल थापाको कार्यलाई यति चाँडै तिख्खर कृति प्रकाशमा ल्याउनसक्नु तारिफयोग्य काम भएको छ । थापाले सहभागी कथाकारबारे लेखेका परिचयले पुस्तक सुन्दर बनाएको छ तर ती सम्पादकको नीजि सम्बन्धमा आधारित भएर लेखिएका हुन् कि भन्ने अनुमान परिचयमा दिइएका विषयले प्रस्ट्याउँछ । सबै सृजनाहरू कोरोना विषयमा केन्द्रित नभए पनि कोरोना कालमा लेखिएका रचना भएकाले तिनीहरूको संकलन आफैँमा ऐतिहासिक हुने नै भयो ।

छब्बीस जना कथाकारका अनुभव र भोगाइ यहाँ पढ्न सकिन्छ । कोराना कालको सुन्दर शब्द संयोजन यिनमा पाइन्छ । 

कृतिमा बेलायतमा बसेर कलम चलाइरहेका सुरेन्द्र नेपाल श्रेष्ठले बोलेको लाहुरे जसबिरको दुःख र लाहुरेनीको वियोगले गोरखाहरूको मनोदशा दर्साएको छ । डा. संगीता स्वेच्छाले सुनैना अन्टीको अमर उपहार र उनको दैनिकी जीवनको अक्षरशः व्याख्या गरेकी छिन् । क्यानडामा रहेका टीपी पौडेलले टोरोन्टो क्षेत्रको खबर र नेपाली डायस्पोराको शाब्दिक वृत्तचित्र कोरेका छन् । अमेरिकामा बसोबास गरिरहेका सायद अशोकको कथाले पनि नेपाली मनको कुरा गरिरहेको छ, जो हाल अमेरिकी दैनिकीमा अभ्यस्त भएको छ । अस्ट्रेलियालाई कर्मथलो बनाएर लेखनमा निरन्तर लागिरहने निरु त्रिपाठीको ‘पेरिस्कानो’पछि आएको यो कथाले उनको शक्तिशाली उपस्थिति देखाएको छ र बाहुनको अछुतो लासमा समाजको ऐनामा देखिएका विवरणले सजीव पठन गराउँछन् । कुमार शर्माको कथाले सानी छोरीको मनोविज्ञानलाई लिएर घरमा रहेका बुवाआमाको सम्बन्ध अनि सेरोफेरोका गतिविधिलाई सुन्दर लेखनद्वारा ऊर्जा भरेका छन् । कथाकारका आआफ्नै तवरले बाँचेको समय कालको चित्रणलाई कोभिड-१९ कथाहरूमा पढ्न सकिन्छ ।

पुस्तकमा मदन पुरुस्कार विजेता, गुरुप्रसाद मैनाली, रमेश विकलपछिको कथालेखनको एक्लो हस्ती भनिने महेशविक्रम शाहको कथाले अवकाशपछिको समय र प्रतिनिधि नेपाली परिवारको जीवनचित्रलाई कोरोनाको भयले कसरी डस्न पुग्छ र परिवारमै एक्लो बनाउँछ त्यसको विस्तृत वर्णन उनको कथा लकडाउन दिन-८३ मा पाउन सकिन्छ ।

कुमार नगरकोटीको आफ्नै शैली लगबुकको अन्तिम पानाले उघारेको छ । अन्य सर्जकहरूमा समकालीन आख्यान लेखनमा सक्रिय नामहरू राजकुमार बानियाँ, गनेस पौडेल, निर्मल थापा, रोशन शेरचन, अर्चना थापा, यज्ञश, किशन थापा अधीर, गोविन्द गिरी प्रेरणा रहेका छन् । हतारोका कारण व्याकरणीय शुद्धिमा केही गल्ती भेटिएका छन् तर संग्रहित कथाहरूले पाठकको सुरुचिपूर्ण परवाहलाई रोक्ने छैनन् र उनीहरूको आशालाई सन्तुष्ट दिने सामथ्र्य अवश्य राख्छन् ।

कोभिड १९ कथाहरू ३२० पृष्ठ भएको पेपरब्याकमा मुद्रण गरिएको पुस्तक रहेको छ । जसको मूल्य ६५० रुपैयाँ रहेको छ । कृतिको संयोजन तथा सम्पादन निर्मलकुमार थापाको रहेको यो पुस्तकको परिकल्पना पनि उनैको हो । दर्जन कृतिका लेखक थापा अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था नेपाल सेन्टरका संस्थापक हुन् । कथासंग्रहमा दीपक पराजुली, सुनैना पन्थी, पिपला ढुंगानाजस्ता नयाँ लेखकहरूलाई ठाउँ दिइएको छ । यो कृति कोरोना विषयक कुनै प्रामाणिक कृति नभइकन कोरोनाकालमा हामी सबैले भोगेको अनिश्चित संशय र अब के होला भन्ने भयले सबैलाई लखेटेको सजीव व्याख्या हो ।

हुन त त्यो क्रम अहिले पनि जारी छ तर यस कालखण्डमा आममान्छेभन्दा संवेदनशील र भावुक लेखक सर्जकहरूका मनोदशा चित्रण गरिएको पुस्तकले ऐतिहासिक महत्व अवश्य राख्नेछ र यस कोरोना महामारीका भोगाइ र बुझाइ अक्षरमार्फत जीवन्त तुल्याउनेछ भन्ने मेरो अभिमत रहेको छ । (पराजुली विशेषतः अंग्रेजी भाषाका लेखक हुन् । उनका तीनवटा कविता कृति प्रकाशित छन् ।)