शरद शृंखला
स्वर्णिमा औ नयाँ गवैया : सन्की कवि-चित्रकारको गुप्त गाथा
सबैले भन्थे ऊ सन्की छ । उसमा पागलपन धेरै छ । ऊ बक्सर पनि हो । खुकुरीले हान्छ । उसको घर नजाऊ । तर, मलाई एक समय साहित्यकारहरू भेट्ने भूत सवार भएकाले उहाँलाई भेट्ने भुटभुटी र उत्कण्ठाले निकै सतायो ।
कुनै सभा सम्मेलनमा भेट नहुने । बाटातिर पनि कहीँ नदेखिने । कसरी भेट्ने भनेर जुक्ति लगाएँ । घरमा नै गएर भेट्छु भनेर अठोट गरेँ तर डर लाग्यो । उहाँको सन्कीपनको कथा जो सुनथेँ । तर, एक दिन ठूलै आँट बटुलेर गएँ भेट्न । दार्जिलिङको लिम्बू बस्तीमा, जहाँ प्रसिद्ध लेखक पारिजातले आफ्नो १७ वर्ष बिताएकी थिइन् ।
पाँच मिनेटजति बसेर मैले केही प्रश्न गरेँ तर उत्तर प्राय: आएनन् । डर र त्रास त थियो नै, त्यसैले धेरै सोध्ने आँट आएन । बिस्तारैबिस्तारै निस्केँ, नमस्ते गरेर । खुसीले गद्गद् भएँ, यस्ता दुर्लभ व्यक्तिलाई भेटेँ भनेर अनि अझै खुसी लाग्यो सकुशल फर्केकामा । म त्यसबेला करिब २० वर्षको जति थिएँ होला । ती दुर्लभ व्यक्ति थिए कवि वीरेन्द्र सुब्बा । सबैले कवि वीरेन्द्र भनेर मात्र चिन्ने । त्यस बखत दुई जना कविले मात्र नाम राख्थे, थर होइन । (एक थिए कवि वीरेन्द्र सुब्बा, अर्का थिए कवि ध्रुव उर्फ ध्रुव द्विवेदी) कवि वीरेन्द्र व्यक्ति एक, व्यक्तित्व अनेक ।
कवि त उनी थिए नै । त्यस अलवा चित्रकार थिए । संगीतमा पनि दखल थियो । कविता लेखनमा उनका समकालीन अगमसिंह गिरी, दानियल खालिङ, कवि ध्रुव, नरेन्द्र कुमाई थिए भने चित्रकारितामा गोरे डगलस, भोटु प्रधान, प्रकाश कोविदहरूसँग सहकार्य गरे ।
रूपनारायण सिंह, पारसमणि प्रधान, धरणीधर कोइरालाजस्ता प्रखर साहित्यिक व्यक्तित्वको छत्रछायाँमा साहित्य सिर्जना गर्ने अवसर पाएका थिए, प्रारम्भिक कालमा । सन् १९४० को दशकदेखि कविता लेख्न थालेका कवि वीरेन्द्रको पहिलो कविता ‘उन्नति भयो’ शीर्षकमा ‘गोर्खा’मा प्रकाशित भएको थियो । उनले आफ्ना मित्र तथा दक्ष अनुवादक एवं कवि दानियल खालिङसँग संयुक्त लेखनमा पहिलो कविता संग्रह ‘एकान्त’ सन् १९५० मा प्रकाशित गरे । यसमा वीरेन्द्रका १३ र दानियलका ११ वटा कविता समाविष्ट छन् ।
सबैले भन्थे ऊ सन्की छ । उसमा पागलपन धेरै छ । ऊ बक्सर पनि हो । खुकुरीले हान्छ । उसको घर नजाऊ ।
यी कविताहरू शास्त्रीय लेखन शैलीबाट पृथक् छन् । अहिले आएर फेसनकै रूपमा प्रचलित संयुक्त लेखन उनीहरूले ७० वर्षअघि नै सुरु गरेको थाहा पाउँछौँ । वीरेन्द्रको रोमान्टिक धारा ‘मेघमाला’ (कविता संग्रह, सन् १९६३) पढ्न पाइन्छ । यो कवितामा शब्दहरू चित्रझैँ कोरिएको छ । ‘धर्मशालामा पहिलो रात’ शीर्षक कवितामा कविले पलङमा बसेर जलिरहेको चिमलाई खाली दिमागले हेरेको वर्णन गरिएको छ । उनको कवितामा दु:खको लेस पाउँदैनौँ ।
जुही कवितामा यो कुरा पाउँछौँ । कवि वीरेन्द्रको शक्तिशाली कविता हो, ‘आगोको हुँ बहँदो नदी’ । यो कविता प्रगति पत्रिकामा वि.सं. २०१० मा प्रकाशित भएको थियो ।
कहिलेकाहीँ म आफूलाई सम्झन्छु
भुल्का बग्दो आगोको, छोपिएको, पुरिएको,
ननिभेको तर जिउँदो,
चट्टानहरूको गर्भ तुहुँदै नित्य बहिरहेको,
दु:ख, विषाद, ग्लानि अनि अनन्त सन्तापले
अघि अघिदेखिन् जलाई,
उम्लँदो आगोको रक्तरंगी वेगवान् खोला तुल्याइरहेको,
मलाई नहुनेहरूलाई हुनेहरूले थिचे मिचेझैँ गरी
चाहेको थिच्न मिच्न कसैले बोध हुन्छ
ओठमा मेरो रापिलो लप्काको हँसिलो भाव होस् तापनि
आँखामा पनेलो पानी रगतको चडेको खोर हुन्छ
हृदयमा जलेको मेरो रगत उसै निर्बाध उम्लिइरहेको
छोपिएको म हुँ तापनि
मृत, मतलबी, मिथ्या, ध्वंस दुनियाँको बोल्दै
नयाँ, पवित्र, जीवित दुनियाँको घडेरी खन्दै
अट्टहास ज्वाला छोड्दै
म बाहिर आउने उमंगमा रमाउँछु ।
कहिलेकाहीँ म आफूलाई सम्झछु
भुल्का बग्दो आगोको, छोपिएको, पुरिएको,
ननिभेको तर जिउँदो चट्टानहरूको गर्भ तुहुँदै नित्य बहिरहेको ।
धेरै दिनसम्मन् म बसेँ शिलाझैँ, दुर्गाको मूर्तिझैँ
तर यौटा यौटा आगोको फिलुंगो छातीमा थुपार्दै
आज उल्लासको विरोधमा आँसु
रातको विरोधमा दिन
बन्धनको विरोधमा जीवन
शोषणको विरोधमा मोचन
बाँड्ने हेतुले आधा विश्व धर्काएर फुटेँ, म जुधेँ
छताछुल्ल भएकालाई जोड्न, बाँझो मरुलाई गोड्न
विशाल फुटको पर्खाललाई तोड्न ।
हे भाइ, म ता आगोको हुँ बहँदो नदी !
सन् १९८१ मा प्रकाशित कविता संग्रह ‘स्वर्णिमा’मा उनले सन् १९६९ र सन् १९७० मा लेखेका ३७ वटा कविता संगृहीत छन् । प्रबुद्ध समालोचक कुमार प्रधान लेख्छन्, ‘यो संग्रहका धेरै संस्कृत शब्दहरू प्रयोग गरेका छन् जसको पुस्तकको अन्त्यमा शब्दावली पनि दिएको छ । ती कविताहरूमा शब्द र भावमा रूपक र प्रयोगात्मक छ । नम्बर ३२ कवितामा तबेलाको तालमा भीषण पानी परेको भाव प्रस्तुत गरेको छ ।’ उनको अन्य कृतिमा ‘कुसुमछोरी’ (कवितासंग्रह, सन् १९६८), ‘मूल सडकतिर’ (उपन्यास, सन् १९६८), ‘फिस्टा’ (नाटक, सन् १९७४) र ‘हिमाद्री पुत्री तीष्ता’ (खण्डकाव्य, सन् २००३) प्रमुख छन् ।
कवि वीरेन्द्र सन् १९४७ मा स्थापित ‘प्रगतिशील नेपाली साहित्य परिषद्’का संस्थापक सचिव थिए भने सन् १९५३ मा स्थापित ‘प्रगतिशील नेपाली कलाकार संघ’को संस्थापक सभापति । कला र साहित्यको विकास, संरक्षण अनि संवद्र्धनका निम्ति सन् १९७२ मा स्थापित ‘श्री विश्ववाणी प्रतिष्ठान’का संस्थापक सचिव थिए अनि यसै प्रतिष्ठानद्वारा प्रकाशित अंग्रेजी भाषाको सामयिक पत्रिका ‘आर्ट्स’का सम्पादक पनि । उनले दार्जिलिङबाट प्रकाशित ‘सुस्केरा’ पत्रिकाको पनि सम्पादन गरेका थिए ।
कवि वीरेन्द्रको अर्को बलियो पाटो हो, चित्रकला । अमूर्त चित्रमा माहिर उनका चित्रहरू दार्जिलिङ, खरसाङ, कलकत्ता, दिल्ली तथा नेपालमा प्रदर्शित थिए । साहित्यरथी इन्द्रबहादुर राईले दार्जिलिङमा आयोजित चित्रकला प्रदर्शनीमा वीरेन्द्रको चित्र उधारोमा किनेको कुरा आफ्ना लेखमा उल्लेख गरेका छ । राजकीय प्रज्ञा प्रतिष्ठानको आयोजनामा उनका चित्रहरू प्रदर्शनी गरियो र पछि भारतमा बसेर नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा योगदान गरेको भन्दै अभिनन्दन गरियो ।
कवि मनप्रसाद सुब्बाले कान्तिपुरलाई दिएको अन्तर्वार्ताअनुसार वीरेन्द्र ‘मेघमाला’ कृतिका कारण मात्रै वीरेन्द्र बनेका हुन् । ६० को दशकमा प्रकाशित मेघमाला उनका सबै कृतिमध्ये उत्कृष्ट थियो । ‘स्वर्णिमा, फिस्टाजस्ता कृति पनि निस्किए’, सुब्बाले भने, ‘तर मेघमाला उनको अद्वितीय कृति हो ।’
साझा कविताको भूमिकामा चूडामणि बन्धु लेख्छन्, ‘मलाई त मेरै श्वास, मेरै प्रश्वासझैँ लाग्छ मेरो कविता’ भन्ने कवि वीरेन्द्र देवकोटा र सिद्धिचरणजस्तै कोमल भावनाका कवि भए पनि उनको अभिव्यक्ति आफ्नै ढंगको चित्रात्मक हुन गएको छ र नयाँ प्रयोगहरू चित्रित भएको छन् । उनका कविताको क्यानभास चित्रको क्यानभासभन्दा विस्तृत छ । कवि व्यथितले भनेझैँ वीरेन्द्रका कवितामा ‘प्रतीकात्मक आलम्बनमा रहेको अनुभूतिको तीव्रता छ । मेघमालामा संगृहीत उनका ‘नेपाल आमासित’, ‘डायरी लेख्न लागिरहेछु’ र ‘मेला’ कविताले कवि वीरेन्द्रका प्रतिभाको परिचय दिन्छन् ।
प्रसिद्ध समालोचक दिवाकर प्रधान लेख्नुहुन्छ, ‘चित्रकला, संगीतकला र साहित्यकलामा बराबरी सफलता पाउनुहुने श्री वीरेन्द्र कलानुरागीका निधि हुनुहुन्थ्यो । उहाँ जातले लिम्बू हुनुहुन्थ्यो, पहिले वीरेन्द्र सुब्बा लेख्नुहुन्थ्यो, ‘पछि मानवतावादी परिचय दिन श्रीवीरेन्द्र बन्नुभयो तर दार्जिलिङमा उहाँ एकलकाँटे हुनुहुन्थ्यो । लिम्बू बस्तीमा छिमेकी हुनुहुन्थ्यो तर मलाई नानीलाई जस्तै माया गर्नुहुन्थ्यो र पिकासो, रेम्ब्रा, बिथोविन, मोजार्ट, भास, कालिदासका भवभूतिहरू चिनाउनुहुन्थ्यो ।
उनका चित्रकला र छायाँछवि लिन विदेशी पुगेका हुन्थे । आकाशवाणी, कलकत्ता र दिल्लीमा शास्त्रीय संगीत गाउन जानुहुन्थ्यो । दिनहुँ बिहान तबला र सुरमण्डप पालैपालो बजाउनुहुन्थ्यो । आकाशवाणी कलकत्ता र दिल्लीमा शास्त्रीय संगीत गाउन जानुहुम्थ्यो । दिनहुँ बिहान तबला र सुरमण्डप पालैपालो बजाउनुहुन्थ्यो । दिउँसो भएपछि काउबोय टोपी, हाफप्यान्ट लाउनु भई हातमा छालाको ब्याग लिएर देशबन्धु जिल्ला पुस्तकालय जानुभई दिनभरि पढ्नुहुन्थ्यो । हामी पनि स्कुलको टिफिन खाएर पढ्ने बानी बसाल्न त्यहाँ जान्थ्यौँ । तल्लीन भइकन पढ्नुहुने उहाँबाहेक कोही बेला साहित्यकार गुमानसिंह चाम्लिङ पनि हुनुहुन्थ्यो । उहाँहरूसित बोल्नु भने धक फुक्दैनथ्यो ।
रोमान्टिक र प्रगतिवादी धाराको कवि भए तापनि कवि वीरेन्द्र कम्युनिस्ट भएको थाहा भएन । सायद उहाँले कुनै राजनीतिक दलको सदस्यता लिएजस्तो लाग्दैन । एक्लो जीवन बिताउन चाहने कविका निकटतम मित्रहरू कोही नभएकोजस्तो लाग्थ्यो मलाई । सन् २०१६ मा ९० वर्षको उमेरमा प्राणत्याग गर्दा उहाँ नितान्त एक्लो हुनुहुन्थ्यो । कवि वीरेन्द्रलाई धेरैले चिने तर थोरैले बुझे । उहाँलाई बुझ्ने प्रयास पनि कमै भयो । वि.सं. २००८ मा भारतीमा प्रकाशित ‘नयाँ गवैया म’ कवि वीरेन्द्रको सुरुवाती दिनको कविताको उत्कृष्ट नमुना हो । यस कवितामा उहाँको प्रगतिशील विचार धाराहरू प्रस्फुटित भएको छ :
म गाउँछु विप्लवयुक्त गाना उठाउँछु शोषकको खजाना
हटाउँछु दीन र हीन रात म ल्याउँछु स्वर्णिमको प्रभात ।
नयाँ गवैया म नयाँ गवैया ।
हजारको रोदनले भरेर म गीत गैह्रो नित गाउनेछु
दु:खीहरूको दु:खमा रहेर उद्विग्न भै नित्य रमाउनेछु ।
विवेक नै शोषकको लुछेर म नृत्य नै पागलझँै रचेर
म दु:ख रोगादि सबै बढार्छु म धेर नै थोरविषे उचाल्छु ।
नयाँ गवैया म नयाँ गवैया ।
हजारको मानवमन्त्र खोजी हजारको उज्ज्वल भाग रोजी
हजारलाई सँगमा लिएर म गाउँदै सम्मुख आउनेछ ।
विरोध जाली निज औ पराई इ बाबु आमा अनि दाजुभाइ
कुटुम्बले यो वसुधा सजाई गर्दै पुकारा म त गाउनेछु ।
नयाँ गवैया म नयाँ गवैया ।
घाँसीहरूका पिरमा मिलाई आफ्नो म संगीत सुनाउनेछु
सत्रस्त लोहारसँगै उडेर स्वदेश आमा म बनाउनेछु ।
सधैँ सिकर्मीहरू साथ लागी हतारिदै अघ्र्य चढाउनेछु
पानी नुनिलो श्रमको पिएर सुखी डकर्मीसित गाउनेछु ।
नयाँ गवैया म नयाँ गवैया ।
बोक्ने म ढुंगाहरूका पहाड हजार आमाबहिनी अँगाली
उदासको हो कि उदारको हो सुरम्य संगीत म गाउनेछु ।
नयाँ गवैया म नयाँ गवैया ।