नारायणकाजी श्रेष्ठको आरोप : 'ओलीले लोकतन्त्रको धज्जी उडाउनुभयो'
काठमाडौँ : राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगमनलाई सफल हुन नदिने भन्दै त्यस प्रकारको सपना नदेख्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै श्रेष्ठले प्रतिगमनलाई कुनै पनि अवस्थामा सफल हुन नदिने भन्दै त्यस किसिमको सपना नदेख्न चेतावनी दिए ।
उनले मुलुक प्रतिगमन र अग्रगमनको द्ध्रन्द संघर्षबाट गुज्रिरहेको बताए । उनले भने,‘म चेतावनी दिन चाहन्छु । त्यो कहिलेही पुग्ने पनि छैन । त्यस्तो सपना कसैले नदेखे हुन्छ । हामी प्रतिगमनलाई हरहालतमा परास्त गरि छाड्ने छौँ ।’
राष्ट्रिय सभाको अधिवेशनलाई तत्काल अन्त्य गर्ने तर्फ नसोच्न र जनताको आवाज मुखरित गर्ने औजार र थलोको रुपमा सदुपयोग गर्न सभाध्यक्षको ध्यानाकर्षणसमेत श्रेष्ठले गराए ।
श्रेष्ठले सम्बोधनका क्रममा बोलेको एउटा अंश यस्तो छ :
केपी ओलीले आफ्नो नेतृत्वको सरकारमार्फत ठिक विपरिततर्फ लैजानुभयो । त्यस अर्थमा संविधानको नाङ्गो उलंघन गर्नुभयो । लोकतन्त्रको धज्जी उडाउनुभयो । अध्यादेशको साथमा निरंकुशन्त्र चलाउनुभयो । देशलाई भ्रष्टाचारको दलदलतर्फ लगेर देशलाई बरबाद गर्न तर्फ जानुभयो । यसको कारण के हो ? लोकतान्त्रिक दृष्टिकोण, चिन्तन र संस्कृतिको विरुद्ध उहाँ आत्मकेन्द्रीत व्यक्तिवाद, चिन्तन र संस्कृतिको शिकार हुनुभयो । आफ्नो व्यक्तिगत महत्वकांक्षा, स्वार्थ र सत्तालिप्साको निम्ति संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने तर्फ उद्धत हुनुभयो । संविधान र लोकतन्त्र गए जाओस् मेरो पदचाहीँ छोड्नुहुन्न मैले भन्ने दिशातर्फ उहाँ जानुभयो । संविधान र लोकतन्त्र मात्रै होइन र कम्युनिष्ट आन्दोलनपनि सकिए सकियोस् तर मेरो पद चाही छोड्दिन भनेर कम्युनिष्ट आन्दोलन माथि विर्सजनवादी प्रहार गर्नुभयो र एकैपटक प्रतिगामी प्रहार गर्नुभयो र देश अहिले अत्यन्तै संकटपुर्ण अवस्थाबाट गुज्रिरहेको छ ।