विवाह पञ्चमीअघि रेल सञ्चालन गर्न माग
जनकपुरधाम - विवाह पञ्चमी अघि नै जनकपुरधाम-जयनगर रेलवे सेवा सञ्चालनको मांग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले गरेको छ । बुधबार जनकपुरधाममा सरकारविरुद्ध विरोध प्रदर्शन गर्दै विवाह पञ्चमीअघि नै रेल सञ्चालनको मागसहित धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो ।
लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले जनकपुरधाममा प्रत्येक वर्ष आयोजना हुँदै आएको रामजानकी विवाहोत्सवमा छिमेकी राष्ट्र भारतबाट लाखौँको संख्यामा पयर्टक आउने भएकोले रेल सञ्चालन नभए तिनीहरूलाई मार्का पर्ने भएकोले ओझेलमा पर्दै गर्दै गएको सञ्चालन हुनुपर्ने माग गरे ।
उनले भने, 'जनकपुर रेल्वेले यस धार्मिक आयोजनामा आस्थावान भक्तजन तिर्थालुहरूको यात्रामा अहम भूमिका निर्वाह गर्दै आएको थियो र आगामी दिनमा समेत महत्वपूर्ण योगदान दिने निश्चित छ । तर राजनीतिक शिकार भएका ती रेल अहिले सम्पूर्ण व्यवस्थापन भए पनि ओझेलमा परेका छन् ।'
प्रदर्शनमा सहभागी लोसपाकी नेतृ विभा ठाकुरले जनकपुर रेल्वे सञ्चालन भएमा जनकपुरधाम नेपालको व्यापारिक केन्द्र बन्ने, रोजगारका ठूला अवसरहरू खुल्ने, पर्यटकको विकास हुने, उद्योग धन्धाहरू समेत वृद्धि हुन भएकोले रेलको पुर्वाधार तयार भई इन्जन बोगी किनिएर जनकपुरधामको विकास नचाहनेहरूले रेल सञ्चालनमा ढिलाइ गरेको आरोप लगाइन् ।
लोसपाका नेता उमेश मण्डलले रेल्वे सञ्चालन भएपछि नेपाल भारत सम्बन्ध अझ प्रगाढ हुने, वैश्विक व्यापारसँग नेपाललाई जोडने साधनको रुपमा प्रयोग हुँदा दुवै देशका सीमावर्ती क्षेत्रको विकास हुने भएकोले सरकारले विवाह पञ्चमी अघि नै सञ्चालन गर्नुपर्ने माग गरे ।
लोसपाका नेताहरूले सरकारले विवाह पञ्चमीअघि नै रेल सञ्चालनमा नल्याए सरकार विरुद्ध चरणबद्ध रुपमा दबावमूलक आन्दोलनका कार्यक्रमहरू गर्न बाध्य हुने चेतावनी दिए ।