सूचना-प्रवधि

डिभी आजदेखि खुल्‍दै, यसरी भर्नुहोस्

इकागज | असोज २०, २०७८

काठमाडौँ- अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी २०२३ का लागि आजदेखि दर्ता सुरु गर्दैछ । नेपाली समयअनुसार आज बेलुका ९.४५ देखि डिभी लोटरी भर्न सकिनेछ । डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ ।

नक्कली कागजात तथा एउटाभन्दा धेरै आवेदन दिनेहरू स्वत अयोग्य हुने अमेरिकी सरकारको विदेश मन्त्रालयले चेतावनी दिएको छ । डिभी २०२३ का विजेताहरूले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्ने छन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरूले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । त्यस्तै डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम लगाएको छ । डिभी भर्न यहाँ क्‍लिक गर्नुहोस् ।